जनतालाई खुसी पार्न गाउँमा सिंहदरबारै ल्याउनुपर्दैन, साना–साना काम गरे पुग्छ

महेश नेपाली

काठमाडौं

निर्वाचनताका अधिकांश राजनीतिक पार्टीका उम्मेदवारहरुले आफ्नाे घाेषणा पत्रमा ठूला–ठूला याेजना सम्पन्न गर्ने, जनतालाई अत्याधुनिक सुविधा दिने भनि लेखे भने जनताकाे माझमा भाषण गर्दा पनि त्यस्ता सपना बाँड्न चुकेनन्।

कतिपय उम्मेदवारहरुले माेनाे रेल चलाउने, केबुलकार संचालन गर्ने लगायतका ठूला सपना बाँडे। पाँच वर्षअघि निर्वाचित भएर आउने जनप्रतिनिधिले र निर्वाचनमा हाेमिएका उम्मेदवारहरुले समेत ठूला सपना बाँड्ने र काम नगर्ने गरेपछि अधिकांश क्षेत्रका जनता जनप्रतिनिधिप्रति चिडिएका छन्।

अघिल्लो निर्वाचनमा निर्वाचित भएर आएका र पुन: पनि निर्वाचनमा उम्मेदवार बनेका अधिकांश उम्मेदवार हारेका छन्। कारण उनीहरुले निर्वाचन अगाडि ठूला–ठूला सपना देखाउनु र निर्वाचनपछि माखाे नमार्नु हाे।

तर, जुम्लाकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जनतासँग प्रत्यक्ष सराेकार राख्ने सानासाना याेजनाबाट आफ्नाे कार्यकालकाे सुरुवात गरेका छन्।

उनले नतालाई पालिका आवतजावतमा साह्रै असहज बनेकाे वडा नम्बर ६ स्थित बालुवा खोलामा काठको पुल निर्माण गर्दा पालिकाभरिका जनता हर्सित बनेका छन्। सिंजा प्रवेशद्वार मानिने नाग्मदेखि थाेरै माथिकाे बालुवा खोलामा वर्खा सिजनमा खोलामा भल आउँदा नागरिकले सधैंभरि सास्ती खेपिरहेका गुनासा र समाचारहरु आउने गरेका थिए।

उक्त खाेलाकाे याे समस्या आजकाे नभइ धेरै अगाडिकाे हाे। खेलामा निर्माण गरिएकाे स्ल्यापबाट बाइकमा यात्रा गर्दा कयाैं पटक बाइक र मान्छे बगेका छन्। मान्छे बाँच्न सफल भएपनि दर्जन बढी बाइक खाेलाले बगाएकाे थियोे।

खाेलामा भल आएकाे बेला बाइक तारिदिँदा केही युवाहरुले एक पटककाे पाँच सयदेखि हजार रुपैयाँसम्म लिने गरेकाे भानु मावि पाथरखाेलाका प्रधानाध्यापक कृष्णबहादुर अधिकारीले बताए।

उक्त खाेलामा भल बढेकाे बेलाकी सिकार उनी छाेरी पनि हुन। 'खाेला तर्ने बेला बाइक चिप्लिएर पछाडितिर बसेकी मेरी छाेरीकाे खुट्टा चेनभित्र परेपछि नराम्ररी कटियाे,' उनले भने, 'छाेरीले निकै दु:ख पाइन्। खुट्टा काट्नुपर्ने स्थिति आयाे। अब पुल बन्दा हामीले जस्ताे अरुले दुर्घटना बेहोर्नुपर्ने छैन। धेरैलाई राहत हुनेछ।'

खुसी हुने प्रधानाध्यापक अधिकारी मात्र हाेइन, सिंजा भेगभरीका मान्छे छन्। कतिले अध्यक्ष शाहीलाई भेटेर धन्यवाद दिएका छन् भने कतिले सामाजिक संजालमा भावुक स्टाटस लेख्दै वर्तमान पालिका सरकारप्रति निकै आभारी भएकाे प्रतिक्रिया दिएका छन्। 

खाेलामा भल बड्दा हरेक वर्षजसाे सास्ती खेपिरहेका मध्ये एक हुन शारीरिक रुपमा अशक्त हिमा गाउँपालिकाका कर्मचारी, सूर्यबहादुर अधिकारी।

