महानगरपालिकामा गठबन्धनका दलबीच एकअर्कामा देखिएनन् इमान्दार

Breaknlinks
Breaknlinks

स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनले देशका ६ वटा महानगरपालिकामा भागबण्डा मिलाएर उम्मेदवारी दिएका थिए।

महानगरपालिकामा जित सुनिश्चित गर्न सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा), नेपालले गठबन्धन गरेका थिए। गठबन्धनमा सत्तामा सहभागी नभएको राष्ट्रिय जनमोर्चा पनि सहभागी थियो।

गठबन्धनमा रहेका दलमध्ये कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख, माओवादीलाई भरतपुर महानगरपालिकाको प्रमुख, एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख र जसपालाई वीरगन्ज महानगरपालिकाको प्रमुख भाग लगाइएको थियो।

यस्तै, कांग्रेसको भागमा वीरगन्ज, पोखरा र भरतपुरको उपप्रमुख, माओवादीको भागमा ललितपुरको उपप्रमुख, एकीकृत समाजवादीको भागमा काठमाडौंको उपप्रमुख र जसपाको भागमा विराटनगरको उपप्रमुख परेको थियो।

गठबन्धनले सहमतिअनुसार उम्मेदवारी दिए र गत वैशाख ३० गते निर्वाचन सम्पन्न भइसकेको छ। अहिले निर्वाचनको परिणामहरू आउन थालेको छ।

हालसम्मको मतगणनाले गठबन्धन गरी उम्मेदवारी दिइएको महानगरपालिकाहरूमा गठबन्धनका दलहरू एकआपसमा इमान्दार नभएको देखाएको छ। हरेक महानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका दुई भिन्न दलका उम्मेदवार रहेका थिए तर उनीहरूले प्राप्त गरेको मतमा भने निकै ठूलो अन्तर देखिएको छ।

काठमाडौं महानगरपालिकामा कांग्रेसले प्रमुखमा सिर्जना श्रेष्ठ र एकीकृत समाजवादीले उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उठाएको थियो। हालसम्मको मतगणनाअनुसार सिर्जनाले ५ हजार ११४ मत प्राप्त गरेकी छन् भने रामेश्वरले ३ हजार ४८ मत प्राप्त गरेका छन्।

काठमाडौं महानगरपालिकामा समान मत गणना हुँदा सिर्जनकोभन्दा रामेश्वरले २ हजार ६६ कम मत प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिको प्रमुखमा कांग्रेसले चिरीबाबु महर्जन र उपप्रमुखमा माओवादीले बाबुराजा बज्राचार्यलाई उठाएको थियो। हालसम्मको मतगणनाअनुसार चिरीबाबुले ७ हजार २१७ मत र बाबुराजाले २ हजार २९२ मत प्राप्त गरेका छन्।

ललितपुर महानगरपालिकामा समान मतगणना हुँदा चिरीबाबुलेभन्दा बाबुराजाले ४ हजार ९२५ कम मत प्राप्त गरेको देखिन्छ।

पोखरा महानगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीले धनराज आचार्य र उपप्रमुखमा कांग्रेसले कोपिला रानाभाटलाई उम्मेदवार बनाएको थियो। हालसम्मको मतगणनाअनुसार धनराजले ९ हजार १६५ र कोपिलाले ९ हजार ४६१ मत प्राप्त गरेका छन्।

पोखरा महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार कोपिलाले भन्दा प्रमुखका उम्मेदवार धनराजले २९६ मत प्राप्त गरेका छन्। अन्य महानगरपालिकाको तुलनामा पोखरामा प्रमुख र उपप्रमुखले प्राप्त गरेको मत भिन्नता भने निकै साँघुरो रहेको छ।

भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादीले रेनु दाहाल र उपप्रमुखमा कांग्रेसले चित्रसेन अधिकारीलाई उठाएको थियो। हालसम्मको मतगणनाअनुसार रेनुले ६ हजार २०२ र चित्रसेनले ७ हजार ५५८ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिकामा समान मतगणना हुँदा चित्रसेनकोभन्दा रेनुले १ हजार ३५६ कम मत प्राप्त गरेकी छन्।

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसले नागेश कोइराला र उपप्रमुखमा जसपाले अमरेन्द्र यादवलाई उठाएको थियो। हालसम्मको मतगणनाअनुसार नागेशले ९ हजार र अमरेन्द्रले ४ हजार ८४४ मत प्राप्त गरेका छन्।

विराटनगर महानगरपालिकामा समान मतगणना हुँदा नागेशकोभन्दा अमरेन्द्रले ४ हजार १५६ कम मत प्राप्त गरेका छन्। अमरेन्द्रले भन्दा नागेशले झण्डै दुई गुना बढी मत ल्याएका छन्।

वीरगन्ज महानगरपालिकाको प्रमुखमा जसपाले राजेशमान सिंह र उपप्रमुखमा कांग्रेसले इम्तियाज आलमलाई उठाएको थियो। हालसम्मको मतगणनाअनुसार राजेशमानले ८ हजार १३१ र इम्तियाजले ५ हजार ४२३ मत प्राप्त गरेका छन्।

वीरगन्ज महानगरपालिकामा समान मतगणना हुँदा राजेशमानकोभन्दा इम्तियाजले २ हजार ७०८ कम मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2022-05-17 14:24:00

प्रतिकृया दिनुहोस्