‘आउँदाे प्रतिनिधिसभाको निर्वाचन रोल्पाबाटै लड्छु’ (भिडियाेसहित)

अमरसिंह पुन

काठमाडौं

पार्टीभित्र हाेस् या बाहिर सन्दर्भअनुसार बेलाबेला चर्चामा आइरहन्छन्, पूर्वमन्त्री अमरसिंह पुन। उनी नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पनि हुन्। कुनैबेला पार्टी सभापति शेरबहादुर देउवाविरूद्ध संस्थापन–इतरका जिल्ला सभापतिकाे नेतृत्व गरेका पुन शीर्ष नेता शेखर काेइरालानिकट मानिन्छन्।

१० वर्षे सशस्त्र द्वन्द्वकाे प्रभावक्षेत्र राेल्पा–रूकुमबाट राष्ट्रिय राजनीतिमा उदाएका उनी नेपाली कांग्रेस राेल्पाका पूर्वजिल्ला सभापति पनि हुन्। सभापति पुन सत्ता गठबन्धनकाे चुनावी तालमेलकाे पक्षमा नभएपनि अन्ततः पार्टीका हर–निर्णयहरू मान्न तयार हुन्छन्।

शीर्ष नेताहरूकाे आचरणमाथि बेलाबखत तीव्र आलाेचना गर्नसक्ने उनी लुम्बिनीका कार्यकर्ता माझ लाेकप्रिय छन्। स्थानीय तहकाे निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल भएपनि पार्टीभित्रकाे कतिपय कमजाेरीका कारण कांग्रेसले राम्राे परिणाम ल्याउन नसकेकाे बताउँछन्, सभापति पुन।

उनी भन्छन्– हामीले निर्वाचनमा पार्टीभित्र राम्राे व्यवस्थापन गर्न सकेनाैं। त्यसकारण सोचेको जति ठाउँमा जीत हासिल गर्न पनि सकेनाैं। ६० देखि ६५ स्थानमा जीत निश्चित सोचेका थियौं। तर ठ्याक्कै निर्वाचनअगाडि पार्टीको महाधिवेशनले गर्दा गुटबन्दी बनेको बन्याे। गुटबन्दीलाई मिलाउन नसक्दा कम ठाउँमा हार्नु परेको हो।

स्थानीय तहको निर्वाचननमा लुम्बिनी प्रदेशको सन्दर्भमा नेपाली कांग्रेसकाे संगठन राम्रो छ। अब प्रदेश र संघको निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्छ। गठबन्धन हुँदा केही स्थानमा मतभेद थिए। तर राम्राे भोट आएन। बरू एक्ला–एक्लै लडेको ठाउँमा सोचेभन्दा राम्रो भोट आएको छ। नेपालगञ्ज र बर्दियामा गठबन्धन थिएन, तर कांग्रेसले जित्याे। दाङमा गठबन्धन थियो, त्यहाँ हार्याैं।

चुनावी गठबन्धन मिलाउन सकिएन। कतै माओवादीका साथीहरूले हाम्रा प्रतिनिधिलाई भोट हालेनन्। कहिँकतै नेपाली कांग्रेसका साथीहरूले उनीहरूलाई भोट हालेका छैनन्।

गठबन्धनका कारण धेरै ठाउँमा फाइदा पनि भएको छ। यसपालि गठबन्धन भनेको के रहेछ, कसरी व्यवस्थापन गरेर जानुपर्दछ भन्ने कुरा बुझ्ने मौकासमेत पाएका छौं। अबका दिनहरूमा गठबन्धन गरेर जाँदा कसरी अगाडि बढ्ने, कसरी व्यवस्थित गर्ने, कसरी मिलेर जाने भन्ने बुझेका छौं। गठबन्धनभित्रका साथीहरू मिलेर जानुपर्ने आवश्यकता छ।

प्रदेश सभापति भएका कारण पनि लुम्बिनीभित्रका गतिविधि राम्रोसँग बुझेकाे थिएँ। प्रतिनिधिका कारण पनि जीत–हार स्वभाविक रह्यो। मेयर जित्ने, उपमेयर हार्ने, उपाध्यक्ष जित्ने तर अध्यक्ष हार्ने समस्या आउनुको कारण भनेकै प्रतिनिधि उठाउँदा ख्याल नगरेर हो। घोराहीको कुरा हेर्दा पनि भागबण्डाको कारण हो। हामीलाई मेयर नदिएका कारण नेताहरूले इमानदारीता निभाए तर तल्लो तहका कार्यकर्ताले मन नपराएका कारण भोट हालेलन्, धेरै स्थानमा यो समस्या देखिएको छ।

जनताले चाहेका व्यक्तिलाई उम्मेदवार नबनाउनुका कारण हारिएको ठाउँमा यो समस्या आएको हो। गठबन्धनका नेता साथीहरूलाई पहिल्यै भनेको हुँ तुलसीपुर हारिन्छ भनेर। धेरै ठाउँमा समस्या देखिएको छ। जनताले चाहेका, जनतासँग सहकार्य गर्न सक्ने व्यत्तिहरूलाई उम्मेदवार बनाएपछि मात्रै चुनाव जित्न सकिन्छ।

