अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा (एमाले)ले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ।
जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई १ हजार ७८१ मतान्तरले पराजित गरे।
यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा थिए।
यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडा सहित प्रमुख/उपप्रमुख दुवै पद नेकपा एमालेले हात पारेको हो।
नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८७५मत पाएर विजयी बनिन्।
गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाइन भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८मतमा चित्त बुझाए।