रोल्पाबाट चुनाव लड्न डा. दीपेन्द्र भण्डारीलाई युवाहरूको आग्रह

नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय उपाध्यक्ष तथा शैक्षिक अभियन्ता डा. दीपेन्द्र भण्डारीलाई रोल्पाबाट संघीय चुनाव लड्न चौतर्फी दबाब बढेको छ।

गृहजिल्ला रोल्पाबाट आउँदो प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न स्थानीय युवाहरूले आग्रह गरेका छन्।

‘डाक्टर–साप यसपटक रोल्पा जानैपर्छ। रोल्पाका मतदाताले उहाँ जतिको बौद्धिक मान्छेलाई जसरी पनि जिताउने छन्। रोल्पाको प्रतिनिधि बनाउन युवाहरू आतुर छौं,’ काठमाडौंमा अध्ययनरत माडीका एक युवाले भने।

गंगादेव गाउँपालिका–२ रमाइँमा जन्मिएका डा. भण्डारी राष्ट्रियस्तरमा परिचित शीर्ष शैक्षिक अभियन्ता हुन्। उनी प्रतिनिधिसभा सदस्यका लागि रोल्पाबाट उम्मेदवार बनेपछि पार्टी नहेरेर चुनावी अभियानमा लाग्ने अखिल क्रान्तिकारीका एक नेता बताउँछन्।

‘रोल्पाका मतदाताले पटकपटक एउटै मुहानका धेरै नेताहरूलाई चुनावमा जिताए तर जिल्लाको विकास हुनै सकेन। यो पटक रोल्पाले बौद्धिक तथा सामाजिक अभियन्तालाई रोज्ने छ,’ गंगादेवका युवा रविन भण्डारी भन्छन्।

त्यसो त एमाले महासचिव शंकर पोखरेलनिकट मानिने डा. दीपेन्द्र भण्डारीले अहिलेसम्म आफ्नो मुख खोलेका छैनन्। तर उनलाई रोल्पाबाट चुनाव लड्न आग्रह गर्दै दर्जनौं युवाले भेटिरहेका छन्।

नेकपा (एमाले) रोल्पाका युवा नेता–कार्यक्रर्ताहरू पनि डा. भण्डारीबारे आन्तरिक चर्चा थालिसकेको एमालेनिकट स्रोतले जनाएको छ।

‘चुनावको मिति तोकिएको छैन। तैपनि आन्तरिक रुपमा पार्टीभित्र छलफल भइरहेको छ। सम्भवतः दीपेन्द्र कमरेड नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुहुनेछ,’ एमाले जिल्ला कमिटी रोल्पाका एक सदस्य भन्छन्।

डा. दीपेन्द्र भण्डारीलाई यसपटक जसरी पनि रोल्पा लैजानुपर्ने अर्का विद्यार्थी भीम वली बताउँछन्। उनले भने, ‘रोल्पाबाट भ्रष्टहरूले मात्रै चुनाव जितिरहेका छन्। उनीहरू पदका लागि मात्रै राजनीति गर्छन्। तर उहाँ जतिको मान्छे रोल्पाबाट आउँदाे चुनाव लड्नुपर्छ। यो रोल्पाका युवाहरूको माग हो।’

प्रकाशित मिति: : 2022-06-09 17:08:00

प्रतिकृया दिनुहोस्