संसारभरका अधिकांश सभ्यताहरुकाे सुरुवात नदी किनारबाट भएकाे देखिन्छ। तर, कर्णालीकाे सभ्यता भने पाखाबाट सुरु भएकाे थियाे। जुम्लाकाे परम्परागत प्रशासनिक विभाजनअनुसार १८ दरा र २२ पाखा अस्तित्वमा रहनुले यसलाई पुष्टि गरेकाे छ।
दरा भनेकाे दरा परेकाे, चर्किएकाे वा दर्किएको भन्ने बुझिन्छ। जस्ताे कि दरा परेकाे खेत, थाडाे (छत), दरा परेकाे वा चिरा परेकाे भुइँ आदि। बृहत अर्थमा जमिनलाई दुईवटा डाँडाले चिरा परेकाे ठाउँ दारा हाे। यसरी दरा परेकाे ठाउँमा साना तिना खाेला पनि देखिन्छन् भने कतिपय दरा खुख्खा पनि हुन्छन्।
जहाँबाट साना-तिना खाेलाहरु बगे, त्यहीकाे छेउछाउमा मानव बस्ती बसे। तीनकाे खेतीपाती गर्ने ठाउँ खाेला किनारका पाखाहरु थिए। खेतीपाती गरिने अधिकांश ठाउँमा खेतीयोग्य जमिन सम्याएर बारी बनाइए।
'घरमाथि बारी र बारीमाथि जंगल' हुनुलाई बस्ती विकासकाे मन्त्र बनाइयाे। पछि सिंजा र जुम्लामा भएका तालहरु फुटेर जिउलाहरुकाे विकास हुँदा खेतीपाती जिउलामा पनि सर्यो।
जिउलाकाे विकास गर्दा नदीबाट कुलाे खनेर सिचाइकाे प्रबन्ध मिलाइयाे। त्यसपछि बस्ती विकासकाे नयाँ ढाँचा तयार भयाे। 'घरमुनि कुलाे, कुलाेमुनि खेत। घरमाथि बारी, बारीमाथि जंगल।'
यसले खतीपाती, वनजंगल, चरन क्षेत्रलाई व्यवस्थित गर्यो। जिउलामा खस राजा र उनका सल्लाहकारहरुले बस्ती विकास गरे भने पाखामा पहिलेदेखि नै बसिआएकाले खेतीपाती, पशुपालन, हातहतियार बनाएर गुजारा गरिरहेका थिए।
जिउलामा धान खेतीकाे विकास र विस्तार भएसँगै भात खानेहरु श्रेष्ठ कहलिन थाले भने राेटी, ढिँडाेले गुजारा गर्नेहरु निम्नस्तरका देखिन थाले। शासक र तीनकाे वरिपरि रमाउनेहरुले विभाजन गरेकाे श्रेष्ठताकाे प्रतिकले पाखा र जिउलाका बस्तीहरुमा आजसम्म पनि विभेद कायम गरेकाे छ। विभेद नै सभ्यता मासिनुकाे पहिलाे कारण बन्याे।
आज पनि जिउलामा बस्नेले पाखामा बस्नेलाई सहजै हेपेर पावै भन्छ। तर, पावै शब्दको व्युत्पत्तिताकाकाे अर्थ हाेच्याइएकाे भन्ने थिएन। पावैकाे खास अर्थ श्रमकाे विशिष्टिकरण हाे।
बाली पाक्दा, पशुवस्तु थपिँदा घरमा नयाँ सदस्यकाे आगमन हुँदा वा बिहेबारी गर्दा मान्छेहरु रमाउन थाले। खेतीपातीबाट थाकेका मान्छेहरुले आराम गर्ने बेला सांस्कृतिक अभ्यासहरु गर्दा पाखाकाे छुट्टै लाेक साहित्यकाे विकास भयाे। पछि त्याे साहित्यले जिउलालाई पनि समेट्याे। आज बाली भित्र्याउने बेला र बाली लगाउने बेलाका गीतहरु अस्तित्वमा छन्।
कुनै पनि क्षेत्रकाे भूगाेल र हावापानीले नाचगानकाे शैलीकाे विकास गरेकाे हुन्छ। त्यसैले कर्णालीलगायत पाखाका नृत्यमा उठ्ने, बस्ने हुन्छ। ढाल नाच यसकाे उदाहरण हाे।
बिहेबारी गर्दा, सन्तान जन्मिदा चुड्किला, मागल गाउनु पर्दा एकै ठाउँमा बस्नुपर्छ भने देउडा खेल लगाउँदा उभिएर मुडा हालेर बालिएकाे आगाेकाे वरिपरि घुम्नुपर्ने हुन्छ। जुन आज पनि अस्तित्वमा छन्। तर यिनकाे प्रचारप्रसार नहुँदा धेरैलाई कर्णालीकाे लाेक साहित्य र त्यसले आगटेकाे क्षेत्रकाे आधारकाे निकै कम मात्रै जानकारी छ।