मैले आँकलन गरेअनुसार नै परिणाम आयो। लोकतन्त्रलाई नमान्ने केही साथीहरूले गठबन्धनलाई भोट दिएनन्, गठबन्धन गर्नु उचित हैन भन्ने लागेको थियाे। गठबन्धनभित्रको कैयौँ बैठकमा मैले भन्ने गरेको थिएँ– नेपाली कांग्रेसबाट गठबन्धनलाई सबै भोट आउँछ भन्ने सोच्नु गलत हो, यो हुँदैन पनि। पहिल्यै भनेको थिएँ, मैले जे भनेकाे थिएँ त्यही भयो।

हामीले सक्ने गरेकै हौँ तर तल्लो स्तरका नेता/कार्यकर्ताले यो कुरा बुझेनन्। हामीबाट भने घात भएको होइन। गुल्मी र प्युठानले राम्रो परिणाम निकाल्यो तर रोल्पा, पूर्वी रूकुममा विरासत छोड्न नसकेकाले गठबन्धन मिलेन, भएन। जिससको निर्वाचनमा समेत यसको परिणाम देखियो। अझ अमरसिहंले गर्दा धेरै कुरा बिग्रियो भन्ने गलत प्रचारसमेत गरेको देखियो। हामीले त सकेसम्म मिलाएर लगेकै हो।

रोल्पामा हामी पाँच थियाैँ, माओवादीहरू १४ हुनुहुन्थ्यो तर सिटअनुसार मिलाएर जाउँ भनेको मान्नुभएन। पछि प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत खबर गरेका थियाैँ। रोल्पामा मिलेर जान सक्किएन। तर मैले कांग्रेसका सबै तह/पदका साथीहरूलाई खबर गरेको थिएँ हामी मिलेर जान सकेनौं भनेर। यो कुरा प्रचण्डसम्म पुग्यो तर मिलाउन चाहनुभएन। उहाँहरूकाे यसै कुराबाट प्रमाणित भयो कि रोल्पा, रूकुममा उहाँहरू मिलेर जान सक्नुहुन्न भन्ने संकेत देखियो। मलै चाहेको अनुसार गएको भए रोल्पामा फरक परिणाम आउन सक्थ्यो। गठबनधनभित्र मिल्न सकिएन, यो अवस्थामा पुग्यौं।

अघिल्लाे स्थानीय तहको निर्वाचनमा हाम्रो झण्डै रोल्पामा २३ हजार मत थियो भने अहिले ३२ हजारमाथि पुर्याएका छौं। जसपा र समाजवादीका साथीहरूले लुम्बिनीमा त झन् लिखित रूपमा नै गठबन्धन गदैनौँ भन्नुभो। माओवादीका साथीहरूसँग गठबन्धन भएपनि सोचेको जस्तो रूपमा जान सकेनौँ।

संघको निर्वाचननमा स्थानीय तहभन्दा धेरै प्रभाव पर्छ। तर गठबन्धनको मर्म, भावना बुझेर जान सकेनौँ भने संकट निम्तिन सक्छ। रोल्पा–रूकुममा हाम्रो मतको कदर नै हुँदैन भने किन दिनु भोट, अन्य ठाउँमा पनि व्यवस्थित गरेर जान सकेमात्रै उचित हुन सक्छ। याे मेरो बुझाई हो।

गठबन्धनलाई मिलाएर लान सक्यो भने प्रदेश र संघको निर्वाचनमा राम्रो हुने संकेत देखिन्छ। हामीले सोचेकै हुनेछ। माओवादीका नेता वर्षमान पुनलाई लुम्बिनी प्रदेशको जुनसुकै ठाउँमा चुनाव लडेपनि सहयोग नगर्ने भन्ने हुँदैन। तर आफनो निर्वाचन क्षेत्रलाई नै कायम राखेर मिलाएर जान सकिन्छ। रोल्पामा प्रतिनिधिसभाको निर्वाचनमा माओवादीले नेपाली कांग्रेसलाई छोड्नु पर्दछ। यो हाम्रो दाबी हो।

म रोल्पा छोडेर अन्त जाने कुरा उपयुक्त्त मान्दिनँ। रोल्पामै जन्मेँ–हुर्केँ, रोल्पालाई नै केही गरौँ भन्ने भावना छ। यो पालिको निर्वाचन रोल्पाबाटै लड्छु। माओवादीका साथीहरूलाई अन्य ठाउँमा व्यवस्थित गरेर मेरो क्षेत्रमा चाहिँ मलाई नै दिनुपर्दछ।

याे सरकार पनि प्रदेशलाई बलियो बनाउनतिर लागेन। संघीय सरकारले जुन रूपमा प्रदेशलाई अधिकार दिनुपर्ने थियाे, त्यो भएन। प्रदेशलाई अधिकार दिने जिम्मेवारी केन्द्रीय सरकारकाे हाे, तर त्यसाे देखिएन।

लुम्बिनी प्रदेशको बजेट सोचेको जस्तै भएको छ। सबैलाई चित्त बुझेको छ। अबको निर्वाचनन जनताले सोचेजस्तो हुनेछ। जनतालाई नै साथमा लिएर हिँड्नुपर्ने छ।

प्रस्तुत छ– पूर्वमन्त्री तथा नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनसँग बिएल नेपाली सेवाका लागि जीवन डाँगीले गरेको कुराकानी:

फाेटाे/भिडियाे– शनि शाक्य, बिएल नेपाली सेवा

प्रकाशित मिति: : 2022-06-20 21:16:00

प्रतिकृया दिनुहोस्