शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि लमजुङका २२ मतदानस्थल अति संवेदनशील सूचीमा छन्। उक्त मतदान स्थलको सुरक्षा व्यवस्थामा कडाई गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर कार्कीले बताए। लमजुङमा संवेदनशील स्थल ८० वटा छन्। १२३ मतदान स्थलमा १८२ वटा मतदान केन्द्र छन्।
सुरक्षामा चुनौती हुने भएकाले यसमा सुरक्षाकर्मी परिचालनमा ध्यान दिएको डिएसपी कार्कीले बताए। जिल्ला सुरक्षा समितिले लमजुङमा मतदान केन्द्रको वर्गीकरण गरी संवेदनशीलताको सूची तयार पारेको हो। भौगोलिक विकटता, मतदान केन्द्रको सुरक्षा चुनौती र यातायातको सहज पहुँचका आधारमा मतदान स्थललाई अति संवेदनशील केन्द्रका रुपमा वर्गीकरण गरिएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश शिवप्रसाद खनालले बताए।
२०७४ को स्थानीय तह निर्वाचनको अवस्था हेरेर मतदान केन्द्रको वर्गीकरण गरिएको हो। लमजुङमा एक लाख ३१ हजार ४९४ मतदाता छन्। जिल्लामा यसअघि एक लाख २२ हजार ८०६ जना मतदाता थिए। अतिसंवेदनशील केन्द्रहरुमा सुरक्षा व्यवस्थालाई बढी मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।