गएकाे जेठ २६ गते नेपालका लागभग सातवटै प्रदेशका विभिन्न जिल्लाबाट जुम्ला आएका स्वास्थ्य क्षेत्रका विशेषज्ञहरुलगायतका व्यक्तित्वकाे बीमा दुई तीन घण्टाजति कर्णालीकाे लाेक साहित्य देखाउने र त्यसमाथि विवेचना गर्ने काम भयाे।
यसकाे याेजना माधव चाैलागाईंले बनाएका थिए। सुरुमा जुम्लाकी पुरानी गायिका विमला शाही र नयाँ पुस्ताका गायक नवराज नेपालीलाई तयार पारिएकाे भएपनि शाहीकाे स्वास्थ्य समस्या र नेपालीकाे व्यक्तिगत कामका कारण उपस्थित हुन सकेनन्।
पछि लाेक भाकाहरुमा चुट्किला र ठाडीभाकाकाे विषयमा जुम्लाकाे चन्दननाथ नगरपालिका-३ सिमखाडाका लंक खत्रीले सुरिलाे स्वरमा गाए। घरमा नयाँ सदस्यकाे आगमनले मान्छेमा देखिने खुसीलाई साहित्यकाे मालामा उनिएका चुट्किला पुस्तान्तरण हुँदै उनकाे पुस्तासम्म पुगेकाे छ।
जम्मा ३२ वर्षका उनले जन्म, बिहे, मेला, पर्वमा गाउने गीतकाे विषयमा जानकारी राखेका छन्।
चद्दाेछ कस्तुरी बाइसै पाटन, हुँई हाेला कस्तुरी बास,
गाेडेन बालाकी पञ्च दुमाय, शिरानमा दुबाकाे रास।
चद्दाेछ कस्तुरी बाइसै पाटन, हुँई हाेला कस्तुरी बास।
गाेडेन बालाकी जाेली मुग्लेरी, शिरानमा दुबाकाे रास।
बच्चा जन्मिदा गाउने यस्ता गीत हरेक गाउँमा फरक-फरक तवरले गाइन्छ। चुट्किला र तिनका लयहरु भेग र क्षेत्रअनुसार फरक पर्न सक्छन्। घरमा नयाँ सदस्यकाे आगमन हुँदा मिल्ने खुसी र उक्त सदस्यलाई कुनै राेग व्याधिले नछाेओस् भनी अपनाइने विभिन्न खालका सावधानी र तयारीका पाईपाई अंशलाई लाेक भाकाले समेटेकाे हुन्छ।
विज्ञान प्रविधिकाे विकास नभएकाे समयमा मान्छेलाई मनाेवैज्ञानिक रुपमा तयार राख्न गरिएका विविध अभ्यासले नयाँ सदस्यकाे लालनपालनलाई सहज बनाएकाे हुन्छ। यसैलाई मिठाे गरी बिम्ब, प्रतीक र अतिरञ्जनायुक्त बनाउनु साहित्यकाे अनुपम नमुना हाे।
सरक्या गडुली, सरक्या आइछ।
आग्रीकाे परेवा, घुड्कुन लाइछ।
लेखकाे डाँफुली(डाँफे), खुइँकुन लाइछ।
गाडकाे माछुली(माछा), लड्कुन लाइछ।
सरक्या गडुली, सरक्या आइछ।
यसैगरी खेत खलियान, वनपाखामा गाइने ठाडी भाकालाई मन्त्रमुग्ध पार्ने गरी पातरासी गाउँपालिका लासीकी पञ्चकली बुढाले गाइन्। उनकाे स्वरले उपस्थित सबैलाई शुन्यतामा लग्याे। कर्णालीकाे उत्पादन, त्यसकाे महिमा र बजारसँग सम्बन्धित गीतले लाेक साहित्यकाे महिमा बुझ्ने अवसर दिलायाे।
आधुनिक गीत संगीतले जसरी बजार नलिएकाे कर्णालीका कतिपय भाकाकाे पुस्तान्तरण हुन नसक्दा बुढा मरेसँगै सकिएकाे छ भने कतिपय भाकाहरु लंक र पञ्चकलीकाे पुस्तासम्म आइपुगेका छन्। यस्ता गीतलाई सिंगाे देशका विभिन्न क्षेत्रबाट कर्णाली आउनेलाई बेला बेलामा देखाउन सकिएकाे खण्डमा यसकाे चर्चा चुलिँदै जाने निश्चित छ।