महोत्तरीमा माओवादी केन्द्र खुम्चियो, अघिल्लो निर्वाचनमा जितेका सबै पालिका गुमायो

माओवादी केन्द्रले महोत्तरीमा २० वर्षे लामो विरासत गुमाएको छ।

तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादी केन्द्रले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो  ।

कतिपयले निर्वाचित जनप्रतिनिधिहरूको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नुपरेको विश्लेषण गरेका छन्। 

तर माओवादी केन्द्रले भने पाटीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नु परेको बत्ताउँदै आएको छ।

माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका पाटीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकार गर्छन्। उनी भन्छन्, 'हामीले हामी भित्रै मिलाउन सकेनौं, जसको परिणाम आज भोग्दै छौं। तर, यसबाट केही सिकेका छौं।'

यतिवेला माओवादी पराजित हुँदा सबैभन्दा बढी खुसी नेकपा एमाले र नेपाली काङ्ग्रेस छन्। लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धि ठानेका छन्।

शीर्ष नेता गिरिराजमणि पोखरेल पनि महोत्तरी कै जनप्रतिनिधि हुन अझ पोखरेलको वडाबाट नै माओवादी केन्द्रले पराजय बेहोर्नुपर्‍यो। 

'माओवादीहरूले पाल्दै आएको अहमतालाई पनि परास्त गरेका छौं,' नेकपा एमालेका स्थानीय नेता दिलीप थापाले भने।

अघिल्लो निर्वाचनमा  माओवादी केन्द्रले बर्दिबास सहित गौशाला नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिकामा जित हासिल गरेको थियो।

अहिलेसम्मको मतपरिणामअनुसार तिनै रामगोपालपुर, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र गौशाला नगरपालिका माओवादी केन्द्रले गुमाइसकेको छ।

माओवादी केन्द्र बर्दिबास जस्तो लाल किल्लाबाट नै किन पराजित भयो भन्ने विषयमा पाटीभित्र समीक्षा र बहस हुन थालेको छ। निर्वाचनमा किन लज्जास्पद हार बेहोर्नु पर्‍यो भन्ने विषयमा नेताहरूको आफ्नै आकलन छन्।

माओवादी भित्र अहिले जिल्लामा दुई धार छ। पूर्व जनमोर्चाहरु एकातिर छन् भने संस्थापन पक्ष अर्कोतिर छन्। टिकट वाडफाडमा समेत महोत्तरीमा यी दुई धारबीच निक्कै संघर्ष चल्यो।

अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्व जनमोर्चाका नेताहरूले नै निर्वाचनलाई कमजोर बनाएको आरोप प्रत्यारोप चल्न थालेको छ।

जनमोर्चा धारका समूहहरू अझै नेता गिरिराजमणि पोखरेललाई स्थापित बनाउन चाहन्छन् तर अर्को पक्ष भने पोखरेललाई अब स्वीकार गर्न नसकिने बत्ताउँदै आएको छ।

यदि बर्दिबास नगरपालिकामा राजु खडकाले जितेको भए नेता पोखरेललाई विस्थापन गरेर प्रचण्डको उदय हुने आकलन गरिएको थियो। तर लगातार २०६४  देखि नै जित्दै आएका पोखरेललाई  पाटीभित्रैका केही नेताहरू हटाउन लागिपरिरहेको स्रोतको भनाइ छ 

तर स्थानीय तहको निर्वाचनले सबैको आकलनलाई ठिक विपरीत बनाइदिएको छ। रणनीतिअनुसार काम नभएपछि बरु महोत्तरीबाट माओवादी खुम्चिएको छ।

एकातिर माओवादी केन्द्रले बोकेको लामो विरासत र अघिल्लो निर्वाचनमा जितेका पालिकाहरूको साख बचाउन नसक्नुमा गिरिराजमणि पोखरेलको नै हात रहेको पाटीभित्रैबाट सङ्काउपसङ्का हुन थालेको छ। विशाल बस्नेत 

प्रकाशित मिति: : 2022-05-21 19:56:00

प्रतिकृया दिनुहोस्