ज्योतिषाचार्य घनश्याम चापागाईं नेपाली धर्म, संस्कृति एवम नेपालमा मनाइने पर्वहरूका विषयमा विशेष जानकारी राख्छन्। नेपाल ज्योतिष परिषद् केन्द्रिय समितिको उपमहासचिव समेत रहेका उनी ज्योतिष परामर्श सेवामा पनि क्रियाशील छन्। संचारकर्मी हुँदै ज्योतिष विज्ञानका क्षेत्रमा सक्रियता बढाएका उनीसँग बसन्त पन्चमी एवम सरस्वती पूजा, यसको महत्व, पूजा विधि र नेपालमा मनाइने तौर तरिकाका विषयमा गरिएको कुराकानी।
वसन्त पञ्चमीको महत्व के छ? तिथि र मितिका हिसाबले कहिले पर्छ?
विशेषगरी वसन्त पञ्चमी वा सरस्वती पूजा एकै रुपमा बुझिन्छ। तिथि-मितिको हिसावले भन्नुपर्दा २०८१ सालमा चाँही माघको २१ गते सोमबारका दिन परेको छ। नेपाली समाजमा यो पर्वको विशेष महत्व छ। शिशिर ऋतुको गमन या बिदाई संँगसँगै बसन्त ऋतुको आगमन हुनेदिन भएकाले बसन्त पञ्चमीको विशेष महत्व छ।
६ वटा ऋतुहरू मध्ये सबैभन्दा लामो र सबैभन्दा महत्वपूर्ण ऋतु भनेर बसन्त ऋतुलाई लिइन्छ। धर्मशास्त्रका अनुसार पाँचवटा ऋतुहरूमध्ये बसन्त राजालाई बलवान मानिएको छ। बलवान भएकै कारणले आ-आफ्नो आयू र उमेरबाट दिनहरू हेर्दा लगभग सबै ऋतुहरू दुई महिनाका हुन्छन भने बसन्त ऋतु ४० दिन बढीको हुन्छ। यही बसन्त ऋतुबाट चाँही नयाँ सिजन सुरु हुने विश्वास गरिन्छ।
वसन्त पञ्चमी माता सरस्वतीको लागि किन महत्वपूर्ण र प्रिय छ?
बसन्त ऋतुमा अर्थात बसन्त पञ्चमीकै दिन भगवती सरस्वतीको जन्मदिनको रुप भनेर मानिन्छ। सरस्वतीलाई विद्याकी देवी भनेर पुजन समेत गरिने नेपाली परम्परा छ। महिलाहरू जम्मा तीन चरित्रका हुन्छन् भनेर व्याख्या गरिन्छ। ती देवीहरूको भक्ति गर्ने भनेको उहाँहरूको गुण अनुशरण गर्नु हो। प्रतिनिधित्व गर्नु वा नक्कल गर्नु भनेको दैविय अवतारहरूमा प्रवेश गर्यौं भन्ने अर्थ लाग्दछ। महिला तीन चरित्रका भन्नाले एउटी सरस्वती स्वरुपा हुन्। ती महिला भनेका महान ज्ञानी अर्थात अत्यन्तै ज्ञानी भन्ने अर्थमा बुझिन्छ। अर्को लक्ष्मी स्वरुपा भनेको महान धनी महिला भनिएको हो।
अर्को भनेको महान बलवानी र पराक्रमी महिला जसलाई चाँही हामी नवरात्रमा भगवती महाकाली महाशक्तिको रुपमा पूजा गर्दछौं अर्थात दुर्गा भवानीलाई पुजा गर्दछौं। यि तीन देवीका आफ्नै महत्व छन्। तथापी महिलाले यी तीनवटा गुण आफूमा अनुकरण गर्न सक्नु भनेको शसक्त महिला हुनु हो। जो मान्छे धनी छ, त्यो मुर्ख हुन्छ। जो मान्छे विद्धान छ त्यो मान्छे गरिब हुन्छ। धन र विद्या एउटै मान्छेमा प्रशस्त भएको भए त्यो मान्छेले संसार हल्लाउनसक्छ। त्यस्ता नारी र पुरुषहरू संसारमा यदाकदा मात्र छन्।
तसर्थ विद्याकी देवी भनेर मानिने बसन्त पञ्चमीको दिन सरस्वती मातालाई सेतो वस्त्र धारण गरेर हाँसमाथि बसेकी, विणा बजाउने गरेकी, हातमा कलम-पुस्तक लिएकी स्परुपमा व्याख्या गर्छौं। त्यही नै चिजको विकास हुने दिन र त्यहाँबाट अक्षर आरम्भ गर्ने गरिन्छ । साना बालबालिकाहरूलाई क,ख सिकाउने गरिन्छ। हरेक कुराको आरम्भ गर्दा शुभ दिन सरस्वती पूजालाई मानिन्छ। संगीतकी देवी पनि मानिन्छ।
बालबालिकालाई शिक्षारम्भ साथसाथै नाक-कान छेडी दिने चलन छ। खास किन यो दिन पवित्र मानिन्छ?
