कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बेनु शिवाकोटी वडासदस्य पदमै पराजित भएका छन्।
शिवाकोटी कमल -६ को खुल्ला वडासदस्य पदमा नेकपा एमालेका उम्मेदवार थिए।
एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्रका रुपमा चिनिएका शिवाकोटी २४ मत अन्तरले पराजित हुन पुगे। ०७४ सालको स्थानीय निकाय निर्वाचनमा उनी कमल गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।
शिवाकोटी तत्कालीन लखनपुर गाविसको दुई कार्यकाल उपाध्यक्ष पदमा रहेरसमेत काम गरेका थिए। मुलुक नयाँ संरचनामा गए पश्चात तत्कालीन लखनपुर गाविस र तोपगाछी गाविसको भुगोल जोडेर कमल गाउँपालिका बनाइएको हो।
वडासदस्य पदमा पराजित भएसंगै उनको जिल्ला समन्वय समितीमा जाने सपना तुहिएको छ।
ओलीको क्षेत्रमा एमाले कमजोर !
एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा कमल गाउँपालिका, दमक नगरपालिका, गौरादह नगरपालिका र गौरीगंज गाउँपालिका गरी ४ वटा पालिका पर्छन्।
गौरादहमा बाहेक अन्य तीन पालिकामा एमाले इतरका दलले प्रमुख पदमा अगाडि/विजयी हासिल गरेका छन्।
कमल गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका उम्मेदवार हुकुमसिं राई अध्यक्ष पदमा निर्वाचित भएका छ्न्। उनले एमालेका उम्मेदवार भिम राइलाई पराजित गरे।
दमक नगरपालिकामा गठबन्धनबाट राप्रपाका राम थापा नगरप्रमुख पदमा निर्वाचित भएका छन्।
गौरीगंजमा कांग्रेसकी फुलवती राजबंशी अध्यक्ष पदमा अग्रता लिइरहेकी छिन्। यसरी हेर्दा ओलीको निर्वाचन क्षेत्रमा एमालेको जनमत खस्केको पाइन्छ।