माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूकाे प्रशिक्षण जारी 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ।

स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबारदेखि काठमाडाैँकाे कुमारी हलमा माओवादीकाे प्रशिक्षण कार्यक्रम सुरु भएकाे हाे।

काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन्।

पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवं सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्ता, स्थानीय सरकार सञ्चालनका विज्ञ, पूर्वप्रशासकलगायतले विभिन्न विषयमा सहभागीलाई प्रशिक्षण दिने माओवादीले जनाएको छ।

अघिल्लो कार्यकालमा उत्कष्ट काम गरेका स्थानीय तहका प्रमुखले पनि अनुभव आदान–प्रदान गर्ने कार्यक्रम राखिएको छ।

प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार र पार्टीका शीर्षनेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी भएकाे माओवादी केन्द्रले जनाएकाे छ।

उद्घाटनसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन्। 

प्रकाशित मिति: : 2022-06-01 12:41:00

प्रतिकृया दिनुहोस्