गण्डकी प्रदेशका ८५ पालिकामध्ये १९ पालिका उपप्रमुखले दोश्रो पटक उम्मेदवारी दिएका थिए। भइरहेकाे पदबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका उपप्रमुखमध्ये ७ जना पराजित भएका छन्।
१२ जना भने विजयी भएका छन्। गोरखाको गण्डकी गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीसहित शहिद लखनको उपाध्यक्ष इन्दिरा तिवारी, बारपाक सुलिकोटको उपाध्यक्ष सनमाया गुरुङ दोश्रो पटक विजयी भएकी छिन्।
यस्तै, सिरान्चोक गाउँपालिका उपाध्यक्षमा रिता देवकोटा र आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली पनि पुनः विजयी भएकी छिन्। तर, गोरखाकै धार्चे गाउँपालिका उपाध्यक्ष फूलमाया गुरुङ पराजित भइन्।
यता, तनहुँको बन्दिपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङ पनि पराजित भएकी छिन्। ऋषिङकी उपाध्यक्ष गीनुमाया थापा, म्याग्देका बालकृष्ण घिमिरे र भीमादका उपमेयर सारदा खनाल भने विजयी भइन्।
कास्कीको रुपा गाउँपालिकामा उपाध्यक्ष लालसुब्बा गुरुङ पुनः निर्वाचित भएकी छिन् भने पोखरा महानगरमा दोहोर्याउन खोजेकी मन्जुदेवी गुरुङको गणना सकिएको छैन।
स्याङजामा कालिगण्डकीको उपाध्यक्ष सावित्रा कोइराला दोश्रो पटक निर्वाचित हुँदा पुतलीबजारका महेश पुरी र गल्याङकी देवीसरा थापा पराजीत भइन्।
दोहोर्याएर मनोनयन दर्ता गरेकी नवलपुरकी एकमात्र उपमेयर देवचुली नगरपालिकामा दोश्रो पटक पनि विजयी भएकी छिन्। मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा ढिकी गुरुङ पुनः निर्वाचित भएकी छिन्।
बागलुङ ढोरपाटनकी उपमेयर करमती पुन र पर्वतको फलेबास नगरपालिका उपमेयर मन्जु अधिकारी पराजित भएका छन्। यस्तै, उपाध्यक्षबाट अध्यक्षमा बढुवा हुन खोजेका दुईजना पनि पराजित भए।
कांग्रेसबाट मुस्ताङको थासाङ गाउँपालिका उपाध्यक्ष बालकुमारी शेरचन र एमालेबाट स्याङजाको अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष चीनमाया गुरुङ अध्यक्षमा पराजित भएका हुन्।