शिक्षकबाटै असुरक्षित छात्रा, इज्जत जाने डरले विद्यालयलेनै लुकाउछन् यौन हिंसाका घटना

गत चैत ६ गते मोरङको लेटाङमा भएको घटना त सबैलाई ताजै होला। आफ्नै छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा लेटाङमा एक प्रहरी जवानले ज्यान गुमाउन पुगिन्।

यौन दुर्व्यवहारका आरोपितलाई नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आक्रमण गरेको थियो। आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो।

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको लेटाङ नगरपालिका- ५, खेरुवाको शिक्षा विकास माविका शिक्षक मनोज पौडेललाई ६ चैतमा पक्राउ गर्न जाँदा पहिल्यैदेखि प्रदर्शन गरिरहेको आक्रोशित भीडको आक्रमणमा परी प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो।

कक्षा ६, ७ र ८ लाई सामाजिक र नैतिक शिक्षा पढाउने पौडेलले २०७३ सालयता गरेका तीनवटा यौन दुर्व्यवहारको घटनालाई मिलापत्रबाट सामसुम पारिएको थियो। पटक–पटक छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बचाउन खोजेको भन्दै आक्रोशित भीडले प्रहरीमाथि नै आक्रमण गरेको थियो। 

उक्त घटनापछि विद्यालयमा शिक्षकहरूबाट छात्रामाथि हुने यौन हिंसाका घटनाले चर्चा पायो। एकपछि अर्को घटना सार्वजिनक हुन थाल्यो। जुन अहिले मात्र भने होइन। छात्राहरूले शिक्षकहरूबाट यस्ता खालका दुर्व्यवहार सहँदै आएका छन्।

केही प्रतिनिधि घटनाको रूपमा मात्र बाहिर आउने गरेको पाइन्छ। नत्र आफ्नो पढाइ बिग्रिने, घर-परिवार, समाज आदिको डरका कारण छात्राहरू जस्तो खालको हिंसा पनि सहँदै आएका हुन्छन्। 

पाँच वर्षअघि कक्षा ९ मा अध्ययनरत छात्रालाई बलात्कार गरेको अभियोगमा तत्कालीन प्रिन्सिपल राज खड्का पक्राउ परे। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले बिहिबार टोखा नगरपालिका बानियाँटारस्थित उनकै डेराबाट पक्राउ गरेको हो। 

इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कूलका तत्कालिन प्रिन्सिपल खड्काले कक्षा ९ मा अध्ययनरत छात्रालाई २६ साउन २०७४ मा पहिलोपटक बलात्कार गरेकाे आराेप लागेकाे छ। उपचारका लागि अस्पताल लैजाने बहानामा होटलमा लगेर छात्रामाथि बलात्कार गरेकाे प्रहरीकाे भनाइ छ। पछि स्कुलबाट रेष्टिकेट गरिदिने, अश्लील भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिएर पटकपटक बलात्कार गर्दै आएकाे पीडितले बताएकी छन्।

मानसिक र शारीरिक तनाव दिँदै पटक-पटक जबर्जस्ती करणी गर्ने उनीविरुद्ध पीडित छात्राले २ भदौ २०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा खड्काविरुद्ध जाहेरी दिएकी थिइन्। तर, प्रहरीले भने खड्कालाई पक्राउ गर्न सकेको थिएन। अहिले भने चौतर्फी बलात्कारका घटनाले चर्चा पाइरहेका बेला सक्रिय बनेको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

अहिले चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजका छात्रामाथि शिक्षकबाटै बलात्कार भएको घटनाले समग्र विद्यालय क्षेत्रमा चर्चा छ। कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र नेपाली शिक्षक राजनकुमार पौडेलले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको आरोप छ। सोही आरोपमा प्रहरीले अधिकारी र पौडेललाई पक्राउ गरेको छ। पक्राउ परेका दुवैजनालाई पाँच दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ। 

उनीहरूले आफूहरूसँग नजिक भए कलेजको शुल्क तिर्नुनपर्ने भन्दै प्रलोभन देखाएको विद्यार्थीहरूको आरोप छ। यतिसम्म कि उनीहरूले बेड पार्टनर बन्न म्यासेस पनि गर्ने गरेको थिए।

आफूहरूले भनेअनुसार गरे सबै थोक गरिदिन्छु भनेर प्रलोभन समेत देखाएका थिए। त्यसपछि विद्यार्थीहरूले कलेजमै विरोध प्रदर्शन गरेका थिए। घटनाले उग्र रूप लिन थालेपछि कलेजले प्रहरी प्रशासनको सहयोग मागेको थियो। पछि प्रहरीले दुवैजनालाई पक्राउ गरेको काठमाडौं प्रहरी कार्यालयका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए। 

गत वैशाखमा मात्रै आफ्नै विद्यालयका शिक्षकहरूले छात्रामाथि यौन दुर्व्यवहार गरेका आठ घटना सार्वजनिक भए। शिक्षकले ज्यादती गर्न थालेपछि त्यसको प्रतिरोधमा छात्राहरू स्वतस्फूर्त उठेपछि यी घटना सार्वजनिक भएका हुन्। तर, अधिकांश ठाउँमा छात्राले विद्यालय प्रशासनबाट पाउनुपर्ने समर्थन भने पाएनन्। त्यसविरुद्ध छात्राहरू विद्यालयमा नाराबाजी, तालाबन्दी, तोडफोड, मोसो दल्ने जस्ता क्रियाकलाप गर्न बाध्य भए। 

