पोखरा महानगरका मेयर धनराज आचार्यले बिहीबार नगर प्रमुखका रुपमा सपथ लिएका छन्।
नगर प्रमुखको सपथ लिइसकेपछि पोखराको बुलौदीमा अवस्थित सहिद पुष्पलाल श्रेष्ठको मूर्तिमा माल्यार्पण साथै पोखरालाई फूलैफूलको सहर बनाउने भन्दै फूलको बिरुवा रोपेर पदभार पनि ग्रहण गरिसकेका छन्।
मेयर आचार्यलाई बधाई दिने क्रम जारी छ। पदभार ग्रहण गर्दै मेयर आचार्यले दुई बोल्ड निर्णय पनि सार्वजनिक गरेका छन्।
सिम्बोल अफ पोखरा बनाउन आह्वान गर्ने र गरिब परिवारका बच्चालाई पोषण भत्ता दिने निर्णय सार्वजनिक गरेका छन्। अर्को पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ननका लागि संघ सरकारलाई पत्र लेख्ने भन्ने छ।
पोखरा महानगरका ३३ वडाका प्रतिनिधिले सपथ लिएर पदभार ग्रहण गरिसकेका छन्।
बुधबार मात्रै पूर्व मेयर मानबहादुर जीसीले सरकारी क्वाटर छोडेर डेरामा सरे। भदौको १ गते ब्रेन ह्यामरेज भएपछि अस्वस्थ जीसीले आफ्नो कार्यकाल पूरा गरे। उनी अहिले पनि अस्वस्थ नै छन्।
साेही क्रममा पूर्व मेयर जीसीकी छोरी अञ्जु जीसीले मेयर धनराज आचार्यलाई भावुक पत्र लेखेकी छन्।
निर्वाचित भएर आएपछि राजनीतिक दलका कार्यकर्ता, व्यापारीको दबाब आउने उल्लेख गर्दै उनले त्यही दबाबले अस्पतालको बेडसम्म पुर्याउन सक्ने उनले लेखेकी छन्।
वर्षौँदेखि महानगरमा जरो गाडेर बसेका कर्मचारीले काममा असहयोग गर्ने बताउँदै सबैको दबाब सहन तयार हुन उनले सुझाव दिएकी छन्।
उनले लेखेकी छन्, ‘तपाईंले केही राम्रो योजना ल्याएर आउनुहुन्छ नि, त्यसपछि सुरु हुन्छ सबै खनिन, कास्कीका मै हुँ भन्ने नेताहरुबाट अहो यसले राम्रो काम गर्ने भयो, यसको उचाईं बढ्ने भयो। अर्को चुनावमा यसलाई जिताउछन् भन्ने सोच्न थाल्छन्।’ राम्रो काम गर्न खोज्दा गिराउन लागिपर्ने उनको पत्रमा उल्लेख छ।
मेयरलाई भेट्न पोको भित्र अनेक टुनामुना जालझेल हालेर पनि आउने उनले लेखेकी छन्। उनले स्वकीय सचिव विज्ञ नराख्नसमेत सुझाव दिएकी छन्। कमजोरा हुने बित्तिकै दुनो सोझ्याउन हिँडिहाल्ने उनले उल्लेख गरेकी छन्।