उनी बालुवा खोलामा काठको पुल निर्माण हुँदा खुसीकाे सिमा नरहेकाे बताइरहेका छन्। उनले भने,'आज म धेरै खुसी छु। बर्खा आउँदै गर्दा मलाई चिन्ताले सताउने गरेको थियो। मेरो घर परिवारले कहिले शान्ति पाएन। आउँदा जाँदा मैले मृत्यु रोजेर धेरै पटक खाेला पार गरेको छु। याे मेरा रहर नभई बाध्यता थियो। किनकी मैले गन्तव्यमा जसरी पुग्नु थियो।'

उनले मृत्युसँग लडेर खोला तर्ने एउटा पात्र आफू पनि भएकाे हुँदा, त्यहाँ हिँड्दा दुःख पाउनेकाे पीडा आफूले महशुस गरिरहेकाे थपे।

'१० वर्ष अगाडि म बगेर पनि बाँचे तर हाम्रै गाउँको एकजना भाइलाई गुमाउनुपर्‍यो,' उनले भने, 'खाेलाले यतिसम्म सास्ती दियो कि ती दु:ख सम्झिदा आज पनि मेरा आँसु थामिदैनन्।'

उनले धेरैको लागि बालुवा खाेलामा निर्माण भएकाे पुल काठकाे भएपनि आफ्नाे नजरमा सुनको पुल भएकाे भनी सामाजिक संजालमा प्रतिक्रिया दिएका छन्।

गएको वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट पालिका अध्यक्षमा निर्वाचित भएदेखि लगातार जनताका समस्या समाधानमा लागेका उनले स्वास्थ, शिक्षामा ठूले लगानी गर्ने बताएपछि देखिने गरि सानाे काठे पुल निर्माण गरेका हुन। जसले जनतालाई असिम खुसी दिलाएकाे छ।

मुगुको राराताल जाने सडकको प्रवेशद्वारमै पर्ने नाग्म नजिकैको बालुवा खोलाले दिएकाे दु:खबाट पार दिलाउन काठको पुल निर्माण गरेपछि शाहीकाे लोकप्रियता ह्वात्तै बढेकाे छ।

उक्त पुल निर्माण गरेपछि साेही गाउँपालिकाका देवराज शाहीले हिमा गाउँपालिकालाई धन्यवाद दिएका छन्। 'हेर्दा सानाे लाग्ने काम हाम्रा लागि निकै ठूलाे बनिदियाे,' उनले भने, 'वर्खा लाग्नै आँटेकाे हुनाले मान्छेको मनमा डर पस्न थालिसकेको थियाे। अब त्याे डर हटेकाे छ। यसले पनि हिमाकाे सरकार हाम्राे भन्न कुनै हिचकिचाहट छैन।'

स्थानीय तहको निर्वाचन सम्पन्न भएकाे २१ दिन भित्र अघिल्लो कार्यकालका जनप्रतिनिधिकाे पाँच वर्षसम्म ध्यान नपुगेकाे ठाउँमा उनले सजिलै काम गरिदिँदा सिंजा क्षेत्रका तिनवटै गाउँपालिकाका नागरिक खुसी भएका छन्।

यही विषलाई लिएर हिमाकै दलसिंह राेकायाले हिमा गाउँपालिका जनताकाे पक्षमा रहेकाले जनता खुसी हुनुपर्ने बताए।

'अब बाँजागाड खाेलामा पनि यस्तै किसिमकाे पुल बनाई आवतजावत सहज बनाउनेमा आशावादी छु,' उनले भने,'अब हिमामा विकास हुन्छ भनी हामी जनता ढुक्क हुने दिने आएका छन्।'

सस्ताे लागतमा सजिलै काम सम्पन्न भएपछि उत्साहित भएका पालिका अध्यक्ष शाहीले आगामी दिनमा समस्या आएकाे ठाउँमा तत्कालै समाधानका लागि लाग्ने बताए।

'हामीले जनताकाे समस्या समाधानलाई पहिलाे प्राथमिकतामा राख्ने नीति अवलम्बन गरेका छाैं,' उनले भने, 'हाम्रा राम्रा कामलाई जनताले मन पराउँदा उर्जा थपिएकाे छ। अब निरन्तर जनताकाे सेवामा लाग्नेछाैं। हामीले जनताबाट सँधैभरि खबरदारीकाे पनि आशा राखेका छाैं, ताकि हामी नचुकाैं।'

प्रकाशित मिति: : 2022-06-16 20:20:00

प्रतिकृया दिनुहोस्