लखेटिने डरले सहनु परेकाे पीडा
हरेक वर्षको वर्षायाममा बागमती नदीमा मिसिन्छन्, सुकुम्बासीका आँसु। मात्तिएको बागमतीले बिथोल्छ, मिठो निन्द्रा। बगाउँछ, खुसीहरु। जब वर्षायाम सुरु हुन्छ फेरि चस्किन थाल्छन्, पुराना घाउहरु। तर, पनि चस्किएको मन सम्हालेर बस्न बाध्य छन्, काठमाडाैँस्थित थापाथलीका सुकुम्बासीहरु।
हरेक वर्ष सुकुम्बासी बस्तीमा बागमती नदी पसेर वितण्डा मच्चाउँछ। यहाँका मानिसहरु करिब १६ वर्षदेखि याे पीडा सहन बाध्य छन्। तर, समाधानको कुनै पनि विकल्प अहिलेसम्म निस्किएकाे छैन। विभिन्न जिल्लाका घर/जग्गाविहीन भएका यहाँ बस्दै आएका मानिसहरूले यो समस्या राज्यलाई नसुनाएका भने होइनन्। तर राज्यले नै उल्टै पीडा थप्छ, नमिठो वचन लगाउँछ,‘तिमीहरु अतिक्रमणकारी हौ, ठाउँ खाली गर।’
राज्यले मानवीयता नदेखाएका कारण दुख भोग्नु परेको तर्क गर्ने यहाँका सुकुम्बासीहरुलाई बागमतीको गेग्य्रान सहने बानी परेको छ। तर, पीडा थेग्न कहाँ सजिलो छ र।
यसवर्ष औसतभन्दा बढी पानी पर्ने माैसम पूर्वानुमान महाशाखाको प्रक्षेपणले यहाँका मानिसहरु त्रसित छन्। यसपटक पनि बागमती आफ्नो ओछ्यानमा पुग्नेछ भन्नेमा उनीहरु निश्चित छन्। तर, क्षति न्यूनीकरणको तयारी शून्य। उनीहरु आफैंले सक्दैनन्, राज्यले गर्दैन।
‘हामीले वर्षामा दुख त कति भोगियो भोगियो, पानी घरभित्र पस्छ, गु*** बगेर भित्र पस्छ। ढलको पानी पनि हाम्रौ बस्तीमा छिर्छ, खोलाको पानी पनि पस्छ। तर, पनि सरकारले हेर्दैन, हामीले सक्दैनाैँ,’ लामो समयदेखि यहाँ बस्दै आएकी पवित्रा मगरले बिएल नेपाली सेवासँग आफ्ना पीडा सुनाइन्।
सधैंको वर्ष आफूहरुले यो समस्या भोग्दै आएपनि राज्यले नहेरको उनको गुनासो थियाे। बाढीको समस्या राज्यसँग सुनाउँदा ‘बस्ती खाली गर’ भनेर धम्की आउने हुँदा चुप लागेर दुख सहन बाध्य भएको उनी बताउँछिन्।
वर्षा सुरु भएपछि बस्तीमा बाढी पस्ने त्रासले रातमा निन्द्रासमेत नलाग्ने गरेको यहाँका मानिसहरुको गुनासो छ।
‘वर्षामा बाढी आउँछ बगाउला भन्ने डर, हिउँदमा गन्धले बिरामी बनाउँछ। हामीले सरकारसँग धेरै पटक कुरा राख्याैँ तर सरकारले हेरेन,’ पदमबहादुर तामाङले भने,‘अहिले पनि वर्षा सुरु भयो, घरमा बाढी पस्ला भनेर राम्रोसँग निदाउन पनि सकेका छैनौँ।’
बस्तीमा पसेकाे बाढीले यहाँकाे चल/अचल सम्पत्ति बगाउँछ, बस्ती नै साेर्छ। बस्तीमा पसेकाे हिलाे लामाे समयसम्म उठाउन सक्दैनन्, यहाँका मानिस। काठमाडाैँका गल्ली गल्लीका फाेहाेरका थैलाहरू उनीहरूका भान्छामा छिर्छन्। उनीहरूले घरका सामानहरू अग्लाे ठाउँ बनाएर राख्छन्। वर्षायामका अधिकांश रात त राम्राेसँग निदाउनसमेत नसक्ने यहाँका मानिसहरूकाे भनाइ छ।
‘पानी पर्नासाथ यहाँका मानिसहरू त्रसित हुन थाल्छन्। निरन्तर २४ घण्टा पानी पर्याे भने याे ठाउँ सबै जलमग्न हुन्छ। जेठकाे सुरुदेखि असाेजकाे अन्त्यसम्म यहाँका मानिसहरू चयनले सुत्न सक्दैनन्। बाढीले यहाँ धेरै समस्या उत्पन्न गरेकाे छ,’ थापाथली सुकुम्बासी टाेल सुधार समितिका सचिव गाेपाल पाैडेलले बिएल नेपाली सेवासँग भने।
