हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले पदभार सम्हाल्दै गर्दा गरेका निर्णयले जनता प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिएकाे छ।
शाहीले नागरिकलाई राज्यले दिने शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा सुविधाबाट बञ्चित भइरहेकाे बेला पहिलाे निर्णय नै लाेक कल्याणकारी गरेकाे बताए।
उनले भने, 'हामीले हिमा गाउँपालिकाका सम्पुर्ण घरधुरीका जनताकाे लागि नि:शुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरेका छाैं।'
२०७४ सालकाे स्थानीय तह निर्वाचनमा जम्मा ९५ मतले पराजित भएका शाही त्यसयता निरन्तर जनताकाे सेवामा खटिएका थिए।
जनताका गुनासा सुन्ने, समस्याकाे पहिचान गर्ने, तिनकाे निराकरणका लागि उपाय निकाल्ने जस्ता कारणले उनी जनताकाे प्रिय बन्दै गएका थिए। परिणाम जनताले उनलाई औधि रुचाएर विजयी गराए।
फराकिलो मतान्तरमा विजयी उनी जनताले गुनासाे गर्ने ठाउँ नरहनेगरि काम गर्ने बताउँछन्। 'त्यसैले साठी (६०) वर्ष माथिका जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला, गरिब, विपन्न, अपांग तथा असहाय व्यक्तिहरुका लागि नि:शुल्क एम्बुलेन्स सेवा संचालन गर्ने निर्णय गरेका छाैं।'
उनका अनुसार नमुना परिक्षणकाे लागि श्री भैरव आधारभुत विद्यालय हिमा ३ जाेगिबाडामा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने, पालिकाका सम्पुर्ण वडा कार्यालय, सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था र प्रहरी चौकीहरुमा फ्रि वाइफाइ र सी.सी. क्यामरा जडान गरिनेछ।
उनले हिमाका सम्पूर्ण सरकारी कार्यालय र सामुदायिक विद्यालयहरुमा विद्युतीय हाजिरीकाे व्यवस्था गरि प्रशासनिक र शैक्षिक काम कारबाही चुस्त राखिने बताए।