जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार राजु र कांग्रेसकी रामदेवी विजयी

वैशाख १२ गते मनोनयनको अन्तिम समयमा नेपाली कांग्रेसले चन्दननाथ नगरपालिकाको मेयरको टिकट पदम बहादुर शाहीलाई दियो। 

२०७४ को निर्वाचनमा समेत अन्तिम समयमा टिकट पाउनबाट वञ्चित राजुसिंह कठायत यसपाली पनि मेयरको लाइनमा थिए।

अन्तिम समयमा आफूलाई अघिल्लो पल्ट जस्तै अन्याय भएको महशुस गरेका कठायतले आफू नेताको बँधूवा मजदुर नभएको भन्दै विद्रोही उम्मेदवारीको घोषणा गरे। यसैलाई मौका ठानेको नेकपा एकीकृत समाजवादीले राजुसिंहसँग चुनावी तालेमेल गर्यो।

लगातार दुई वटा निर्वाचनमा पार्टीले अन्याय गरेको देख्दा नगरपालिकाको कोर एरियाका जनाता कांग्रेस पार्टीप्रति रुष्ट बने।

कठायतको व्यक्तिगत प्रभाव र एकीकृत समाजवादीको बलले जनताको बीचमा गएका उनी दिनप्रतिदिन लोकप्रिय बन्दै गए। परिणाम उनी जितको नजिक पुगे।

वडा नम्बर एकमा लिड गरेका उनलाई वडा नम्बर तीन सम्म पुग्दा सहज थियो। 

माओवाीको प्रभाव रहेको र जीवन बुढा थापा पनि सोही क्षेत्रका उम्मेदवार हुँदा उनी पछि पर्नुलाई स्वभाविक रुपमा लिइयो।

वडा नम्बर चारको मत गणना हुँदै गर्दा कठायतले अग्रता लिए। बजार क्षेत्रमा प्रवेश गर्दा उनले लोकप्रिय मत पाए। कुल एक सय ८५ क्रियासिल सदस्य भएको कांग्रेसले बजारबाट जम्मा ८५ मत मात्रै पाउनु अनपेक्षित थियो।

कांग्रेसका लागि अनपेक्षित परिणामलाई भने बजारका जनताले कांग्रेसका टाउके नेतालाई सवक सिकाएको प्रतिक्रिया दियो।

कांग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान मेयर कान्तिका सेजुवाल, सविधानसभा सदस्य एवम् कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य दिनबन्धु श्रेष्ठ समेत रहेको नगरपालिकामा बलियो र भरपर्दो संगठन हुँदा पनि नेताको अकर्मण्यताका भएको प्रतिक्रिया मिल्यो।

सात नम्बर वडाको मत गणनासम्म आस पालिराखेको कांग्रेसलाई अन्तिम परिणामले निराश बनायो। आठमा आउँदा फेरि आशा जाग्यो। नौमा एमालेका धर्मेन्द्र रोकायाले राम्रो मल पाएपछि कांग्रेसलाई घाटा लाग्यो।

हरेक क्षेत्रबाट प्रतिनिधित्व गरि मेयरको उम्मेदवार बनेकाले आफ्नो भेगबाट आश लाग्दो मत पाउँदै गर्दा वडा नम्बर १० बाट कांग्रेसको उम्मेदवार बनेका पदम बहादुर शाहीलाई भने आफ्नै भेगले भोट दिन इन्कार गर्यो। 

एकातिर बागी उम्मेदवारको पिडा, अर्काेतिर आफ्नै घर, आगन र छरछिमेकले समेत नपत्याइदिएका शाहीले लोकप्रिय मत ल्याइकन पनि हार्नुपर्ने अवस्था आइलाग्यो।

पेशाले झण्डै ३० वर्ष वकालत गर्दै आएका शाही जतिको सक्षम उम्मेदवार अन्य पार्टीले जनतासामु उभ्याउन सकेका थिएनन्। 

उनको हार पार्टीका लागि सिकाई र जनताका लागि पछुतोको विषय हुने कुरा आगामी दिनमा समीक्षा हुने नै छ। अहिले भने नगरपालिकाको मत परिणाम हेरौं।

मेयरमा राजुसिंह कठायत कठायतले २ हजार ४ सय ३ मत ल्याएई विजयी भए। शाही झिनो मतान्तर ६२ ले पराजित हुँदा २ हजार ३ सय ४१ मत पाए। 

उपमेयरमा रामदेवी खड्काले २ हजार ८ सय ८ मत ल्यायर विजयी भइन्। उनका प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका भिम थापाले एक हजार ६ सय ८६ मत ल्याए। 

यस अघि २०७४ को निर्वाचनमा मेयरमा कांग्रेसबाट कान्तिका सेजुवाल र उपमेयरमा माओवादीबाट अप्सरादेखि न्यौपाने विजयी भएकि थिइन्।

नगरपालिकाका १० वटा वडामध्ये एक, दुई, चार, छ र आठ गरि पाँचवटा वडामा कांग्रेस, तीन, पाँच र नौ माओवादी र सात नम्बर वडामा नेकपा एकीकृत समाजवादीले जित हासिल गरेको छ।

प्रकाशित मिति: : 2022-05-18 11:06:00

प्रतिकृया दिनुहोस्