ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसाललाई कारबाही गर्न सिफारिस

पूर्वमन्त्री तथा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाही गर्न सिफारिस गरेको छ। 

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारबाही गर्न सिफारिस गरिएको अनुशासन आयोगका एक सदस्यले जनाएका छन्। 

बुधबार दिउँसाे बसेको आयोगको सचिवालय बैठकले नेता भुसाललाई पार्टी नीति विपरीत बाेल्दै हिँडेकाे आरोप समेत लगाएको छ। भुसालले लामो समयदेखि अध्यक्ष ओलीको आलोचना गर्दै आएका छन्।

स्थानीय तह निर्वाचनमा हारको नैतिक जिम्मा लिएर पद त्याग्न भुसालले अध्यक्ष ओलीलाई सुझाव दिएपछि स्पष्टीकरण सोधिएकाे उनीनिकट एक नेत्रीले बताएकी छन्। चुनावी परिणाम सार्वजनिक हुँदै गर्दा एक राष्ट्रिय टेलिभिजनमा अध्यक्षकै कारण पार्टीले पराजय बेहोरेको बताउँदै हारको जिम्मा लिनुपर्ने उनकाे जिकिर थियाे।

स्राेतका अनुसार उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्याललाई पनि कारबाहीकाे लागि सिफारिस गरिने सम्भावना छ।

उनीहरूमाथि पोखरा महानगरमा आफ्ना उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप छ। एमाले कार्यकर्ताहरूले एकीकृत समाजवादीका नेता धनराज आचार्यसँग पैसा लिएर एमाले उम्मेदवारलाई हराएकाे चर्काे दाबी गर्छन्। त्यसमा गुरुङ र अर्यालको पनि नाम जोडिएपछि उनीहरूलाई समेत प्रष्टीकरणको पत्र थमाइने सम्भावना छ।

स्थानीय चुनावमा अनपेक्षित नतिजा व्यहोरेको एमालेमा त्यसैलाई लिएर विवाद चर्किएको छ। अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसहितका शीर्ष नेताहरुले पार्टी पराजय हुनुमा अन्तर्घात प्रमुख कारण रहेको बताएपछि कार्यकर्ताहरू आरोप-प्रत्यारोप उत्रिन थालेका छन्।

ओलीसहित एमालेका अधिकांश ठूला नेताले चुनावअघि ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेका थिए। तर, सोअनुसारको परिणाम प्राप्त नभएपछि एकले अर्कालाई आरोप लगाउने होडबाजी चलिरहेको छ।

प्रकाशित मिति: : 2022-06-05 05:31:00

प्रतिकृया दिनुहोस्