स्कुलमा भर्ना गर्न बाँकी छ भने त्यो दिन अक्षर आरम्भ गरियो भने जिव्रोमा माता सरस्वतीको बास हुन्छ भन्ने विश्वास छ। घरमा लक्ष्मीको बास होस, आकाशका ३३ कोटी देवता सधैं दाँहिना भइदिउन भनेर गुरुहरूले आर्शिवाद दिने गर्छन्। बसन्त पञ्चमीमा अक्षर आरम्भ गराइयो भने बच्चा अत्यन्तै नै सक्रिय हुन्छ भन्ने विश्वास छ। हरेक कुराको साइत हुन्छ। बिना साइत केही काम हुँदैन।
बसन्त पञ्चमीको दिन पवित्र दिन भएकाले नाक-कान छेड्दा केही साइत हेर्नु पर्दैन भन्ने विश्वास लिइन्छ। हरेक व्यक्तिले बेलुका सुत्नेबेलामा दिनभरीका थकानहरू भएपनि साँझ खुसी भएर सुत्दा बिहान झनक्क रिस उठ्छ भने सरस्वतीको पाठ गर्दा राम्रो हुन्छ। यति मात्र होइन विद्यार्थीहरूलाई विद्या आर्जन गराउनका लागि पनि पाँचवटा लक्षण हुनुपर्छ । ती पाँचवटा लक्षणहरू माता सरस्वतीको जुन बसन्त पञ्चमीका दिन आराधना गरेर पूजाअर्चना गरेर काम गरियो भने पाँचवटा लक्षणहरू प्राप्त हुन्छ।
खासमा माता सरस्वती को हुन्? हजुरले कसरी व्याख्या गर्नुहुन्छ?
माता सरस्वतीलाई हामीले ब्रम्हा पत्नीका रुपमा चिन्छौं तर उहाँ बम्हाकी बहिनी हुनुहुन्छ। हामी ब्रम्हा, विष्णु र रुद्रेस्वरप्रति गहिरो विश्वास राख्छौं। ब्रम्हाकी पत्नी भनेर सावित्रीलाई चिनिन्छ। कतिपय मान्छेहरूले सरस्वतीलाई ब्रम्हणी पत्नी भनेर व्याख्या गर्छन्। ब्रम्हाकी बहिनीको रुपमा सरस्वती माता चिनिनुहुन्छ। अर्थात विद्याकी देवी भनेर पनि उहाँलाई चिन्नुपर्छ।
सरस्वती पूजा गर्ने प्रचलन कहिले र कसरी सुरु भयो?
