रुपन्देहीमा उत्साहजनक मतदानमा सहभागिता [तस्विरहरु]

स्थानीय तह निर्वाचनमा मतदाताहरूले उत्साहपूर्वक सहभागिता जनाइरहेका छन्। नयाँ सविधान जारी भएपछि दोस्रो पटक हुँदै गरेको निर्वाचनमा रुपन्देहीको सबै पालिकामा मतदान सुरु भएको छ।

वर्षाले केही चुनाैती थपिए पनि अहिले मौसमको अवस्था सामान्य छ। निर्वाचन केन्द्रमा बिहानैदेखि मतदाता उत्साहपूर्वक सहभागी छन्। तराईको कर्णालीको उपनामले चिनिने मर्चवार क्षेत्रमा पनि बिहानैदेखि मतदाता लाइनमा छन्।

दुई सय आठ मतदानस्थलका सात सय मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितको जनशक्ति निर्वाचन सामग्रीसहित खटिएका छन्। सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदानस्थलमा तैनाथ छन्।

रुपन्देहीको संवेदनशील सूचीमा रहेका १२८ र ६२ वटा अतिसंवेदनशील मतदानस्थलमा सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थलमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए।

प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषका लागि अलग अलग लाइन लाग्ने गरी व्यवस्था मिलाइएको छ भने अपांगता, असक्त तथा जेष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ। ३८ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा रहेको रुपन्देहीमा तीन लाख आठ हजार पाँच सय ७४ महिला, तीन लाख २३ हजार सात सय ७८ पुरुष आठजना अन्य गरी कुल ६ लाख ३२ हजार तीन सय ६० जना मतदाता छन्।

निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार आठ सय प्रहरी भित्री सुरक्षामा रहने छन्। मतदानस्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन्। यसबाहेक प्रहरी अधिकृतसहितको नेपाल प्रहरीको गस्ती टोली, सशस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्तीमार्फत सुरक्षा दिइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

मतगणनाका लागि निर्वाचन आयोगले मतगणनास्थलमा तार जाली र सिसी टिभीकोे व्यवस्था गरेको छ।  मोहम्मद हबिब

प्रकाशित मिति: : 2022-05-13 11:29:00

प्रतिकृया दिनुहोस्