मुस्ताङको घरपझोङ गाउँपालिकाको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
अध्यक्षको उम्मेदवार कांग्रेसका मोहनसिंह लालचनले दुई मतान्तरले विजयी भएका हुन्। मुस्ताङको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा लालचनले ७६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का सञ्जयकुमार थकालीले ७५८ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा कांग्रेसका जमुना थकालीले ६९३ मत ल्याएर विजयी हुँदा उनकी प्रतिस्पर्धी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत प्राप्त गरेको कार्यालयले जनाएको छ ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा दुई हजार ८४ जना मतदाता रहेको घरपझोङ गाउँपालिकामा ७६ दशमलव ६८ प्रतिशत अर्थात् एक हजार ५९८ मत खसेको थियो। गत स्थानीय तह चुनावमा घरपझोङको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए।
यसैबीच घरपझोङ गाउँपालिका–३ को वडाध्यक्षमा एमालेका फणिन्द्र थकालीसहितका उम्मेदवार विजयी भएका छन् भने घरपझोङ–४ को वडाध्यक्षमा कांग्रेसका यमप्रसाद थकाली सहितको प्यानल विजय भएको छ।