सरस्वती पूजाको थालनी कसरी र कहिले सुरु भयो भनेर भन्न सकिदैन्। तर जतिबेला हाम्रा धर्म शास्त्रहरू उदय भए वा पुराणहरूमा आदिम कालदेखि नै सरस्वती माताको पूजा गर्न थालियो। त्यही बेलादेखि सरस्वती पूजा गर्न थालिएको हो। वसन्त पञ्चमी माता सरस्वतीको जन्म दिन भनेर उल्लेख गरिएको छ।
लेखकहरूले कसैले एउटा मिति दिने र कसैले अर्को मिति दिने गरेको पाईन्छ तर वास्तविक यही नै मिति भन्ने छैन्। तर पनि यस ऋतुमा उहाँको आगमन हुन्छ र बसन्त ऋतुमा उहाँको जन्म हुन्छ भनिएकाले त्यहाँदेखि थालिएको हो।
हिजोआज धर्मकर्म हराउँदै गयो, पूजाआजा मानिसहरूले गर्दैनन्। सरस्वती पूजा मानिसले गर्दैनन, धर्म संस्कृतिमा लाग्दैनन्, आधुनिक युगमा मानिसहरू नास्तिक बने भनिन्छ। जति मान्छे नास्तिक बन्छ एकदिन त्यसलाई ठक्कर लाग्छ, मानिसले आपत परेपछि समाधानको पाटा खोज्छ। तथापी हामीले विश्वास राख्यौ भने उत्तम फल प्राप्ती हुन्छ।
वसन्त पञ्चमीका दिन हामीले प्रयोग गरेका सरसामानहरूमा पनि ख्याल गर्नुपर्छ। अहिले कम्प्युटरको जमाना छ, हात हातमा फोन छ। हाम्रा सामाग्रीहरू हरेक चीजहरूको पुजन गर्नु भनेको त्यो चिजप्रति समर्पित छु भनिएको हो। पुजन, भक्ती र भावले लक्ष्य चुम्न सहयोग गरोस भनेर नै ती चिजको पुजा गरिएको हो।
हजुरले पूजा गर्दा सर-सामग्रीमा ध्यान दिनुपर्छ भन्नुभयो। सामाग्रीहरू के-के प्रयोग गर्नुपर्छ ,पूजाका विधिहरू केके हुन्?
माता सरस्वतीको पूजा गर्दा विशेषगरी दियो, कलश, गणेशको पूजा अनिवार्य गर्नैपर्छ । आफ्नो अफिसहरू वा घरमा गर्दा पनि दियो, कलश राखेर गणेशको पूजा गर्नैपर्छ। दायाँ हातपट्टी आशन अथवा पूर्व फर्केर पूजा गर्न बस्नुपर्छ। कर्ताले र आफ्नो दायँपट्टी दियो बालिन्छ र बीचमा गणेश स्थापना गरिन्छ। त्यसभन्दा पछाडि कलशमा पानी फूल राखेर दिप, कलश र गणेशको पूजा गरिन्छ। लामा लामा मन्त्रहरू हुन्छन, तीनको उच्चारण गरिन्छ।
त्यसपछि गणेशको भन्दा अगाडि सरस्वती माताको मूर्ति वा फोटा राख्नुपर्छ। तर मूर्ति र फोटामा दुईवटा प्रभाव हुन्छन्। फोटा राख्नुहुन्छ भने त्यति आपत्ति रहेन। यदि मूर्ति राख्नुहुन्छ भने प्राण प्रतिष्ठित हुनुपर्छ। बिना प्राण प्रतिष्ठा गरेका मूर्तिहरू अर्थात बजारबाट किनेर ल्याएर त्यही दिन राखेर पूजा गर्दा त्यसमा शक्ति विस्थापित हुँदैन्। त्यसलाई जगाउनुपर्छ । एउटा लामो मन्त्र हुन्छ त्यसले विज्ञ गुरुहरूबाट सरस्वतीको प्राण प्रतिष्ठा गर्नुपर्छ।
