मतगणनाको क्रममा बढी मतपत्र देखिएको भन्दै मोरङको रङ्गेली नगरपालिकामा झडप भएको छ। मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरुबीच झडप भएको हो।
मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरुमाथि कार्यकर्ताहरुले ढुुङ्गामुढा गरेपछि झडपको अवस्था उत्पन्न भएको हो। मतगणना स्थलको सुरक्षा र अवस्था नियन्त्रणका लागि बल प्रयोग गर्ने क्रममा प्रहरीले तीन राउण्ड अश्रु ग्याँस प्रहार गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।
उनकाअनुसार झडपमा परि ३ जना प्रहरीसहित ६ जना सामान्य घाइते भएका छन्। हाल स्थिती समान्य बन्दै गएको छ। रङ्गेली नगरपालिका वडा नं– ७ को मतगणनाको क्रममा १ सय ७ मत बढी फेला परेपछि आज बिहानैदेखि नेकपा (एमाले) बाहेकका राजनितिक दलका कार्यकर्ताहरुले विरोध गर्दै आईरहेका थिए।
कार्यकर्ताहरुको विरोधका कारण रङ्गेलीको अन्य वडाको मतगणना समेत स्थगित भएको छ। कुल ३ हजार २ सय ४२ मत खसेको रङ्गेली–७ मा मतगणनाको क्रममा ३ हजार ३ सय ४९ मत फेला परेपछि विवाद सुरु भएको थियो।
कम्प्युटरमा मत प्रबिष्टिका क्रममा प्राविधिक गडबडी भएपनि समस्या बल्झिएको रङ्गेलीका निर्वाचन अधिकृत रामहरी काफ्लेले बताएका छन्। उनले प्राविधिक त्रुटिका कारण कम्प्युटरमा बढी मत प्रविष्टि भएको स्वीकार गरेका छन्।
‘हामीले वडा नं ७ बाट १० वटा मतपेटिका बुझिलिएका थियौं,’ उनले भनेयो,‘तर, मतगणना गरी कम्प्युटरमा प्रविष्टि गर्ने क्रममा भएको प्राविधिक त्रुटिका कारण १ सय ७ मत बढी प्रविष्टि भएको रहेछ।’ मतगणना स्थलमा हाल ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।