जनता भन्छन् : राजु–भिमको टिमले केही गर्छ

कांग्रेसले जुम्ला खलंगा बजारका राजुसिंह कठायतलाई अन्तिम समयमा टिकट नदिएपछि विद्रोह गरे। उनीसँग आफूले गरेको विद्रोहलाई पुष्टि गर्ने कयौं आधार छन्। त्यसमध्ये प्रमुख आधार यस्तो छ।

‘सबै वडा तथा जिल्ला कार्य समितिबाट मेरो नाम एक नम्बरमा सिफारिस भएको थियो। तर, पाँचौ नम्बरको मान्छेलाई गुटको आधारमा टिकट दिइयो,’ स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायतले भने, ‘२०७४ सालको निर्वाचनमा पनि मलाई अन्तिम समयमा टिकट दिइएन। धोका दिइयो। सहेर बसेँ। सँधैभरि सहेर बस्नलाई म दास थिइन।’

नगरभरि व्यक्तिगत छाप भएका कठायतको उम्मेदवारीले कांग्रेसमा तरङ्ग उत्पन्न गरायो। तत्कालै बजार ओर्लियो र कांग्रेसको भन्दा ठूलो जुलुस लिएर मनोनयन दर्ता गराए। जसले कांग्रेसीजनहरुमा चिन्ता थपिदियो भने टिकट दिने नेताहरुलाई समेत झस्कायो।

यसले अघिल्लो पल्ट उपमेयर जितेको माओवादीको आशा एक सय ८० डिग्रीले बढाइदियो भने निकटतम प्रतिद्वन्द्वी बनेको एमालेलाई उत्साहित बनायो। सबैभन्दा सहज एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीलाई बनाइदियो।

मनोनय दर्ता गर्दा समाजवादीले मेयरमा जयलक्ष्मी चौलागाइलाई अगाडि सार्‍यो भने उपमेयरमा भिम थापालाई। समाजवादीले तत्कालै गरेको निर्णयले उसलाई राजुसिंहसँग नजिक हुन सहज बनायो।

मनोनयको चार दिन पछाडि समाजवादीकी जयलक्ष्मीले आफ्नो मुद्दा राजुसिंहसँग मिलेको भन्दै उम्मेदवारी फिर्ता लिइन। त्यसपछि ओैपचारिक रुपमै नारा घन्कियो,‘नगरबासी के भन्छ ? राजु भिम ले भन्छ।’

यसरी संयुक्त नारा घन्काउँदै सँगै हिँडेको टिम एउटै समूहमा मेयरमा धारो र उपमेयरमा कलमको भोट माग्दै जनताको घरदैलोमा पुग्यो। राजुको व्यक्तिगत भोट र समाजवादीको सांगठनिक भोटको बलमा चुनावी मैदानमा उत्रिएको टिम अन्य पार्टी र संगठनका निम्ति चुनौती बनेको छ।

उपमेयरका उम्मेदवार थापाले भने,‘हामीलाई बुद्धिजीवीले रुचाउनु भएको छ। उहाँहरुले जनता सचेत गराइदिएर ठूलो गुन लाउनुभएको छ। यसैले नै हामीलाई जितको नजिक पुगाएको छ।’

सिंगो समाजवादी पार्टीको संगठन र राजुसिंहका नातागोता मिलेर संयुक्त रुपमा संचालन गरेको घरदैलो अभियानले अपार माया पाएको छ। जनता राजुसिंहलाई कांग्रेसको केही सिमित नेताले अपमान गरेकाले नगरमा देखाजायगाको भावमा प्रतिक्रिया जनाइरहेको समाजवादी पर्टीको युवासंघ निकट नेता हरि थापाले बताए।

‘हाम्रो पार्टीको संगठन र राजुसिंह कठायतप्रतिको स्नेह र कटिबद्धताले हामी जितको नजिक पुगेका छौं,’ उनले भने,‘नगरबासीले दुबै उम्मेदवारको क्षमता, अनुभव, जनताप्रतिको लगाव आदीले नगरले सक्षम नेतृत्व पाउनेमा आशा पलाएको छ।’

उनीहरुले सार्वजनिक गरेको सामुहिक प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य सुलभ बनाउने, कृषिको आधुनिकीकरण गरी उत्पादन बढाउने, ढल व्यवस्थापन र फोहर रिसाइकिलिङ गर्ने, रोजगारीलाई पहिलो प्राथमिकतामा पार्ने, विकास र समृद्धिलाई जनताको जीवनस्तर उकास्ने मुल मन्त्र बनाउने लगायतका मुद्दा समेटिएको छ।

प्रतिबद्धता हेर्दा पूरा गर्न सकिने मात्रै छन्। त्यसैले उनीहरुले सामुहिक स्वरमा भने,‘नगरबासीले जिताउनेमा दिनप्रतिदिन विश्वास बढ्दो छ। मत परिणाम कुरी बसेका छौं। विकास र समृद्धिले तिर्खाएका जनताको प्यास छिट्टै मेटाउनेछौं।’

प्रकाशित मिति: : 2022-05-10 22:55:00

प्रतिकृया दिनुहोस्