गुरुहरूले जगाइदिनुहुन्छ र त्यो चलायमान भयो भन्ने विश्वास गरिन्छ र मूर्ति पूजा गर्दा विशेष लक्ष्मी प्राप्ती गर्ने र स्थिर सरस्वती प्राप्त गर्न उभिएका मूर्तिहरूभन्दा बसेका मूर्ति किन्दा राम्रो मानिन्छ। त्यसैले माता सरस्वतीको बसेको फोटो, मूर्तिलाई प्राण प्रतिष्ठा गरेर त्यसको विधिवत रुपमा चन्दन, अक्षता फूलपातीले मूर्तिको पूजन गरिन्छ। र पेशासँग सम्बन्धित सामग्रीहरूको पूजा गर्नपर्छ। वर्षभरी नै मेरो पेशा राम्रो होस् भन्दै कामना गर्दै आफ्नो पेशा अनुकुलको सामाग्रीको पूजा गर्ने र सकिन्छ भने सरस्वतीको जुन बन्धना स्तुती गाइन्छ, त्यो गाउनु राम्रो हो।
माता सरस्वतीले हातमा लिएका विभिन्न साधनहरू छन्। ती मध्ये बुझ्नैपर्ने चाँही चारवटा चिजहरू छन्। एउटा हातमा विणा, अर्को हातमा स्फटिकको माला, अर्को हातमा पुस्तक र अर्को हातमा अभय मुद्रा बोक्नुहुन्छ। त्यसैले हामी माता सरस्वतीको भक्ति गर्ने हो भने यी चिजपनि ल्याएर पूजा गर्नुपर्छ।
विद्यार्थी नभएपनि विद्या त जन्मदादेखि नै नमरेसम्म आर्जन गर्ने चिज हो। तसर्थ ज्ञान गुण दिने र लिने काम जीवन्त रुपमा चलिराखेको हुन्छ। ती चार चीजको पूजा एवम माता सरस्वतीको पूजा गर्नु राम्रो हो। सकिन्छ भने त्रिकन्या, पञ्चकन्याहरूलाई माल्यार्पण गर्ने, टीकाटालो गरिदिने, मिठो फूल प्रसाद ग्रहण गराइदिने गर्नुपर्छ। र त्यो दिन माछा मासुहरू नखाने बेलुका माता सरस्वतीको स्तुति गान गर्ने गर्नुपर्छ।
उहाँले चारवटा हातमा बोक्नुभएको भएको चार सामग्रीहरूको विशेषता पनि छुट्टै होला नि?
विणा माता सरस्वतीले बोकेकाले नाच्ने, गाउँने, बजाउने एवम संगीत साहित्यका सीपका धनीले पनि माता सरस्वतीको पूजा बढी गर्नुपर्छ भन्ने लाग्छ। उहाँको सहयोग प्राप्त भएन भने कलाकारहरू सप्रिदैनन्। कलाकारको प्रतिनिधित्व विणाले गर्छ। अर्को हातमा भएको पुस्तक भनेको चाँही शिक्षाको प्रतिक हो। विद्यार्थीहरूको स्मरणशक्ति तेज होस् भनेर पुजा गरिन्छ।
अर्को स्फटिकको माला बोक्नुहुन्छ। स्फटिक भनेको पारदर्शीताको प्रतिक हो। सरस्वतीले सेतो बस्त्र धारण गर्नुहुन्छ र कमलमाथि बस्नुभएको र हाँसमा सवार गर्नुहुन्छ। त्यसैले त माता सरस्वतीको प्रतिक भनेको सेतो हो। सेतो रङ्ग भगवतीको हो, सेतो भनेको सफा हो। हरेक व्यक्तिको सोच पारदर्शि हुनुपर्यो। रिस उठ्यो भने त्यसलाई पैतालाले थिच्न सक्नुपर्यो अनि मात्र मनमा सङलो भाव सृजना हुन्छ।
त्यसैले सेतो बस्त्रको प्रयोग गर्नुपर्छ भनेर स्फटिकको माला पूजा गरिन्छ। अर्को भनेको अभय मुद्रा हो, त्यो भनेको डरबिनाको मुद्रा हो। काम गर्दा हिम्मत वा आँट भएन भने परीक्षा पास गरिन्छ, त्यसैले यसको पूजा गर्नुभनेको हो।
पूजा गर्दा के-के मन्त्रहरू उच्चारण गर्नुपर्छ?
