दाङको बंगलाचुली अध्यक्षमा माओवादी केन्द्रका पुन विजयी

दाङको बंगलाचुली गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) तुलसीराम पुन (सुवास) अध्यक्षमा विजयी भएका छन्। आज विहान सार्वजनिक मत परिणामअनुसार पुन ५ हजार ७४९ मत ल्याउँदै अध्यक्षमा विजयी भए। 

उनले निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भेषराज खत्रीलाई २ हजार ७१ मत अन्तरले हराए। एमालेका उम्मेदवार खत्रीले ३ हजार ६७८ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका भक्तबहादुर जीसी निर्वाचित भएका छन्। उनले ५ हजार ९४५ मत ल्याए। एमालेकी उपाध्यक्ष उम्मेदवार सरस्वती घर्तीले ३ हजार २६५ मत पाइन्।

बंगाचुलीमा कूल १० हजार ७०० मत खसेको थियो। यस पालिकामा कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो। 

८ वटा वडा रहेको बंगलाचुलीमा माओवादी र कांग्रेसले चार–चार वडामा उम्मेदवार उठाएका थिए। जसमा सबै वडामा गठबन्धनकै वडाध्यक्ष विजयी भएका छन्। जसअनुसार माओवादी केन्द्रबाट वडा–३ मा शोभराज बिस्वकर्मा, ५ मा लिलेश मगर, ७ मा गिरबहादुर थापा, ८ मा झबिन्द्र गाहा मगर विजयी भएका छन्। 

यस्तै नेपाली कांग्रेसबाट वडा–१ मा बिश्नु कवर, २मा  मैते पुन, ४ मा डास बहादुर डाँगी, ६ मा डोम बहादुर केसी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा बंगलाचुलीमा अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो।

प्रकाशित मिति: : 2022-05-16 09:47:00

प्रतिकृया दिनुहोस्