उद्योग व्यवसायी हुँदै वीरगञ्ज महानगरपालिकाको एक पटक प्रमुख भएका विजयकुमार सरावगी हार नजिक पुगेका छन्।
मतगणना सकिन लाग्दा उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह झण्डै दोब्बर मतले अघि छन्।
समाचार तयार गर्दासम्मको विवरणअनुसार सरावगीले २० हजार २०५ मत पाएका छन्। प्रतिस्पर्धी राजेशमान सिंहले ३९ हजार ६६१ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले जनाएको छ।
सरावगी एमाले र सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।
२०७४ मा सरावगी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। तर स्थानीय तह निर्वाचनअघि उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक हातले टीका लगाउँदै स्वागत गरे भने अर्को हातले प्रमुख पदको उम्मेदवारको टिकट दिए।
सिंह भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट २०७४ मा उम्मेदवार थिए। त्यसबेला उनी तेस्रो भएका थिए।
यस पटक भने उनी पहिले जितेका सरावगीलाई हराउँदै जित सिंह नजिक पुगेका हुन्।