धादिङकाे त्रिपुरासुन्दरी र सिद्धलेक गाउँपालिकामा गठबन्धनका कार्यकर्ताले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन्। मंगलबार साँझ भएकाे आक्रमणबाट ४ जना गम्भीर घाइते भएकाे बताइएकाे छ।
त्रिपुरासुन्दरी गाउँपालिका–१ डाडाँगाउँमा एमालेको घरदैलो क्रममा आक्रमण भएको हाे। आक्रमणबाट त्रिपुरासुन्दरी गाउँपालिका–१ का २५ वर्षीय हरी श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते भएका छन्।
घटनाका घाइतेहरूको अवस्था गम्भीर भएकोले सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि काठमाण्डौं स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ।आक्रमणमा सामान्य घाइते १० जना भन्दा बढी रहेको नेकपा एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरी पन्तले जानकारी दिएका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका–१ का नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भिमप्रसाद भट्टले एमाले जुलुसमा खुँडा ल्याएरप्रहार गरेपछि आक्रमण भएको थियो। आक्रमणमा जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरी फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्का समेत सहभागि भएको प्रत्यक्षदर्शी पन्तले बताएका छन्।