रोल्पाली छोरा हरि बुढामगरका साहसिक पाइला मोरोक्कोको अग्लो हिमालमा (तस्बिरसहित)

फोटो सौजन्य: हरि बुढामगर
फोटो सौजन्य: हरि बुढामगर

पूर्व गोर्खा सैनिक हरि बुढामगरले उत्तर अफ्रिकी मुलुक माेरक्काेको सबैभन्दा अग्लो हिमाल माउन्ट टुबकल (४१६७ मिटर)काे सफलता पूर्वक आरोहण गरेका छन। उनीसहित जेम्स रोजले ‘ब्लेस्मा’ नामक परोपकारी संस्थाको लागि सहयोग जुटाउन बिहीबार (२३ जुन)मा उक्त हिमाल आरोहण गरेका हुन्।

‘ब्लेस्मा’ एक सैन्य परोपकारी संस्था हो, जसले आफ्नो हात वा दृष्टि गुमाउने घाइते सैनिक र वेटेरानहरुको हेरचाह गर्छ। उनीहरु दुवै जना लडाइँमा दुवै खूट्टा गुमाएका पूर्व वेलायती सेना हुन्।

‘यो यात्रा कठिन, चुनौतीपूर्ण र हरेक कदम संघर्षमय थियो। तर, हामी (जेम्स रोज)ले पूरा गरेर छाड्यौ,’ बिएल नेपाली सेवासँग खुसी साट्दै उनले भने,‘असम्भव केही पनि छैन, यो यात्राको लागि साथ सहयोग पुर्‍याउने सबैलाई धन्यवाद।’

‘आश्चर्यजनक ! उकालो चढ्न र ओरालो झर्न भयंकर कठोर यात्रा थियो तर असम्भव केही छैन,’ उनले सन्तोषको फेर्दै थपे।

गत अप्रिल महिनामा उनले कृतिम (प्रोस्थेटिक) खुट्टाको सहाराले सगरमाथा आधार शिविरसम्म पुगेर 'स्काइड्राइभिङ' गरेर घुँडा माथिको पहिलो डवल एम्पुटी व्यक्ति बनेका थिए। उनले हेलिकप्टरबाट सगरमाथामाथि स्काइड्राइभिङ गरेका थिए। त्यस्तै उनले पाराग्लाईडिङसहित कुश्मास्थित विश्वको दोस्रो अग्लो वन्जीजम्प र विश्कै अग्लो स्वीङ समेत गरेका थिए।

हरि बुढामगर एक साहसिक पूर्व गोर्खा सैनिक हुन्, जसले सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै गोडा गुमाएका थिए।

यसअघि बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूर पूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन। उनले २०१७ मा मेरा चुचुरो आरोहण गरे र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथिको डबल एम्प्यूटी व्यक्ति हुन।

४२ वर्षअघि रोल्पा जिल्लाको दुर्गम मिरूलस्थित जेबारीमा जन्मेका बुढामगरले आफ्नो जीवन कालमा धेरै कठिनाइ र अप्ठ्याराहरू पार गर्नु परेको छ।

उनी गोर्खा वेलफेयर ट्रष्टको राजदुत समेत हुन्। सन् १९६९ मा स्थापित ट्रष्टले गोर्खा भेटारान, उनीहरूका परिवार र नेपालमा रहेका समुदायहरूलाई शिक्षा, स्वस्थ्य, खानेपानीलगायत महत्त्वपूर्ण क्षेत्रहरूमा सहयोग प्रदान गर्दै आइरहेका छन।

सहासिक गतिविधिमा रमाउने वुढामगरको मुख्य लक्ष अपाङ्गता भएका व्यक्तिहरूप्रति प्रेरणादायी, परिवर्तनशील धारणा र अपाङ्गताका बारेमा चेतना फैलाउनु हो। यो सँगै उनिहरुको क्षमता वृद्धि विकास गर्नुको साथै आफ्नो मातृभूमि नेपाललगायत विश्वभरका अपांग मानिसहरुलाई सेवा दिने समेत बताएका छन।

उनले सन् २०२३ मा सगरमाथा आरोहण गर्ने लक्ष्य राखेका छन।

पूर्व गोर्खा सैनिक हरि बुढामगर सगरमाथामाथि 'स्काइडाइभ' गर्ने पहिलो डबल एम्प्यूटी

पूर्व गोर्खा सैनिक हरिले आफ्नो सपना भनेको खुट्टा बिना सगरमाथा जित्नु बताएका छन। आगामी वर्षको सगरमाथा आरोहणको यात्राबाट उनले तीन वटा चिज पूरा गर्ने आशा राखेको खुलासा गरेका छन। पहिलो, सकेसम्म धेरै मानिसलाई उनीहरूको आफ्नै सपनाहरू जित्न र थप पूरा गर्नलाई जीवनको नेतृत्व गर्न प्रेरित गर्नु र दोस्रो अपाङ्गताबारे चेतना जगाउनुको साथै तिनीहरूका वरपरको कथा परिवर्तन गर्नु हो।

त्यसैगरी तेस्रो, विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको आरोहण गर्ने आफ्नो बाल्यकालको सपनालाई साकार पार्नु र इतिहास रच्नु पनि बताएका छन।

सहासिक हरि बुढामगरलाई बधाई तथा अग्रिम शुभकामना!

प्रकाशित मिति: : 2022-06-26 21:15:00

प्रतिकृया दिनुहोस्