सोमबार, १५ डिसेम्बर २०२५

स्थानीय तह निर्वाचनपछिकाे पहिलाे काराेबार दिन : सेयर बजार ८४ अंकले गिरावट

File photo
• • •

स्थानीय तह निर्वाचनपछिको पहिलो कारोबार दिन सेयर बजार नेप्सेमा एकै दिन ८४ अंकले गिरावट आएको छ।

मंगलबार अधिकांश कम्पनीहरूले नोक्सानी व्यहोरेका छन्।

मंगलबार नेप्से ८३ दशमलब ६१ अंकले घटेर नेप्से परिसूचक २२ सय ६५ दशमलब ५२ अंकमा पुगेर बन्द भएको छ। बिहान २३ सय ५० अंकबाट खुलेको बजार लगातार घटेर २२ सय ६५ अंकमा पुगेर बन्द भयो।

नेप्सेको सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अंकले घटेर चार सय ३८ दशलमव ६८ अंकमा पुगेको छ। घटेको बजारमा ३५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

अघिल्लो साता आइतबारदेखि बुधबारसम्ममा नेप्से एक सय ३० अंकले बढेको थियो भने बिहीबार १८ अंकले घटेको थियो।

स्थानीय तह चुनावसँगै बजार उकालो लाग्ने अपेक्षा गरिए पनि पहिलो दिननै बजारमा ठूलो गिरावटपछि लगानीकर्ता निरास बनेका छन्। नेप्सेमा मंगलबार सूचिकृत २२१ कम्पनीको सेयर कारोबार भएकोमा अधिकांश कम्पनीले घाटा बेहोर्नु परेको छ।

मंगलबार नेप्सेमा २०९ कम्पनीको सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले केही नाफा कमाउँदा चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ।

नकारात्मक सर्किट लाग्ने चार कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, लुम्बिनी जनरल इन्सुरेन्स वोमी माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!