सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयर पदमा दोहोरिएका हस्त पुनले अधुरा कामहरु गर्ने अवसर पाएको बताएका छन्।
गुर्भाकोटमा नेपाली कांग्रेसबाट मेयर र उपमेयर दोहोरिएका छन्। नेपाली कांग्रेसका हस्त पुन ११ हजार ९७८ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन।
उनले निर्वाचन जिते लगत्तै अघिल्लाे कार्यकालमा अधुरा रहेका कामहरू पूरा गर्ने बताएका छन्। ‘मलाई भोट हालेर जिताउनु हुने सबै जनाप्रति धेरै–धेरै आभारी छु,’ चुनाव जितेपछि उनले भने,‘अघिल्लो कार्यकालमा बाँकी रहेका काम यसपटक पूरा गर्छु।’
त्यस्तै मैना विक ११ हजार ७४३ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी छन्।
उनीहरू दुवै जना २०७४ को स्थानीय तह निर्वाचनबाट पनि मेयर र उपमेयरमा निर्वाचित भएका थिए।
यसपटकको निर्वाचनमा मेयरमा एमालेबाट उम्मेदवार तिलकबहादुर खत्री १० हजार १६८ मत ल्याएर पराजित भए भने उपमेयरमा एमालेका उम्मेदवार सुशिला कुमारी विश्वकर्मा (सुनार) ले १० हजार २९९ मत ल्याएर पराजित भएकी छन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको गृहपालिका गुर्भाकोटका १४ वडामध्ये १० वडामा पनि नेपाली कांग्रेसले अध्यक्ष जितेको छ।
वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३ मा कांग्रेसले अध्यक्ष जितेको छ भने १, १०, ११ र १४ मा एमालेले जितेको छ। पहिलो कार्यकालमा गुर्भाकोटमा विकासको जग बसालेको बताउँदै पुनले अब विकास गर्न चाहेका बाँकी काम पुरा गरिछाड्ने बताए।