लमजुङमा निर्वाचन तयारी पुरा, लमजुङमा निर्वाचन सामग्रीसहित कर्मचारी खटिए

स्थानीय तह निर्वाचनका लागि लमजुङमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रका कर्मचारी खटिएका छन्। जिल्लामा आठ सय ९५ जना कर्मचारी खटिएका हुन्। चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा १२३ मतदानस्थल र १८२ मतदान केन्द्र रहेको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ८२ जना मतदान अधिकृत र एक सय ८२ जना नै सहायक मतदान अधिकृत खटिएका छन्। यसमा तीन सय ४९ जना सहयोगी कर्मचारी र एक सय ८२ जना कार्यालय सहयोगी पनि मंगलबारसम्म खटिसकेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए। उनका अनुसार निर्वाचन तयारी पूरा भएसँगै मतदान केन्द्रमा मतदानका सामग्री सहित कर्मचारी गाउँगाउँ पुगेका हुन्।  

निर्वाचन सफल पार्न चारै तहका कर्मचारी मतदात केन्द्रमा पुगेकोे लमजुङका प्रमुख जिल्ला अधिकारी शुसील वैद्यले बताए। प्रत्येक मतदान केन्द्रमा तीन तीन जना गरी पाँच सय ४६ जना स्वयंसेवक खटाइएको छ। एउटा मतदानस्थलमा एकदेखि तीन वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय लमजुङले जनाएको छ। कार्यालयका अनुसार पाँच सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन्। पाँच सय सम्म मतदाता रहेको केन्द्रमा एक जना सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता रहेको केन्द्रमा दुई जना सहायक कर्मचारी खटिएका छन्।

प्रकाशित मिति: : 2022-05-10 17:57:00

प्रतिकृया दिनुहोस्