सुनसरीको धरानमा विवादको कारण मतगणना स्थगित भएको छ।
वडा नम्बर २० को मतगणना भइरहँदा १८ वटा मतपत्र मतदान अधिकृतको हस्ताक्षर बिना भेटिएपछि स्थगित भएको हो। उक्त मतपत्र रद्द गर्ने निर्णयले वडा नम्बर २० मा माओवादी केन्द्र पराजित भएपछि विरोध सुरु भएको छ।
अहिले माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थल निर्वाचन अधिकृतको कार्यालयअघि प्रदर्शन गरिरहेका छन्। जसका कारण सबै वडाको मतपत्र स्थगित भएको छ।
माओवादी कार्यकर्ताले जनताले अभिमत दिएको मतपत्रले मान्यता पाउनुपर्ने माग गरेका छन्। मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने उनीहरू माग छ। साथै पुनः मतदान हुनुपर्ने पनि उनीहरूले बताएका छन्।
उक्त वडामा नेपाली कांग्रेसले ४ मतले वडा अध्यक्ष जितेको छ। तर, १८ मत मध्ये धेरै माओवादी केन्द्रले आफ्नो मत रहेको र आफ्नो पार्टीको जित हुने दाबी गरेको छ।
केही बेरअघि सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकले कानुन बमोजिम मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र रद्द हुने निर्णय भएको थियो। नेपाली कांग्रेसले जिते पनि निर्वाचन परिणाम घोषणा भएको छैन। अहिले मतदान स्थलमा नेपाली सेनासमेत खटाइएको छ।