हिलो र धुलोले सास्ती भाेग्दै नख्खु-भैंसीपाटीका नागरिक, ठेकेदार सम्पर्कविहीन (भिडियाे)

बर्खायाममा हिलो र हिउँदमा धुलोको समस्या खेप्नु नेपाली नागरिकका लागि नौलो कुरा होइन। वर्षभरि हिलो र धुलोको समस्याबाट सर्वसाधारण आजित भैसकेका छन्।

यस्तै समस्याबाट ग्रसित छन्, देशकै विकसित मानिने सहरमध्ये ललितपुरको नख्खु-भैंसीपाटी सडकखण्ड आसपास बस्ने नागरिक र पैदल यात्रु।

यो सडकको दुरी त्यति धेरै पनि छैन। तर दैनिक उड्ने धुलो र बर्खायामकाे हिलोले समस्या भाेगेका स्थानीय र सडक छेउछाउमा व्यापार व्यवसाय गर्नेहरूको गुनासो सुन्दा निकै दयनीय लाग्छ।

करिब २ किलोमिटर सडकखण्ड कालोपत्रे नहुँदा स्थानीयलाई मात्रै होइन, बाटो हिँड्ने पैदल यात्रु, अझ भनौँ साेही बाटोको प्रयोग गर्नेहरू सबै हिलो र धुलोकाे समस्याबाट पीडित छन्। धुलाेकै कारण अनेकाैँ समस्या भाेग्न बाध्य छन्, यहाँका स्थानीयहरुले।

सडक मर्मत तथा कालोपत्रे गर्ने काम ७ वर्ष अगाडिबाटै सुरु भयपनि अहिलेसम्म सम्पन्न नभएको स्थानीय बताउँछन्। यहाँकाे ७ सय मिटर सडक पनि राम्रोसंग कालोपत्रे हुन सकेको छैन।

सडक छेउमा थुपारिएका बालुवा, गिट्टी, ढल खनिएका खाल्टाहरु नपुरिँदा सडक दुर्घटना पनि बढिरहेको छ।

स्थानीय सावित्रा शर्मा भन्छिन्, ‘७५ सालदेखि बाटो भत्काएर पर्खाल लगाउन सुरु भएको हो तर काम भने अधुरो नै छ। हामीले खाल्डाखुल्डीको समस्या खेप्दै आएको त वर्षाैँ भयो।’

वर्षाैँदेखि भाेग्दै आएकाे धुलोकै समस्याबाट स्वास्थ्यमा समेत असर परेकाे स्थानीय बताउँछन्। धुलोकाे कारणले गर्दा पसलका सामानहरु समेत बिग्रने गरेकाे छ। आफूहरुकाे स्वास्थ्यमा समस्यासंगै राम्रोसंग सामान बेच्न नपाएको स्थानीयकाे गुनासो छ।

सडक छेउमै सिरक डसनाको पसल चलाइरहेका शाहिल सेख भन्छन्, ‘५ वर्षदेखि यो समस्या खेप्दै आएको छु। धुलोले सिरक डसनाहरु सबै फोहोर हुन्छ। अनि कसले किनिदिन्छ धुलोमैलो कपडा? सबैलाई सफा चिटिक्क चाहिन्छ। हामीलाई निकै समस्या भएकाे छ।’

यही सडकमा गुड्ने सवारीसाधनका पनि आफ्नै समस्याहरू छन्। सडकमा भएका खाल्डाखुल्डीले गाडीहरु छिट्टै बिग्रने गरेका छन्।

विगत चार वर्षदेखि नै असार मसान्तमा सडकको काम सकाउँछौ भन्ने ठेकेदार र जनप्रतिनिधिको बोली उस्तै छ भने सडकको गति पनि उस्तै छ। जनताले सास्ती पनि भाेगिरहेकै छन्। सायद यो सडक बनाउँछु भन्ने ठेकेदारको असार मसान्त अहिलेसम्म पनि आएन कि ?

सर्वसाधारणले त भेट्ने देख्ने कुरै भएन, जनप्रतिनिधिसमेत ठेकेदार को हो भन्ने कुरामा अन्योल छन्। याे सडककाे जिम्मा लिने ठेकेदार हालसम्म सम्पर्कविहीन छन्।

वडा न. २५ का वडाध्यक्ष दौलत विष्ट भन्छन्, ‘हामीले यो समस्याको लागि पहल गरिरहेका छौँ। तर यो कामको जिम्मा लिएका अर्का व्यक्ति हेम खड्काको समेत फोन लाग्दैन।’ यस्तै भइरहे आफूहरु सडक विभाग जाने उनीहरु बताउँछन्।

ठेकेदारको काम र व्यवहारबाट आजित भइसकेका सर्वसाधारणको कुरा कसले सुन्ने, कसले काम गरिदिने? यस्ता ठेकेदारहरुलाई कानुनी कारवाही गर्ने कुनै निकाय नै नभएको त हाेइन होला?

नजिकै मन्त्री क्वाटर बन्दै छ। मन्त्रीहरुको चिल्लो, कालो सिसाले बाहिरको धुलो र खाल्डाखुल्डी देख्दैन हाेला सायद। यो समस्याबाट कहिले मुक्ति पाउने सर्वसाधारणले?

प्रकाशित मिति: : 2022-06-27 20:30:00

प्रतिकृया दिनुहोस्