तिलामा एमालेको जनमत दिन प्रतिदिन बढ्दाे छ : अध्यक्ष पदका उम्मेदवार शाही

Breaknlinks
Breaknlinks

नेकपा एमालेबाट तिला गाउँपालिकाको अध्यक्ष पदमा साविकको कुडारी गाविसका रेशमबहादुर शाही चुनावी मैदानमा छन्।

उमेर र योग्यताका हिसाबले अन्य उम्मेदवारभन्दा सक्षम देखिने उनी विगत एक वर्ष अगाडिदेखि किर्डाक नेपालको उच्च तहको जागिरबाट राजीनामा दिएर राजनीतिमा आएका हुन्।

अन्य उम्मेदवारभन्दा अगाडि नै तिला विकासका लागि योजना सार्वजनिक गरेका उनलाई एमालेको विरासत थाम्ने व्यक्तिको रुपमा बुझ्न थालिएको छ।

नेकपा एमालेलाई संविधान निर्माणताका भएको भारतीय अवरोध छिचोल्दै देशमा तीन तहका सरकारी संरचना निर्माण गर्ने मुख्य पिलर सम्झिने उनी पार्टीको अडान र जनताप्रतिको बफादारिताको आधारमा पनि जनताले भोट दिनेमा आशावादी छन्।

जागिरबाट राजीनामा दिएदेखि नै जनतामाझ निरन्तरता क्रियाशील रहका उनका योजना पनि पूरा गर्न सकिने, आकर्षक र प्रभावकारी छन्।

‘जनताको घर-आगनमै सरकार बनाई विकेन्द्रीकरणको अभ्यास हुनु एमालेकै एजेन्डा हो,’ उनले भने, ‘आज देशमा एमालेको लहर छ। देशको बुज्रुक वर्गको रोजाइ एमाले बनिरहेको छ। यसको जानकारी तिलाका जनतालाई पनि छ। त्यसैले उहाँहरुको रोजाई एमाले र सूर्य चिन्ह नै छ।’

उनले राष्ट्रिय आकांक्षा र तिलाका जनताका आवश्यकता पुरा गर्ने काममा आफू इमानदारीताका साथ लाग्ने बताए। उनले भने, ‘हामीले अघिल्लो सरकारले प्रतिबद्धता जाहेर गरेर सुरु गरेका राम्रा र बाँकी रहेका विकासका आयोजनाहरुलाई निरन्तरता दिने प्रतिबद्धता गरेका छौं।’

उनले तिलाको विकासका लागि, विभिन्न क्षेत्रको विकासका लागि सार्वजनिक गरेका प्रतिबद्धताहरुमा शिक्षा, स्वास्थ्य, कृषि, उद्यम अग्रस्थानमा आउँछन्।

शिक्षा

‘गुणस्तरीय शिक्षाको आधार, प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा सुधार’ भन्ने नारा दिएर तिला गाँउपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुको पूर्वाधार, गुणस्तरीय शिक्षाका लागि स्वयंसेवक शिक्षक दरबन्दीको सिर्जना गर्ने र प्राविधिक शिक्षामा जोड दिइने शाहीको प्रमुख योजना छ।

‘शिक्षालाई गुणस्तरीय, सीपमुलक र जीवनउपयोगी गराउनुका साथै बालबालिकाहरुलाई झिकाउ, टिकाउ र विकाउको मोडलमा शिक्षालाई उच्च प्राथमिकतामा राखिनेछ,’ उनले भने, ‘शैक्षिक सुधारका लागि पालिकाले नै प्रत्येक महिना नमुनाको रुपमा विद्यालयहरुमा परीक्षा संचालन गर्ने व्यवस्था मिलाउनेछ।’

उनका योजनामा प्रत्येक महिनामा एक दिन सामुदायिक विद्यालयको केन्द्रविन्दुमा सीप, उद्यमशिलता, खेलकुद, संगित, कला तथा नेतृत्व विकासका लागि विद्यार्थी प्रशिक्षण कार्यक्रमको व्यावस्था गरिनेछ भने प्रत्येक वर्ष पालिकाले एक आधारभुत र एक माध्यामिक सुविधा सम्पन्न नमुना विद्यालय घोषणा गरि कार्यान्वयन गर्ने, पढ्दै कमाउदै कार्यक्रमलाई प्रथामिकता साथ आगाडि बढाउने लगायत छन्।

