महाबु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

File Photo
File Photo

दैलेखको महाबु गाउँपालिकामा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएको छ। एमाले र एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका लक्ष्मण गुरुङ अध्यक्षमा विजयी भएका हुन्।

गुरुङ दुई हजार ९७९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार ५१९ मत प्राप्त गरे।

एकीकृत समाजवादीका जङ्गबहादुर शाहीले दुई हजार २६८ मत प्राप्त गरे। शाही यसअघि २०७४ मा पालिकाको अध्यक्षमा एमालेबाट निर्वाचित थिए।

निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएअनुसार उपाध्यक्षमा पनि कांग्रेसकी मञ्जु पाण्डे निर्वाचित भइन्। पाण्डेले तीन हजार १५५ मत प्राप्त गरिन्।

एमालेबाट उम्मेदवार दुर्गाकुमारी सिंहले दुई हजार ३०१ मत र एकीकृत समाजवादीका पुन्यप्रभा दशौदीले दुई हजार १३३ मत ल्याए। छ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा कांग्रेस, २ वडामा माओवादी र एक वडामा एमालेले अध्यक्ष जितेको छ।

प्रकाशित मिति: : 2022-05-16 18:14:00

प्रतिकृया दिनुहोस्