अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेदको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो।
काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको आरोपमा उनीहरू उपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी संचालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको भन्नेसमेत व्यहोराको उजुरीका सम्वन्धमा पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल हाल नाम परिवर्तन भई पतञ्जली योगपीठ नामक मुनाफा वितरण नगर्ने प्रकृतिको कम्पनी स्थापना भएको देखिन्छ।
पतञ्जली कम्पनीका कम्पनीका संस्थापक सदस्य शालीग्राम सिंहसमेतले कम्पनीको नाम प्रयोग गरी/गराई कम्पनीको उद्देश्यको प्रतिकुल हुने गरी बदनियत राखी आफूसमेतका प्रतिवादीहरूलाई लाभ हुने गरी अन्य सरकारी सार्वजनिक पदधारण गरेको व्यक्तिहरूसँगको मिलोमतो तथा योजनामा काभ्रेपलाञ्चोक जिल्लाबाट शुरु गरी देशको विभिन्न स्थानमा समेत भूमिसम्वन्धी ऐन, २०२१ को दफा ७ र दफा ८ ले तोकिदिएको अधिकतम हदबन्दीभन्दा बढीको जग्गा खरिद गरे गराएको देखिएको अख्तियारले जनाएको छ।
‘पतञ्जली कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंहसमेतले मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका कर्मचारी, गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका कर्मचारी, सनराईज बैंकका कर्मचारी/पदाधिकारी, भूमिसुधार तथा व्यवस्थापन विभागका कर्मचारी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका कर्मचारी तथा विभागीय मन्त्री, मुख्य सचिव, मन्त्रिपरिषद्, विधेयक समितिका संयोजक, प्रधानमन्त्रीसमेतका पदाधिकारीसँगको मिलोमतो योजनामा राष्ट्रसेवकहरूले आफ्नो ओहोदाको दुरुपयोग गरी गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तीको सम्वन्धमा निर्णय निकासा गर्दा गराउँदा आफू तथा अन्य प्रतिवादीहरुलाई लाभ हुने गरी बदनियत राखी शुरु तहको कार्यालय देखि नेपाल सरकार (मन्त्रिपरिषद्) सम्मबाट विभिन्न गैरकानूनी निर्णय गराएको देखिन्छ,’ अख्तियारले भनेको छ।
संलग्न व्यक्तिहरूले आफ्नो पद तथा ओहदाको दुरुपयोग गरी गराई आफूहरूलाई लाभ र सार्वजनिक संस्थालाई हानी पुर्याउने बदनियत राखी भ्रष्टाचारजन्य कसूर अपराध गरेकोले विस्तृत विश्लेषण गरी अभियोग मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।