को हुन् नरुलाल चौधरी, जसले घोराहीमा गठबन्धनलाई हराउँदै फेरि जिते

गठबन्धनलाई हराउँदै नरुलाल चाैधरी विजयी 


वि.स. २०२४ साल वैशाख ३ गते घोराही उपमहानगरपालिका–२ रामपुरमा जन्मिएका नरुलाल चौधरी बुबा विलरा र आमा मन्धरी चौधरीको कान्छा छोरा हुन। स्नातकोत्तर उत्र्तिण गरेका चौधरीका ६ जना दिदी बहिनी छन्।

चौधरी नेकपा (एमाले)को वडा, गाउँ, क्षेत्रका विभिन्न पदहरूमा रहेर काम गर्दै दाङ जिल्ला अध्यक्ष भई अहिले पोलिटव्यूरो सदस्यसम्म पुगेका छन्। उनी २०५४ सालमा तत्कालिन रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएर एक कार्यकाल काम गरे। 

गाविस अध्यक्ष भएका बेला बिकट रामपुरमा उनले गरेका भौतिक पुर्वाधार विकास, सामाजिक कामहरूले पनि उनलाई चिनाउन र अघि बढ्न सघाएको मानिन्छ। पछि त्यहि रामपुर उपमहानगरपालिकामा गाभिएको हो। गाविस अध्यक्ष हुँदा चौधरीको नेतृत्वमा रामपुरका विकट ठाउँहरू माले, सोरठी लगाएतका ठाउँमा विद्यालय खोलेका थिए। 

खानपानी, सिंचाइका संरचनाहरू निर्माण भए। पछि तत्कालिन जिल्ला विकास समितिमा सदस्य रहँदा पनि रामपुर क्षेत्रको विकासमा ठूलो भूमिका खेलेको चर्चा हुने गर्छ। रामपुरलाई कृषिको पकेट क्षेत्र घोषणा बनाउन उनको महत्वपूर्ण भूमिका छ। 

गाबिस अध्यक्ष हुँदा चौधरीले गाउँबाट घोराही बजार तरकारी बेच्न आउने र घर फर्किएर जनताको काम गर्ने दैनिक थियो। कृषि पेशा आफ्नो मन पर्ने पेशा भएको उनी बताउने गर्छन्। उनले तरकारी खेतीका साथै कुखुरा पालन र मौरी पालनमा समेत अनुभव संगालेका छन्। 

०७४ को स्थानीय तहको निर्वाचनमा घोराहीको नगर प्रमुख भएपछि पनि उनले मौरी पालन व्यवसायलाई निरन्तरता दिदै आएका छन्। जस्ले गर्दा किसानहरूलाई उत्प्रेरणा हुने गरेको छ। किसानीका अनुभवन, समस्या र अबस्था बुझेका चौधरीलाई किसानहरूका समस्या बुझ्न र समाधान गर्न निकै सहज हुने गरेको छ। 

सानो उमेरमा कमैयासमेत बसेका चौधरीले शिक्षक र पत्रकारको भूमिकामा पनि आफ्नो अनुभब संगालेका छन्। चौधरीले राजनीतिमा प्रवेश गर्नु अगाडि दुई वर्ष शिक्षक र दुई वर्ष रेडियो नेपालमा जागिर समेत गरे। 

रेडियो नेपालमा थारू भाषामा समाचार पढ्ने जागिर छोडेर उनी गाविस अध्यक्षमा चुनाव लड्न गाउँ फर्किएका थिए। गाविस अध्यक्ष पनि भए र ०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भए। 

फेरि उनी ०७९ सालको स्थानीय तहको निर्वाचनबाट पाँच वर्षलाई घोराहीको नगरप्रमुखमा विजयी भएका छन्। नेकपा (एमाले)का सच्चा, बफादार, बौद्धिक, सालिन, भद्र र इमान्दार नेताका रूपमा परिचय बनाएका चौधरीले अघिल्लो पाँच वर्षमा देशमै चर्चा हुने गरी एक वडा, एक ताल निर्माण गरे। जसको चौतर्फी चर्चा हुने गर्छ। 

उनी फेरि पाँच वर्षका लागि घोराहीको नगरप्रमुख बनेका छन्।

प्रकाशित मिति: : 2022-05-19 06:47:00

प्रतिकृया दिनुहोस्