कम्युनिस्ट नेता– विराटनगर पुग्छन्, इटहरा कहिल्यै पुग्दैनन्

Breaknlinks
Breaknlinks

इटहरा तत्कालीन नेकपा (माले) पार्टीको स्थापना भूमि हो। कम्युनिष्टहरूको शब्दमा भन्दा ‘लालकिल्ला’। जननेता मदन भण्डारीको घर पनि यहीँ छ। माले स्थापना भएको घरको संरक्षण गर्न ‘मदन–आश्रित पार्क’ निर्माण पनि हुँदैछ।

मदन भण्डारीले नेकपा मालेलाई पञ्चायतको अन्त्य नहुँदै संशोधनवादी लाइनमा लगेका थिए। तर यो क्षेत्र कहिल्यै कम्युनिष्ट नेताहरूको नजरमा परेन।

तत्कालीन मालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ लोकप्रिय बन्यो। यही सिद्धान्तलाई पछ्याएर सत्तामा पुगेका कम्युनिष्ट नेताहरूको नजरमा इटहरा कहिल्यै परेन।

एमालेका केन्द्रीय स्तरका नेताहरू महिनै पिच्छे मोरङ आउँछन्। उनीहरू विराटनगरबाटै फर्किन्छन् तर इटहरा कहिल्यै पुग्दैनन्। पुग्नु त परैकाे कुरा भयाे, नामसमेत लिदैँनन्। एमाले अध्यक्ष केपी शर्मा ओली त झन् उर्लाबारी र रङ्गेलीसम्म पुग्दा पनि इटहरा नटेकी फर्किन्छन्। यही कुरालाई स्थानीय पुराना बामपन्थी नेताहरूले दुखेसोसमेत पाेख्ने गरेका छन्।

इटहरा मालेको जन्मस्थलमात्र नभएर जननेता मदन भण्डारीको घर भएको ठाउँ पनि हो। मालेको जन्मस्थल र भण्डारीको घर करिब दुई किलोमिटरको दुरीमा पर्छ।

मदन भण्डारीकी पत्नी विद्यादेवी भण्डारी दुईपटक देशको राष्ट्रपतिसमेत भइन्। तर आफू र आफ्नो पतिको इतिहाससँग जोडिएको स्थललाई खासै चासो गरिनन्।

कम्युनिष्ट पार्टीको मूल प्रवाह–तत्कालीन नेकपा मालेको जन्मस्थल नेताहरूबाट अपहेलीत हुनु दुखद् भएको स्थानीय अग्रज बामपन्थी नेताहरूको भनाई छ।

‘तत्कालीन माले स्थापना गर्न इटहरामा आएका माधव नेपाल, इश्वर पोखरेललगायतका अन्य नेताहरू समयसमयमा मोरङ आइरहन्छन्,’ एक स्थानीय एमाले नेताले भने, ‘तर पार्टीको मूल प्रवाहको स्थापना भएको स्थानमा खुट्टै टेक्दैनन्। यसरी आफूलाई त्यो ठाउँसम्म पुर्याउने पार्टीको जन्मस्थललाई अपहेलीत गर्नु राम्रो भने होइन। इटहरा ऐतिहासिक स्थल हो भन्ने कुरा नेताहरूले भुल्नु हुदैँन।’

वि.स. २०३५ सालमा कोकेको राष्ट्रिय सम्मेलनबाट नेकपा मालेको स्थापना भयो। २५ जना प्रतिनिधिको सहभागितामा ५ दिनसम्म चलेको सम्मेलनले सिपी मैनालीको नेतृत्वमा उक्त पार्टी गठन गरेको थियो। ११ जनाको केन्द्रीय कमिटीमा ३ सदस्यीय पोलिट्ब्यूरो गठन गरिएको थियो। महासचिव मैनालीसहित जीवराज आश्रित र माधव नेपाल पोलिट्ब्यूरोमा थिए।

केन्द्रीय कमिटीमा मदन भण्डारी, रत्नकुमार वान्तवा, मोदनाथ प्रश्रित, ईश्वर पोखरेललगायतका नेताहरू थिए। त्यस समयमा केपी ओली, झलनाथ खनाल, बामदेव गौतमलगायतका नेताहरू जेलमा थिए। झलनाथ खनाल जेलबाट छुटेपछि केन्द्रीय कमिटीमा ल्याइएको थियो।

चिनियाँ नेता माओत्से तुङको जन्म दिवस पारेर डिसेम्बर २६ अर्थात् पुस ११ गतेका दिन माले पार्टीको घोषण गरिएको थियो।

नेकपा माले ‘गणतन्त्रवादी क्रान्तिकारी’ पार्टी थियो। तर, यो पार्टीलाई बहुदलीय प्रतिस्पर्धामा उतार्ने ‘संशोधनवादी धार’ मा ल्याउने मदन भण्डारी थिए। उनले पार्टीमा चुनावी प्रतिस्पर्धाको लाइन पारित गराएपछि नै मनमोहन अधिकारीको पार्टी नेकपा मार्क्सवादीसँग एकता गरी एमाले बनाउन सम्भव भएको थियो।

इटहरामा मदन–आश्रित पार्कले स्थानीय खुसी

मदन–आश्रित फाउण्डेशनले पार्टी स्थापना भएको टेकबहादुर राईको घरलाई केन्द्र बनाएर मदन–आश्रित पार्क निर्माण थालेपछि स्थानीयबासी खुसी भएका छन्।

ऐतिहासिक स्थललाई संरक्षण गर्नका लागि प्रदेश १ सरकारको सहयोगमा पार्क निर्माण थालिएको फाउण्डेशनका अध्यक्ष मेघराज शर्मा कट्टेलले जानकारी दिए।

‘उक्त घरलाई पूर्ववत् अवस्थामा सकेसम्म दुरूस्त बनाएर पुनःनिर्माण गरिने छ। यसलाई पाँच कठ्ठा जतिको क्षेत्रफलमा सानो कम्पाउन्डिङ गरिने छ। यसको बाहिर पट्टी पार्टी स्थापना स्तम्भ निर्माण गरिने छ। स्तम्भ वरिपरी सम्मेलनमा सहभागी २५ जना प्रतिनिधिको चिनारीसहित प्रतिमा राखिने छ’, फाउण्डेशनका अध्यक्ष कट्टेलले भने।

ऐतिहासिक पार्क बन्ने भएपछि टेकबहादुर राईले आफू बसिरहेको जग्गा पनि सस्तो मुल्यमा फाउण्डेशनलाई दिएका छन्। ‘त्यति बेला पनि पार्टीलाई आफूले सकेसम्म सहयोग गरेकै हो,’ उनले भने, ‘अहिले पनि गर्दैछु, भोलि पनि गरौँला।’

पार्टीले आजसम्म आफूलाई कहिल्यै नखोजेकोमा उनले दुखेसो पोखे।

भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले इटहराका ३ वटै वडामा पराजय बेहोरेको छ। साविक इटहरा गाविस हालको रतुवामाई नगरपालिकाको वडा नम्बर ८, ९ र १० पर्छ। 

प्रकाशित मिति: : 2022-06-28 06:55:00

प्रतिकृया दिनुहोस्