यही सुकुम्बासी बस्तीमा बस्दै आएका पाैडेलले लामाे समयदेखि बाढीले सताइरहेकाे बताउँछन्। बाढीकाे समस्या समाधानकाे लागि यहाँका मानिसहरूले सरकारसँग नगुहारेका हाेइनन् तर राज्यले उल्टै बस्ती खाली गर्न धम्की दिन्छ। त्यसपछि चुपचाप पीडा सहनुपर्ने कठिन परिस्थिति छ यहाँका मानिसहरूमा।
लखेटिने डरले सहनु परेकाे पीडा
अहिले १ सय ४६ वटा छाप्रा रहेकाे याे ठाउँमा पहिला ठूलाे झाडी थियाे। नजिकैकाे प्रसूति गृह अस्पतालमा मृत्यु भएका शिशुलाई गाड्ने गरिन्थ्याे। बर्दियाबाट सुकुम्बासीकाे अधिकारकाे लागि आन्दाेलन गर्न आएका केही मानिसले वि.सं.२०६३ सालमा यहाँ बस्ती बसाएका हुन्।
सुकुम्बासीहरूले जग्गा अतिक्रमण गरेर बस्ती बसाएकाे भनेर यहाँका मानिसहरूलाई धेरै पटक लखेट्ने प्रयास गरियाे। यहाँका छाप्राहरूमा आगाे लगाइयाे। मध्यरातमा प्रहरीले डाेजर चलायाे। अहिलेसम्म पनि यही कुराकाे प्रतिकार गर्दै बसेका छन्, सुकुम्बासीहरू।
हाल यहाँकाे जग्गा बागमती करिडाेर परियाेजनाले लिएकाे छ, करिडाेर बनाउन। याे परियाेजनाले यहाँकाे बस्ती उठाउन धेरै प्रयास गरिरहेकाे छ। त्यसैले पनि यहाँका मानिसहरू बस्तीभित्र आउने समस्याहरू खुलेर सरकारसँग राख्न सक्दैनन्। समस्या समाधानकाे लागि सरकारसँग पहल गरेपनि अस्थायी बस्ती भएकाेले समस्या समाधानकाे काम हुँदैन। साेही कारण बाढी बस्तीमा पस्नबाट राेक्न अलिकति अग्लाे पर्खाल लगाउनु बाहेक केही काम भएकाे छैन।
‘हामीले बाढी पस्नबाट राेक्न भन्दै सरकारलाई याे वर्ष मात्रै चार वटा निवेदन पठायाैँ तर सरकारले वास्ता गरेन,’ सचिव पाैडेलले भने,‘सरकारले बाढी पस्नबाट राेक्नुकाे साटाे बस्ती खाली गर्न धम्की दिन्छ। अब हामी कहाँ जाने ? के गर्ने ? सहन बाध्य छाैँ।’
नदी बस्तीमा नपसाेस् भनेर सुरु–सुरुमा यहाँका मानिसहरूले माटाे किनेर बाेरामा हालेर पानी नछिर्ने गरी राख्थे। त्यसले बाढी त छेक्दैन थियाे तर डर भने कम गर्थ्याे। पछि करिडाेर परियाेजनाले ३ फिट अग्लाे पर्खाल बनायाे। तर, उर्लिँदाे बागमतीलाई त्याे पर्खालले थेग्न सक्ने कुरै भएन। त्यसैले पछि मानिसहरूले माटाे लगेर खन्याए। अहिले त्यही माटाे जमेर नदीकाे सतह बढ्दा झन नदीकाे पानी बस्तीमा पस्न थालेकाे छ।
अहिले सुकुम्बासी बस्तीकाे पारिपट्टी (ललितपुर) बाढी नपस्ने गरी स्तरीय पर्खाल बनाइएकाे छ। साेही कारण पनि पानीकाे छाल बस्तीमा हान्निन्छ। तर, पनि यहाँका मानिसहरू चुपचाप सहन बाध्य छन्, लखेटिनुपर्ने डरले।
यसरी राजधानीकै मानिसहरू बाढीकाे ठूलाे त्रासमा बाँच्न बाध्य छन्। मनसुन सुरु भइसकेकाले कतिबेला बाढी आउने हाे पत्ताे छैन। मानिसहरू राम्राेसँग सुत्न सकेका छैनन्। यहाँ बाढीकाे समस्या समाधानकाे लागि सुकुम्बासी बस्तीलाई व्यवस्थित गर्न जरूरी छ। तर, त्याे कहिले हुने हाे पत्ताे छैन। राज्य नै समस्या समाधानकाे लागि उदासीन बनेकाे सचिव पाैडेलकाे आराेप छ।
‘हामी चाहन्छाैँ करिडाेर परियाेजनाले मानवीयता देखाएर यहाँकाे समस्या समाधान गरिदिएहुन्थ्याे,’ पाैडेल भन्छन्, ‘तर, परियाेजनाले बाढीले हामीलाई नै लखेटिदिए हुन्थ्याे भन्ने साेच्छ। याे वर्ष पनि बाढी आयाे भने के गर्ने भन्ने पूर्व तयारी काेहीसँग छैन, छ त केवल त्रास मात्रै। अब जे पर्छ त्यही टर्छ।’
फाेटाे/भिडियाे:मदन नेपाली