स्थानीय तह निर्वाचन : महिला नेतृत्वमाथि अविश्वास

दाङमा दश पालिका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दश पालिका प्रमुखमा विभिन्न राजनीतिक दलले आ-आफ्ना उम्मेदवारहरु उठाएका छन्।

राजनीतिक दलहरुले उम्मेदवार उठाएर चुनावी मैदानमा होमिरहँदा महिला नेतृत्वको बहस भने चुनावको रौनक बढेको जस्तै बढिरहेको छ। महिलालाई नेतृत्व दिन नसक्ने भनेर आलोचना पनि भइरहेको छ।

चुनाव नजिकिँदै गर्दा महिलालाई प्रमुख, उपप्रमुख नबनाउने गठबन्धनसँगै बाध्यता जस्तै गरेर उपप्रमुखमा महिलालाई उम्मेदवार बनाउने नेकपा एमालेको पनि आलोचना कम छैन। दाङको दश पालिकामध्ये घोराही र तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन दलहरुले प्रमुख र उपप्रमुख दुबैमा पुरुषलाई नै उम्मेदवार बनाएका छन्।

एमालेले दश पालिका सबैमा प्रमुख महिला बनाउन सकेन। समावेशी, समानुपातिकको कुरा उठाउने मुख्य दलहरुले नै महिलालाई विश्वास गर्न नसक्नु महिलालाई भोट बैंकको रुपमा प्रयोग गरिएको टिप्पणी भएको छ।

नेपाली कांग्रेसकी नेतृ तथा दाङकी पूर्व कोषाध्यक्षसमेत रहेकी सावित्रा रानाले महिला भोट बैंकको रुपमा मात्र प्रयोग हुने भनेर प्रश्नसमेत गरेकी छन्। उनले आफ्नो फेसबुक वालमा लेखेकी छन्, ‘संविधान सभाका महिलाहरु, राष्ट्रियसभाका महिलाहरु, प्रदेशसभाका महिला सदस्यहरु नै समावेशी संवैधानिक राज्य व्यवस्थाले दिएको महिला अधिकार हनन हुँदासम्म मौन बसे, आधा आकाश, आधा धर्ती ढाक्ने महिलाहरु के अब भोट बैंक मात्र हुन?’

संविधानतः एउटै दलबाट उम्मेदवार बनाउँदा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला अनिवार्य भनिएको छ। तर फरक दलको उम्मेदवार हुँदा यो बाध्यता छैन। बाध्यता नहुँदा गठबन्धन भएपछि महिला उम्मेदवार कम छन्।

प्रमुख र उपप्रमुखमा महिलाको उम्मेदवारी कम भएपनि वडाध्यक्ष र अन्य पदहरुमा महिलालाई नेतृत्व दिन कञ्जुस्याइँ नगरिएको घोराही उपमहानगरपालिकामा गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार बनेका भुपबहादुर डाँगी बताउँछन्।

उनले सो कुरा बताएपनि महिला अधिकारकर्मीहरुले भने यसमा चित्त बुझाउन सकेका छैनन्। महिला अधिकारकर्मी तथा तथा प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य लक्ष्मी आचार्यले महिला नेतृत्व कुनै पनि दलले स्वीकार्न नसकेको दाबी गर्छिन्।

उनले गठबन्धन हुँदा महिला मारमा परेको भन्दै फेसबुक वालमा लेखेकी छन्, ‘गाह्रो छ हजुर! गठबन्धन हुँदा महिला मारमा परेकै हो, महिलाहरूले दलभित्र दबाब बढाउन नसकेकै हो र महिला नेतृत्व स्वीकार गर्न सबैलाई मुश्किल परेको पनि उत्तिकै साँचो हो !’

आचार्यले एमाले पार्टीले पनि कानूनी बाध्यताभित्र महिलालाई उपप्रमुखमा सीमित गरेर गफै गरेको टिप्पणी गरेकी छिन्। ‘गठबन्धनमा दुवै प्रमुख पद पुरुषले हत्याए भनिरहँदा एमाले एक्लैले उम्मेदवार दिँदा पनि एकजना पनि प्रमुखमा महिला ल्याएको छैन,’ उनले भनेकी छन्, ‘कानूनी बाध्यताभित्र महिलालाई उपप्रमुखमा सीमित गर्नेका पनि गफ मात्रै ठूला!’

दुई प्रमुख पदमध्ये एकमा महिला ल्याउ भन्ने कानुनी मर्मविपरीत दुवैमा पुरूष उठ्ने र महिलालाई उपप्रमुखमा सीमित गर्ने यो मामलामा गठबन्धन र एमाले दुवै पार्टी उस्तै भएको उनको टिप्पणी छ।

दाङका दश पालिकामा ८ जना प्रमुख

दाङको दश पालिकामा ८ जना महिलाले मात्र प्रमुख पदका लागि उम्मेदवारी दिएका छन्। उपप्रमुखमा भने ७ गुणा बढी महिलाले उम्मेदवारी दिएका छन्।

दश प्रमुख र उप्रमुखको लागि विभिन्न पार्टी र स्वतन्त्रबाट ५७ जना महिलाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। ५७ जनामध्ये ८ जनाले प्रमुखको लागि र ४९ जनाले उपप्रमुखको लागि उम्मेदवारी दिएका छन्।

