मुक्तकको क्षेत्रमा सर्वाेच्च पुस्तक ‘सयल’ र प्रयोग भएको चमत्कारिक शिल्प !

Breaknlinks
Breaknlinks

मुक्तक संस्कृत काव्यबाट आएको तत्सम् नेपाली शब्द हो। मुक्तक कविताको स्थुल संरचनामा नभइ सुक्ष्म संरचनाभित्र पर्दछ। मूलतः मुक्तकलाई केही आयम तथा दृष्टिकोणबाट नियाल्न सकिन्छ। मुक्तकमा एउटै केन्द्रीय भावको वर्तुलित विस्तार हुन्छ। कविताको वृत्तात्मक अथवा चक्रात्मक ढाँचानुसार यसको विकास एवम् प्रसार गर्दा पटक–पटक गरिने आवृत्तिको एक झड्का नै मुक्तक हो, जुन एक श्लोक अर्थात् चार हरफमा पूर्ण र भावका हिसाबले स्थुल हुन्छ।

मुक्तकको शास्त्रीय मान्यता र मानक रूप चतुष्पदी हो। चार पदभन्दा माथि कविताले हाँगा विस्तार गर्न पुग्यो भने त्यो रचना मुक्तक बन्न सक्दैन। एकै श्लोकमा पूर्ण र समाप्ति भइकन पनि कम शब्दावलीले एकै झड्कामा चामत्कारिक तवरले गहनभाव सम्प्रेषण गरी पाठक हृदयमा आह्लाद पुर्‍याउनु मुक्तकको खास पहिचान तथा वैशिष्ट्य होभन्ने कुरालाई आनन्दित तवरबाट स्वीकार गर्नुको विकल्प छैन।

आजको समयमा रचनात्मक युवा पुस्ताको सबैभन्दा बढी कलम मुक्तक विधामा चलेको पाइन्छ। तर, विडम्बना के छ भने यो पुस्ताका कलममा भने भाषाको शुद्धतामा कमजोरी र असरल्लताको स्थिति पाइन्छ। यस मानेमा मुक्तक विधालाई सशक्त/दर्बिलो बनाउने कुरामा नि:शन्देताको चुनौती भने कायम नै छ। यी सबै चुनौती र सन्देहतालाई निराकरण गरेर मुक्तक विधालाई अन्यविधा सरह मान्यता दिलाउने अभियानका एक प्रमुख नेतृत्वकर्ता हुन्, सन्तोष अम्गाईंं।

सन्तोष अम्गाईंं यो समयका वाचाल मुक्तकार मात्र नभई मुक्तक क्षेत्रमा मानक व्याक्तित्वको एउटा गतिलो उदाहरणका रुपमा काम गरिरहेका मुक्तककार हुन्। यसर्थ नेपाल र छिमेकी मुलुकका साहित्यिक नेपाली भाषीहरुमा ‘सन्तोष अम्गाईं’ नाम नौलो हुँदै हाेइन।

सन्तोष अम्गाईंंको हालसालै मुक्तक संग्रह–‘सयल’ प्रकाशमा आएको छ। यो मुक्तक संग्रह संग्रहमात्र नभई यो मानकका रुपमा लिन सकिन्छ। पुस्तकले चौतर्फी क्षेत्रमा भएका समस्य र प्रवृत्तिविरुद्धमा सशक्त र बुलन्द आवाज उठाइ प्रेम/भावनाको मिठो आश्वासन गरेको पुस्तक पढ्दै जाँदा बडो रोचक र कलात्मक रुपमा प्रस्तुत भएको पाउन सकिन्छ। मुक्तककार अम्गाईंं आफैँमा लामो प्रवाशी जीवन व्यतीत गरेर नेपाल फर्किएर राजधानीमा बस्दै आएका हुन्। यसर्थ पनि उनलाई डायस्पोरिक लेखन र वर्तमान विकृत राजनीतिक अवस्थितिको बारेमा राम्रो ज्ञान र अनुभव छ।


चेतनशील विभेदका पराकम्पनहरू


अम्गाईं अन्य मुक्तककारहरुभन्दा यस मानेमा पनि पृथक छन्की उनका मुक्तकहरुमा नवीन शब्द प्रयोग गरेको त पाइन्छ नै त्यसकासाथै क्लीष्ट शब्दहरु पनि बडो चतुर र वाचाल तवरबाट प्रयोग पाउन सकिन्छ। यो उनको व्याक्तिगत खुवी हो। अम्गाईं आफ्ना मुक्तकहरुमा त्यति धेरै अलकांर र प्रतिकात्मक शैली त प्रयोग गर्दैनन्, यद्यापी उनको स्पष्ट प्रस्तुतीले भने उनका मुक्तक पढ्न मात्र नभई वाचनमा समेत पृथक स्वाद रसास्वादन गर्न पनि सकिन्छ।

अम्गाईंं प्रवासी नेपालीहरुका लागि डायास्पोरिक चेतका आधारमा देशप्रतिको माया, प्रेम, सद्भाव र सम्झनामात्र झल्काउदैनन्, उनी देशको साम्प्रदायिक सहिष्णुताको सम्म बेहगंम समानताको शब्दहरु कोर्दछन्। मिथिला सभ्याताको बेजोड आधार स्तम्भमा टेकेर बुद्धिष्ट समाजको समतामूलक वकालत गर्नु उनकोे चतुर र पृथक शिल्पभित्र पर्दछ।

उनका मुक्तकहरुको रसास्वादन गर्दै जाँदा तराईका सुन्दर फाँटमा फैलिरहेको धार्मिक सहिष्णुताको वास्ना र पहाडमा गुन्जिरहेको लोक भाकाको सुनौलो संगमले ऐतिहासिक प्रेम सम्बन्धमा बाँधिरहेको मिठो मौषमको गजबको स्वाद चाख्न पाइन्छ।

