मूल्यवृद्धि, महँगी र मलको अभावविरूद्ध ६ राजनीतिक दलकाे विरोध प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महँगी र मलको अभावविरूद्ध ६ राजनीतिक दलले विरोध प्रदर्शन गरेको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउनु पर्ने, मलको सहज उपलब्धता गराउनुपर्ने लगायतका माग राखेर राजनीतिक दलहरूले बुधबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल केन्द्रिय समन्वय समिति, नेपाल कम्युनिष्ट पार्टी, माओवादी कम्युनिष्ट पार्टी नेपाल र संयुक्त क्रान्तिकारी मोर्चा नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेकाे हाे।

सरकारले आफ्नो स्वार्थको लागि नेपाली जनतालाई मारमा पार्ने गरेर पटकपटक गरेको मूल्यवृद्धि र खेतीपाती सुरु हँदाम्म मल नपाएकोले किसान मारमा परेको उनीहरूले बताएका छन्।

आवश्यकताअनुसार मल नपाउँदा किसान समस्यामा रहेका बताउँदै उनीहरूले मलको अभावका कारण किसानकाे लगानी नै खेर जाने बताएका छन्।

नेताहरु चिल्लो गाडीमा चढेर खेतमा असार १५ धुमधामले मनाउने तर कृषकले मल नपाउँदा समयमै खेती गर्न नपाएकाले निरासा छाएको बताएका छन्।

‘असार १५ रोपाइँ गर्ने दिन हो’ भन्दै रमाउने सरकारका मन्त्रीहरूलाई धान रोप्न किसानलाई मल आवश्यक पर्छ भन्ने कुरा बुझ्न नसकेको आन्दोलनमा सहभागीहरूकाे आराेप छ। उनीहरूले मूल्यवृद्धि र किसानले मल नपाए कडा रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति: : 2022-06-29 17:38:00

प्रतिकृया दिनुहोस्