चितवन, नारायणगढको बालकुमारी माध्यमिक विद्यालयका शिक्षक शशीधर गैरेलाई विद्यार्थीहरूले कालोमोसो दले। छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३ चैतमा विद्यार्थीहरूले मोसो दलेका थिए। छात्राहरुलाई पटक–पटक दुर्व्यवहार गरेको उजुरी सुनवाइ नभएपछि उनको कर्तुत बाहिर ल्याउन विद्यार्थीहरू मोसो दल्न बाध्य भए। 

पछिल्लो समय सञ्चारमाध्यम र सामाजिक सञ्जालका कारण यस्ता खालका घटनाहरू सार्वजनिक भइरहेका छन्। अहिले स्वयम पीडित नै प्रतिकार गर्ने हिम्मत आइरहेको छ। जसले गर्दा घटना यसरी सार्वजनिक हुन थालेका हुन्। 

अभिभावक संघका अध्यक्ष केशव पुरी विद्यालयमा छात्रामाथि हुने यौन हिंसाका घटना व्यापक रहेको बताउँछन्। अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यकका कारण केही घटना सार्वजनिक मात्र भइरहेको भन्दै थुप्रै घटना बाहिर आउन नसकेको उनको भनाइ छ। 

‘छात्राहरूमाथि हुने घटना व्यापक छन्। हामीले यसमा खबरदारी गर्दै आएको वर्षौ भइसक्यो, राज्यले सुन्दैन। अहिले २-४ घटना मात्र सार्वजनिक भएका हुन्,’ अध्यक्ष पुरीले भने। 

ज्ञानको ज्योति छर्ने र सत्मार्गमा हिँड्न सिकाउने गुरूहरूबाटै छात्राहरू सुरक्षित नरहेको उनको भनाइ छ। कतिपय ठाउँमा त आफूमाथि के भइरहेको छ भन्नसमेत थाहा नपाउने उमेरका बालिकामाथि पनि शिक्षकहरूबाट यौन हिंसा भइरहेको उनको भनाइ छ। 

छोटो ड्रेस लगाएको विषयलाई लिएर, सिकाईदिने बाहनामा, पढाइ राम्रो भएन भन्दै, फेल गराइदिने जस्ता धम्की दिएर पनि छात्रााहरूमाथि यौन शोषण भइरहेको उनको भनाइ छ। शिक्षकबाटै भइरहेका यौन दुर्व्यवहारको कारणबारे नेपालमा अध्ययनसमेत नभएको अध्यक्ष पुरीको भनाइ छ। अहिले चेतनाको स्तर बढ्दै गएकाले आफूमाथि भएको हिंसाबारे बोल्न थालेको उनको भनाइ छ।

नेपाल प्रहरीको तथ्यांकअनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा शिक्षकबाट भएका पाँचवटा जबर्जस्ती करणीका घटना प्रहरीसम्म पुगेको थियो। पछिल्लो पाँच वर्षमा मात्रै ८१ जना छात्रा शिक्षकबाटै बलात्कृत भएका छन्। त्यो पनि प्रहरीमा परेको उजुरीको आधारमा मात्र हो। त्यसरी उजुरी नपरेका र आपसमै मिलाइएका घटनामा यसमा समावेश छैन।

आर्थिक वर्ष २०७७-०७८ मा १५, २०७६-०७७ मा ४५, २०७५-०७६ मा ११ र २०७४-०७५ मा पाँचजना छात्रामाथि शिक्षकहरूले नै जबर्जस्ती करणी गरेको पाइएको प्रहरीको तथ्यांकले देखाएको छ। 

नेपाली समाजमा यौन हिंसाका पीडितलाई साथ दिनेभन्दा लाञ्छना लगाउनेहरू बढी छन्। जसले गर्दा ज्यादती सहेर बस्नेको संख्या धेरै हुन पुगेको हो। अध्यक्ष पुरीले यौन हिंसाविरुद्ध अहिले विद्यार्थीहरू मिलेर विद्रोह गरिरहेको बताए। ‘केही वर्षअघिसम्म त बालिकाको बिहे नहुने, इज्जत जाने डरले अविभावक नै पीडितको मुख थुनेर बस्थे। अहिले खुलेर आउन थालेका छन्,’ अध्यक्ष पुरीले भने। 

नेपाल प्रहरीले पनि उजुरी नै नपरेका यस्ता घटना थुप्रै भएको हुनसक्ने अनुमान गरेको छ। पीडितको तर्फबाट उजुरी परेको खण्डमा प्रहरीले कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँदै आएको प्रहरीका प्रवक्ता विष्णुकुमार केसी बताउँछन्। तर, उजुरी नपरेका तथा बाहिर सार्वजनिक नभएका घटनाका विषयमा प्रहरी अनविज्ञ हुने उनको भनाइ छ।

प्रकाशित मिति: : 2022-05-27 16:26:00

प्रतिकृया दिनुहोस्