माता भगवतीको स्तुती गर्ने मन्त्र धेरै लामा हुन्छन्। विशेषगरी स्तुति गान गर्नुपर्छ। व्रम्हाकी स्वरुप भएकी भगवती सरस्वतीको १२ वटै स्वरुपलाई एकैपटक नमन गरेर स्तुती गान गाउनुपर्छ।
युवा पुस्ताहरूमा नास्तिकपन बढ्दो देखिन्छ। यसले धर्म सस्कृतिको संरक्षण र नयाँ पुस्तामा आस्था कसरी ल्याउन सकिएला?
हामी विदेशी तामझामहरूलाई भित्राइरहेका छौ, आफ्ना पुरातन संस्कृतिहरूलाई बिर्सिदै गइरहेका छौ। जन्म दिन मनाउँदाको क्षणलाई नै हेरे पुग्छ। जन्मदिनको दिन त आफ्ना अष्ठ चिरन्जिवीहरूको पूजा गरेर, पाठ गराएर बर्षदिन भरीको समय शुभ रहोस भनेर कामना गर्नुपर्ने हो। ग्रहहरूको शान्ति गराउने हिजोको जमानामा आज विभिन्न बस्तुहरू मिक्स गरिएका केक ल्याएर रमाइलो गर्छौं।
अनि त्यो केक काटेर खाने क्रममा सबैभन्दा पहिले बत्ति बाल्नुपर्ने हो तर जब केक काट्ने बेला भयो बत्तिलाई फुकेर निभाउँछौं। बत्ति त ज्वलन्त हुनुपर्यो नि, निभ्नु भएन। बत्ति जलेर आफूलाई उज्यालो दिलाओस भन्ने हो। हरेक व्यक्तिले आफ्नो ज्ञानको ज्योति छर्नु भनेको बत्ति बाल्नु हो। तर हाम्रो समाजमा पाश्चात्य संस्कृति बढ्न थालेको छ। नौ वटा ग्रहहरू घुम्दै जाने क्रममा सबै मान्छेलाई सुखैसुख हुँदैन। एकदिन दुःख हुन्छ। दुःख भएपछि त्यो मान्छेलाई ठक्कर जब लाग्छ उ जति नास्तिक होस् उ कुनै पनि माध्यम अपनाएर आस्थाका देवी देवताकोमा ज्ञान लिन जान्छ। तुलनात्मकरुपमा धर्म संस्कृतीप्रति आस्था घटेकै हो।
पाँच भाई छोरा जन्मिदा एक भाई आस्तिक र अरु नास्तिक हुँदा उसले अरु भाइलाई मोटिभेट गर्नसक्छ। आगोको झिल्का ठुलो चाइदैन सानो थोरै शक्ति भएपनि त्यसले जलाएर त्यो उज्यालोमा अरु मान्छेलाई ल्याउन सक्छ भन्ने विश्वास गर्न सकिन्छ। तर यसमा चाँही राज्यले पनि नीति ल्याउनुपर्छ।
धर्म संस्कृतीको संरक्षणको विषयलाई राज्यले कतिको प्राथमिकतामा राखेको छ जस्तो लाग्छ?
राज्यले कानून निर्माणमा कमी गरेको छैन् होला। संविधानमा लेखिदाखेरी धर्म संरक्षणका खातीर बहुपार्टीको प्रतिनिधित्व भएको देखिन्छ। तर धर्म संस्कृतीप्रतिको संरक्षणमा व्यवहारिक रुपमा सरकारी तवरबाट केही कमजोरी भएको छ। पाश्चत्य मुलुकहरूबाट प्रतिपादित भएका धर्म गुरुहरू, पादरीहरूसँगको साँठगाँठ भएको देखिन्छ।
धर्म संस्कृतीको संरक्षणमा कागजी प्रकियामा जति उल्लेख गरिएको छ व्यवहारिक रुपमा केही कमजोरीपन देखिएकै छ। यसमा हामीले राज्यलाई घचघच्याउनुपर्छ। राज्यले गरेर भन्दा पनि राज्यप्रति उत्तरदायी हामी जनताहरूको आवाज त्यहाँ बुलन्द हुनैपर्छ।
(नेपाल न्युज बैंकका लागि प्रमिला कार्कीले (ज्योतिषाचार्य) घनश्याम चापागाईंसँग गरेको कुराकानी)