पुस्तकको सयलको शुभकामनामा वरिष्ट साहित्यकार/मदन पुरस्कार विजेता शरुभक्त भन्छन्,सन्ताष अम्गाईंं समकालीन मुक्तक यात्राका एक अथक, उर्जाशील र आकर्षक प्रतिभा हुन्। उनका मुक्तकहरुमा तीक्ष्ण दृष्टि र भाव सम्वेदनाका गहिराई भेटिन्छन्, जसले नवीन मुक्तकीय क्षितिजतर्फ संकेत गर्दछ। यसर्थ पनि अम्गाईंंले माथि उल्लेख गरेजस्तै विषयवस्तुलाई विभिन्न आयाम तथा दृष्टिकोणबाट नियालेको भने प्रष्ट देख्न पाइन्छ।

ऐतिहासिक जिल्ला गोरखामा जन्मेका अम्गाईंं, नेपालको राजनीतिक तथा ऐतिहासिक शासन व्यावस्था, धर्म, संस्कार संस्कृति, रहनसहन र त्यस शासन व्यावस्थाले निम्त्याइको जात व्यावस्था र त्यसले दूर्भाग्यपूर्ण समाउन पुगेको नकारात्मक फेरोका बारेमा प्रगतिशिल ढगंबाट मुक्तकहरुद्धारा वकालत गरेको प्रष्ट पाउन सकिन्छ।

अम्गाईं संग्रहको थालनी समाजमा रहेको कूसंस्कार र नकारात्मक प्रवृत्तिविरुद्ध एउटा दर्बिलो र दूरगामी तथा चर्चित मुक्तकबाट गर्छन् र भन्छन्–

मह काढ, हात चाट पैसा पनि आउँछ 
गुन्द्री बुन, कुचोबाट पैसा पनि आउँछ
सित्तैमा मेरो कुरा काट्दै हिड्नुभन्दा, 
सैलुन खोल कपाल काट पैसा पनि आउँछ

यसरी प्रारम्भ भएका अम्गाईंका मुक्तकहरुमा कतै ग्रामिण भेगका शैक्षिक समस्या त कतै सहरका असरल्ल गल्लीमा भौतारिरहेका भोकको वेथाका भावहरु समेटिएका मुक्तकहरु छन्। त्यस्तैगरी पुस्तकमा अर्को महत्वपूर्ण पाटो के छ भने अम्गाईं आफ्नो मुक्तकहरुमार्फत् सत्तामा बसेका सत्तासिन शासकहरुलाई ढृणतापूर्वक प्रश्न गर्दछन्। उनको १ सय ४३ नम्बरको मुक्तकले यहीँ कुरालाई अंगिकार गरेको पाउन सकिन्छ। त्यस्तैगरी उनले नंम्बर ८ को मुक्तकमार्फत वर्तमान मुलुकको कर्मचारीतन्त्र र यसले निम्त्याएका चुनौती र यसप्रति हुने जनविश्वासको भण्डाफोर गरेर आफ्ना मुक्तकमार्फत् एउटा दर्बिलो प्रश्न गरेको पाउन सकिन्छ।


रक्सीको मादकतामा डुबुल्की मारेर काव्यिक सास फेर्ने कवि कटुवाल


अम्गाईंले आफ्नाहरु मुक्तकमार्फत् राजनीतिक विषयहरु मात्र उठान गरेका छैनन्, उनले आफ्ना मुक्तकको सहारामा आजको वर्तमान विश्वमा विज्ञान र प्रविधिको विकास र यसले मानव जीवनमा पारेको सकारात्मक र नकारात्मक प्रभावकाबारेको महत्वपूर्ण विषयको उठान र बैठान दुबै गर्न भ्याएका छन्। उनको ३३ नम्बरको मुक्तकले यस कुरालाई उजागर गरेको छ।

मुक्तककार अम्गाईं हेर्दा/देख्दा बडो गम्भीर र सोचमग्न देखिन्छन् तर जब उनले आफ्ना कलमका ढिकोलाई प्रेमको अवयवमा लेख्न थाल्दछन् तब उनी लाग्छन् उनीजति रोमान्टिक अर्काे व्याक्ति छैन। उनले यो कुरा कसैलाई भन्दैनन् तर लेख्छन्  र हामी पाठकलाई चट्नी बनाएर चखाउँछन्।

यो कुरा उनको १२० नम्बरको मुक्तकमार्फत् प्रमाणीत गर्न खोजेका छन्। यसरी अम्गाईंले देश, राष्ट्र, राष्ट्रियता, माया, प्रेम, विज्ञान, समाज, धर्म, समानता, व्यवस्था र पहिचानलगायत विविध विषयहरुमा गहन र दार्शनिक तवरबाट बडो कलात्मक र रचनात्मक ढंगबाट विविध विषयहरु उठान र बैठानसम्म गरेको पाउन सकिन्छ।

अन्ततः मुक्तक संग्रह सयलको देशव्यापी चर्चा, बहस र प्रभावले यो हालसम्म प्रकाशनमा आएका मुक्तक संग्रहहरुको सर्वोच्च पुस्तकमा दर्ज हुने कुरामा कुनै दुई मत तथा सन्देह छैन। पुस्तकको आर्थिक मूल्य ३ सय भएपनि यसले दिने ज्ञानको मूल्यभने शिल्प र कलाका हिसाबले अमूल्य रहेको पाउन सकिन्छ।

प्रकाशित मिति: : 2022-06-25 08:00:00

प्रतिकृया दिनुहोस्