स्वास्थ्य

‘स्वस्थ नागरिकः निरोगी तिला’ भन्ने नाराले तिलाको स्वास्थ्य क्षेत्रको चित्र प्रस्तुत गर्ने उनको भनाई छ। ‘१० शैयाको हस्पिटल निर्माण तथा स्तरीय सेवामा जोड दिइनेछ। कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिठानसँग सम्झौता गरी नियमित विभिन्न रोगसम्बन्धी शिविर सञ्चालन गरिनेछ,’ उनले भने, ‘प्रत्येक वडामा योग्य चिकित्सकबाट नियमित स्वास्थ्य जाँचका लागि डायनोस्टिक ल्यावसहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिनेछ। तिला गाउँपालिकाको स्वामित्वमा रहने गरी पूर्णसेवा सुविधायुक्त एम्बुलेन्स सेवा सुचारु गरिनेछ।’

उनले जेष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण घरमै गर्ने व्यवस्था प्रभावकारी गरिने, पालिकाले अनिवार्य स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने, हाल भइरहेका स्वास्थ्य चौकीहरुलाई पूर्वाधारयुक्त बनाउने लगायत योजनाबाट तिलाको स्वास्थ्य स्थितिमा सुधार गरिने बताए।

यातायात

‘सहज आवागमनको आधारः दिगो यातायात पूर्वाधार’ भन्ने नाराले तिलाको सार्वजनिक यातायातको स्थिति देखाउने शाहीको मत छ।

सहज आवागमन, अर्थतन्त्रमा गतिशीलता र सेवा एवम् आपूर्ति व्यवस्था सुनिश्चित गर्ने, दिगो यातायातको विकास गर्ने, ग्रामिण सडक, नदैदेवी गुफा प्रवर्द्धन, कान्चेखोलादेखि त्रिवेणीसम्म पर्यटन प्रवर्द्धनका लागि र्‍याफ्टिङ्ग सञ्चालन गर्दा तिलाको आन्तरिक पर्यटनमा सुधार हुने र आम्दानी पनि बढ्ने उनले बताए।

’प्रत्येक वडा, पालिकादेखि पालिका केन्द्रसम्म जोड्न बाँकी रहेका सडक सञ्जाललाई विस्तार गरिनेछ,’ उनले भने, ‘जोडिएका सडकलाई स्तर उन्नति गरी बाह्रै महिना सहज आवतजावत गरिनेछ भने प्रत्येक वर्षमा २० किमि सडक ग्राभिल गरिनेछ।’

खानेपानी

शाहीले ‘सुरक्षित खानेपानी, सुधार्छौं तिलाबासीको आनिवानी’ भन्ने नारालाई सार्थक तुल्याउन बाँकी रहेका गाँउबस्तीमा खानेपानी विस्तार १ घर १ धारा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिने बताए।

कृषि

एमालेले तिलामा ‘उन्नत कृषिः किसानको समृद्धि’ भन्ने मान्यताका साथ सिँचाइको विस्तार कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीरणमा जोड दिने गरी योजना बनाएको छ।

‘जीवनको आधारका रुपमा रहेको खाद्य पदार्थ उत्पादन गर्ने कृषि क्षेत्रलाई उच्च महत्व दिँदै लगानी अभिवृद्ध गर्नेछौं,’ उम्मेदवार शाहीले भने, ‘पालिकालाई कृषि उत्पादनका सन्दर्भमा आत्मनिर्भर बनाइनेछ। उत्पादन कार्यमा लागेका हरेक नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा कार्यक्रममार्फत स्वास्थ्य सेवा दिइनेछ। जसले उत्पादनशील कार्यमा लाग्नेको उत्साह बढाउनेछ।’

व्यावसायिक खेती गर्न चाहनेलाई भूमि बैंकमार्फत आवश्यक कृषि कर्जाको व्यवस्था गरिने, एकीकृत फलफूल तथा स्याउ खेतीलाई जोड दिई आधुनिक कोल्ड स्टोरको व्यवस्थापन गरिने लगायतका मुद्दा जनताले औधी रुचाएको उनले बताए।

यिनका अलबा खुसी जेष्ठ नागरिक, खुसी बालबालिकाः अपाङ्गमैत्री तिला गाउँपालिका सुशासनमा अब्बलताः भ्रष्टचारमुक्त तिला मेरो प्रतिबद्धता, डिजिटल नागरिक वडापत्र, नैतिक शिक्षामा जोड, विकासमा आर्थिक अनियमितता रोक्न टोल–फ्रि नम्वरको व्यवस्था, ग्रामिण बस्तीमा टावर विस्तार तथा प्रविधिमैत्री विद्यालय बनाइने, सबै वडा र टोलस्तरमा सार्वजनिक बालमैत्री शौचालय स्थापना गरिने लगायतका योजनाले शाहीको पक्षमा दिन प्रतिदिन जनमत बढ्दाे छ।

प्रकाशित मिति: : 2022-05-08 13:00:00

प्रतिकृया दिनुहोस्