मोरङको बेलबारी नगरपालिका वडा नं.४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।
कांग्रेसका लोकप्रिय नेता डा.सुनिल शर्माको घरसमेत रहेको सो वडामा कांग्रेस उम्मेदवार चन्द्रबहादुर लिम्बुले शानदार विजय प्राप्त गरेका हुन्। सो वडामा कांग्रेसको प्यानलनै विजय भयो।
२४८९ मतसहित कांग्रेस उम्मेदवार लिम्बू वडाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामकुमार राईले ८५३ मत प्राप्त गरेका छन्।
यसअघिका निर्वाचित वडाध्यक्षसमेत रहेका माओवादी उम्मेदवार राईलाई १६३६ मतान्तरले पराजित गर्दै कांग्रेस उम्मेदवार लिम्बू वडाध्यक्षमा निर्वाचित भएका हुन्।
७००९ मतदाता रहेको सो वडामा ४८०१ मत खसेको थियो। वडाध्यक्ष पदमा छ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। चुनावी मैदानमा रहेका एमालेका सुजित कुमार बस्नेतले ८४७, जसपाका रमेश गुरुङले ८०, मंगोल नेशनल अर्गनाइजेशनका गोल्छा राईले ६२ र राप्रपाका नविन कोइरालाले ४२ मत पाए।
वडाध्यक्षका बाँकी पाँच उम्मेदवारले कूल सदर मतको ४३.०८ प्रतिशत मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार लिम्बू एक्लैले ५६.९१ प्रतिशत मत प्राप्त गरेका हुन्। त्यस्तै, वडा सदस्यहरुमा पनि कांग्रेसका दिनेश चौधरी, दिनेश कुमार सुवेदी, भीमकुमारी गुरुङ र यसोदा मगराती विजयी भएका छन्।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका कांग्रेस महासमिति सदस्य डा.शर्मा सोही वडाबासी हुन्। गत प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नं.३ मा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका डा.शर्माले सो क्षेत्रका नागरिकलाई विभिन्न सहयोग गर्दै आएका छन्।
गरिब विपन्नलाई निःशुल्क उपचार र निःशुल्क चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्रदान गरेबापत सो क्षेत्रमा डा.शर्मा लोकप्रिय छन्। उनको प्रभावले पनि सो वडामा कांग्रेसले सानदार विजय प्राप्त गरेको स्थानीयबासी बताउँछन्।