भारतका रामचन्द्र ठाकुर २४ वर्षअघि नेपाल आए। उनी नेपाल आउनुको एक मात्र उदेश्य थियो– नयाँ ठाउँलाई अवलाेकन गर्नु।
पहिलो पटक छिमेकी मुलुक आएका उनी निकै खुसी थिए। त्यसैले त उनी दिनदिनै घुम्न निस्किन्थे। साथीको संगतमा नेपाल घुम्न आएका उनी एकदिन कलंकी पुगे। कलंकी पुगेका उनले त्यहाँ देखे- कपाल काटेर पैसा कमाएको।
त्यो देखेर उनमा पनि इच्छा जाग्यो– आफूले पनि त्यसैगरी पैसा कमाउने। उनका लागि कपाल काट्नु नाैलाे काम थिएन। उनले सानैमा सिकेका थिए, लामाे कपाललाई छाेटाे बनाउन।
भारतबाट सँगै आएका साथीहरूलाई घर फर्काएर उनले निधाे गरे, आफू चाहिँ काठमाडाैंकै बसेर काम गर्ने। उनी सुरुवाती दिनमा काम सिक्न कलंकी पुगे। काम सिकेर आफैँले गर्न थालेका उनकाे पहिले तलब थियाे– १० रूपैयाँ। पहिले कपाल काटेर १० रूपैयाँ कमाउने उनले अहिले भने दुई हजार कमाउँछन्। उनले नयाँ बानेश्वरमा आफ्नै सैलुन खाेलेका छन्।
उनकाे सैलुनमा दैनिक २० जना कपाल काट्न आउँछन्। ‘अहिले म धेरै खुसी छु। आफैँले काम गरिरहेकाे छु’, उनले बिएल नेपाली सेवासँग भने, ‘बेलैमा काम गरेछु।’
सानै उमेरमा कपाल काट्न सिकेका उनी भन्छन्, ‘मेराे बुबाले अरूकाे कपाल काटिदिनु हुन्थ्याे। त्यसैले मैले पनि कपाल काट्न सिकेँ।’
खेतीपातीबाट खान नपुग्ने भएपछि उनका पिताले घरघरमा गएर कपाल काटिदिन्थे। ठाकुर भएर पनि कपाल काटेकाे भनेर मान्छेहरूले उनीहरूलाई गिज्याएकाे उनी सम्झिन्छन्।
‘मान्छेहरूले जिस्काउँदा हामीलाई दुख लाग्थ्याे। काम नगरे माम हुँदैन थियाे। त्यसैले जसले जे भने पनि कुनै वास्ता नगरी आफ्नै काममा लाग्यौँ’, उनी सुनाउँछन्।
रामचन्द्रलाई स्कुलमा पनि ‘कपाल काट्ने’ काे छाेरा भनेर गिज्याउँने गथेँ। स्कुलमा शिक्षकले समेत दाह्री-जुँगा काट्न लगाएकाे उनलाई याद छ। उनलाई शिक्षकले भन्थे, ‘तँ ठाकुरकाे छाेरा हाेइन, तेराे बाउले त कपाल काट्थ्याे। तैँले पनि मेराे दाह्री-जुँगा काट्दे।’
उनकाे काम नै भइसकेकाे थियाे- शिक्षक र विद्यार्थीकाे कपाल काट्दिने। घरकाे आर्थिक अवस्था नाजुक थियाे। त्यसैले उनले कक्षा ६ सम्म मात्र पढ्न पाए। पिताकाे निधन भइसकेपछि उनले नै भाइबहिनीलाई पढाए।
‘घरकाे जेठाे छाेरा पनि थिएँ, त्यसैले सबै जिम्मेवारी मेरै काधँमा आइलाग्याे’, उनले भने। कैँची र काइँयाेलाई साथी बनाएका उनकाे अब एउटै सपना छ– छाेराछाेरीलाई उच्च शिक्षा दिने। ‘मैले पढ्न नसकेपनि मेराे छाेराछाेरीलाई धेरै पढाउनेछु’, उनले भने, ‘मेराे सट्टा उनीहरूले पढुन्।’