वसन्त पञ्चमी नामले चिनिने सरस्वती पूजाकाे अवसरमा ललितपुर महानगरपालिका-४ काे आयाेजनामा धाेबीघाट हिरण्यपिठ अवस्थित सरस्वती मन्दिरकाे पुजा अर्चनाका साथै नारदेश्वर महादेव मन्दिर र इकुहिटी फल्चाकाे माैलिक स्वरुप झल्किने पुननिर्माण कार्यकाे समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ।
हरेक वर्ष वि.सं अनुसार माघ शुक्ल पञ्चमी तथा ने.सं अनुसार सिल्लाथ्व पञ्चमी तिथिलाई श्री पञ्चमीको रुपमा लिने गरिन्छ। जनविश्वास अनुसार यसै तिथिबाट चिसो र तुसारो कम हुँदै जाने र बोटबिरुवामा नयाँ पलुवा लाग्न थाली वसन्त सुरु हुने भएकोले यस तिथिलाई वसन्त पञ्चमीको नामले पनि चिनिन्छ।
आज सरस्वती पूजा। अर्थात्, श्री पञ्चमी। हामी सरस्वतीलाई विद्याकी देवी मान्छौ र आराधनासहित श्री पञ्चमी मनाउँछौँ। आज साना नानीहरूका निम्ति अक्षरारम्भ गर्ने दिन हो। सरस्वती पूजा या श्री पञ्चमी वा वसन्त पञ्चमी जे भनिए पनि आज विद्या र सङ्गीतकी प्रतिरूप सरस्वतीको पूजा आराधना गरी मनाइने विशेष दिन हो।
वसन्त पञ्चमीको दिनलाई अति नै शुभ दिन मानिन्छ र यस दिन कुनै पनि शुभकार्य गर्न मुहुर्त तथा साइत हेर्न नपर्ने मान्यता रहेको छ। यस दिन हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गर्दछन भने महायान तथा बज्रयान वौद्ध धर्मावलम्बीहरुले गुरु मञ्जुश्रीको पूजा गर्ने गर्दछन्।
आजको दिन विशेष गरि हिन्दु धर्मावलम्बीले श्री सरस्वती देवीको पूजा गर्ने गर्दछन्। सरस्वती देवीलाई चतुर्भुजा भएको, पुस्तक, वीणा, तथा माला समाइरहेकी रुपमा चित्रण गरिएको तथा मुर्तिमा कुँदिएको पाइन्छ। यसै दिनबाट आफ्ना स-साना नानीबाबुहरुलाई मन्दिर अगाडि अक्षराम्भ गराउने गर्दछन्। यस दिन सरस्वती मन्दिर गइ पूजा आराधना गरेमा, विद्या, सीप, कला- कौशल, लेखन आदिको ज्ञान प्राप्त हुने जनविश्वास गरिन्छ।
आजकाे दिन नेपालभरिकाे सरस्वती माताकाे मन्दिरहरुमा विशेष पुजा लाग्ने गर्दछ। यसै क्रममा आजकाे दिन ललितपुर महानगरपालिका वडा नं. ४ धाेबीघाट क्षेत्रमा भएकाे सरस्वति मन्दिरमा विशेष पुजा हुने गर्दछ।
यहाँ भएकाे सरस्वति मन्दिर तथा यस क्षेत्रकाे वर्णण श्री स्वस्थानी व्त कथाकाे दशमाे अध्यायमा पाइन्छ। उक्त कथाकाे दशमाे अध्यायमा उल्लेखित वर्णनहरु यस किसिमका रहेका छन् ।
“फेरी हिरण्यपुरमा पुगेर सुतस्थान पतन भयाे। हिरण्यपिठ, नवरत्नेश्वरी देवी, त्रिपुरेन्द्रा याेगिनि, नारदेश्वर महादेव उत्पन्न भए, शिवशक्ती स्वरुपले रहे। त्यस पुन्यभुमीमा सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन्। इश्वरी प्रशन्न भइ वरदान माग भनिन्। सरस्वतीले सम्पुर्ण जिवात्माकाे बाेलीमा मेराे निवास हाेस् भनी मागिन। इश्वरीले तथास्तु भनी वरदान दिइन।”
यसै व्रत कथाकाे आधारमा यहाँका मुर्ति तथा वरपरका फल्चा निर्माण भएतापनि समयक्रमसँगै आधुनिक डिजाइनमा ढल्केकाे हुँदा हाल ललितपुर महानगरपालिका वडा नं. ४ द्वारा महानगर बजेट र वडा बजेटबाट फेरी पुरानाे माैलिक स्वरुपमा उक्त संरचनाहरु बनाइएको छ। ललितपुर महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष श्री सन्ताेष खडकाज्यूकाे अथक प्रयास र महानगर प्रमुख श्री चिरीबाबु महर्जनज्यूकाे विशेष सहयाेगमा करिब १ वर्षकाे समयमा नारदेश्वर मन्दिर र इकुहिटि फल्चाकाे माैलिक स्वरुप पुननिर्माण कार्य सम्पन्न भएको छ।
आज बसन्त पञ्चमी्काे अवसरमा नगर प्रमुख श्री चिरीबाबु महर्जनज्यूकाे प्रमुख आतिथ्यतामा वडा नं. ४ का स्थानियवासी, जनप्रतिनिधि, विभिन्न टाेल सुधार समितिका पदाधिकारी, नगर प्रहरी, प्रहरी लगायत विभिन्न पदाधिकारीहरुका माझ श्री चिरीबाबु महर्जनज्यू द्वारा ताम्रपत्र समुद्घाटन गरी दुबै माैलिक संरचनाकाे आधिकारीक कार्य सम्पन्नता पुरा गरे।