चन्दननाथकी उपमेयरकाे घाेषणा : आफ्नो पारिश्रमिक विपन्नका लागि खर्चिने

चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले आफूले पाँच वर्षमा पाउने सेवा सुविधालाई एकल महिला, दलित र गरिब विपन्न समुदायका लागि खर्च गर्ने बताएकी छिन्।

साेमबार बिहान उनले आफ्नाे कार्यकक्षमा एक पत्रकार सम्मेलन गर्दै उक्त घाेषणा गरेकी हुन्।

'मैले पाँच वर्षमा पाउने सेवा सुविधा मेरो नभई मेरा नगरबासीको हाे,' उनले भनिन्, 'याे रकमकाे एक काेष निर्माण गरी एकल महिला, दलित, गरिब तथा विपन्न परिवारलाई सहयाेग गर्नेछु।'

उनले २०७९ वैशाख ३० गते भएको निर्वाचनका लागि नेपाली कांग्रेसले आफूलाई प्रतिनिधिका रुपमा उपमेयर पदमा उठाउँदा जनताले त्यसलाई अनुमाेदन गर्दा काम गर्ने अवसर जुरेकाे बताइन्।

'हामी प्रतिनिधिका लागि जनताको माया नै सबथाेक हाे,' उनले भनिन्, 'सार्वजनिक सेवाकाे मञ्चमा पुगाउने चन्दननाथ नगरबासी नै मेरा आदर्श हुन्।'

उनले विद्यमान कानुनले व्यवस्था गरे अनुरुप उपमेयरको हैसियतले प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको प्रभावमा नपरी न्याय सम्पादन गर्ने प्रतिवद्धता जनाइन्।

'मेराे कार्यकालमा देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदैसम्मको प्रयत्न गर्नेछु,' उनले भनिन्, 'जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काम छिटो छरितो, पारदर्शी, भएरहित र निष्पक्ष बनाउन हदैसम्मको प्रयास गरिनेछ।'

प्रकाशित मिति: : 2022-05-23 11:24:00

प्रतिकृया दिनुहोस्