कुन पालिकामा के छ महिला उम्मेदवारकाे अवस्था

घोराही उपमहानगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सरिता देवकोटा, मंगोल नेश्नल अर्गनाइजेसन पार्टीबाट कल्पना चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट शान्ता चौधरी भिड्दैछन्।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेले हुमा डिसी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले शोभा शाह, विवेशील साझा पार्टीले लक्ष्मि जिएम, नेकपा मालेले राधिका क्षेत्रीलाई उम्मेदवार बनाएको छ। स्वतन्त्रबाट घोराहीको उपप्रमुख बसन्ता कुमारी भट्टराइले उम्मेदवारी दिएकी छिन्।

तुलसीपुर उपमहानगरपालिकामा प्रमुखका लागि राप्रपाबाट जगधनी चौधरी, मंगोल नेशनल अर्गनाइजेसबाट जया घर्ती र नागरिक उन्मुक्ति पार्टीबाट प्रभा चौधरी प्रतिस्पर्धा गर्दैछन्। उपमेयरमा नेकपा एमालेबाट स्यानी चोधरी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट मनकुमारी महत, जसपाबाट धनसरा विक र नेकपा मालेबाट फगनी चौधरी भिडदैछन्।

यसैगरी लमहीमा उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी परेको छ। नेकपा एमालोबाट सुशीला शर्मा, नेपाली कांग्रेसबाट लक्ष्मी योगी, नेकपा माओवादी केन्द्रबाट गंगा पाण्डेय, राप्रपाबाट सीता पौडेल, र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट सावित्रा कुमालेबीच प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा एकजना महिलाको उम्मेदवारी परेको छ। पालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जगदम्वा चौधरीलाई उम्मेदवार बनाएको छ। उनी यसअघि पालिकाको उपाध्यक्ष थिइन्।

त्यसैगरी उपाध्यक्षमा नेकपा एमालेले कमलापति चौधरी, जनता समाजवादी पार्टीले दिपशिखा न्यौपाने, मंगोल नेशनल अर्गनाइजेसनबाट हिरा थापा मगर भिड्दैछन्।

गढवा गाउँपालिकाको अध्यक्षमा कुनै पनि पार्टीले महिला उम्मेदवार बनाएको छैन। उपाध्यक्षमामा भने ७ जना महिलाले उम्मेदवारी दिएका छन्। एमलेबाट सीता चौधरी, कांग्रेसबाट शारदा कुमारी चौधरी, एकीकृत समाजवादीबाट शान्ति चौधरी, राप्रपाबाट तुलसी कुवर योगी, मंगोल नेशनल अर्गनाइजेसन भिष्माकुमारी बुढा मगर, जनमत पार्टीबाट नगिना चमार, जसपाबाट गीता चौधरीबीच प्रतिपस्पर्धा हुँदैछ।

दंगीशरण गाउँपालिकाको अध्यक्षमा महिलाबाट एक जनाको मात्र उम्मेदवारी परेको छ। स्वतन्त्रबाट आसा केसीले अध्यक्षमा उम्मेदवारी दिएकी छिन्।

त्यसैगरी उपाध्यक्षमा एमालेबाट बुधनी चौधरी, कांग्रेसबाट पिमाकुमारी खड्का, माओवादी केन्द्रबाट निर्मला वली, एकीकृत समाजवादीबाट चित्रादेवी लामिछाने, राप्रपाबाट मनप्यारी भट्टराई र मंगोल नेशनल अर्गनाइजेशनबाट फगन्या चौधरी भिड्दैछन्।

बबई गाउँपालिकाको अध्यक्षमा कुनैपनि महिलाको उम्मेदवारी परेको छैन। तर, उपाध्यक्षमा भने ५ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा उम्मेदवारी दिनेमा नेकपा एमालेबाट सावित्रा विश्वकर्मा, कांग्रेसबाट बमकुमारी खड्का, माओवादी केन्द्रबाट अन्जु घर्ती, राप्रपाबाट दीपकली कंडेल र स्वतन्त्रबाट शारदा कुमारी शाह रहका छन्।

एमालेकी उम्मेदवार सावित्रा विश्वकर्मा २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। फेरि पनि उनी नै उपाध्यक्षका लागि चुनावी मैदानमा छिन्।

त्यसैगरी राजपुर गाउँपालिकाको अध्यक्षमा पनि कुनैपनि महिलाको उम्मेदवारी परेको छैन। उपाध्यक्षम भने एमालेबाट सीता यादव, कांग्रेसबाट धनपति यादप, माओवादी केन्द्रबाट पुष्पा यादव, राप्रपाबाट गिता चौधरी, राष्ट्रिय जनमोर्चाबाट देउकला श्रेष्ठ र जनमत पार्टीबाट अन्जलाबटी यादवको उम्मेदवारी परेको छ।

शान्तिनगरमा ४ जना महिलाले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन्। एमालेबाट कमला भण्डारी, कांग्रेसबाट प्रेमकुमारी बुढाथोकी, माओवादी केन्द्रबाट राधिका परियार र समाजवादी पार्टीबाट लताकुमारी बस्नेत भिड्दैछन्।

त्यसैगरी बंगलाचुली गाउँपालिकाको अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट गीता कुमारी पुनले उम्मेदवारी दिएकी छिन्। उपाध्यक्षमा एमालेबाट सरस्वती कुमारी घर्ती र राष्ट्रिय जनमोर्चाबाट अनिता पाण्डेयले उम्मेदवारी दिएका छन्।

प्रकाशित मिति: : 2022-05-07 18:54:00

प्रतिकृया दिनुहोस्