अमरगढीमा कांग्रेसभित्र जति विवाद नेकपा एसलाई उत्ति सहज 

आसन्न स्थानीय तहको निर्वाचन जति नजिकिँदैछ डडेल्धुरामा कांग्रेसको विवाद त्यतिनै चर्किदैछ। सतहमा देखिन थालेको कांग्रेसभित्रको यो विवादले प्रतिद्धन्दी उम्मेदवारलाई फाइदा भइरहेको छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डडेल्धुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्लको आन्तरिक द्वन्द बढ्दै जाँदा डडेल्धुरा कांग्रेस ‘चरम संकट’मा फसेको छ।

कांग्रेस सभापति देउवाले जिल्ला सदरमुकामस्थित नगरपालिका अमरगढीको नगरप्रमुखका लागि डिल्लीराज जोशीलाई अगाडि सारेपछि उनलाई ‘काउन्टर’ दिन कर्ण मल्लले एमालेसँग तालमेल गरेर कांग्रेस बिपीबाट हरि भट्टलाई अगाडि सारेका छन्।

जोशी २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार विशेश्वरप्रसाद ओझासँग पराजित भएका थिए। सोही समयमा अधिवक्ता समेत रहेका भट्ट पनि नगरप्रमुखको दौडमा थिए। तर, उनले टिकट पाउन सकेनन्।

भट्ट सातौँ जिल्ला अधिवेशन तथा १४औँ महाधिवेशनमा जिल्ला सभापतिको दौडमा थिए। तर, उनलाई पाखा लगाएर देउवाले व्यवसायी भीमबहादुर साउदलाई सभापति बनाए। जसकारण हरि भट्टसहित मल्ल समूह निरन्तर कांग्रेसभित्र असन्तुष्टि पोख्दै आएका छन्।

देशभर एमालेविरुद्ध पाँच दलको गठबन्धन गरेका देउवाको गृहजिल्लामा भने राजनीतिक दलबीच तालमेल छैन्। जसकारण गृहजिल्लामा चुनाव जित्न उसलाई सकस परेको छ।

देउवापत्नि आरजु राणा, केन्द्रीय सदस्य नैनसिंह महर लगायतका नेता जोशीलाई जिताउन अनेक हत्कण्डा गरिरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको समूह लिएर देउवा २७ वैशाखमा यहाँको आमसभालाई सम्बोधन गर्न आउँदैछन्।

मल्ल र राणाको ‘वार’

२१ वैशाखमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवापत्नि तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले करुवा, सरुवा, हरुवा पार्टीलाई भोट नदिन र कांग्रेसलाई हराए बजेट नै नदिने चेतावनी दिइन्।

राष्ट्रियस्तरको नेता नभएको पार्टीले केही गर्न नसक्ने भन्दै उनले करुवा पार्टीको नेता को हो ? भन्दै प्रश्न गरिन्। कर्ण मल्ललाई लक्षित गर्दै उनले आफ्नो नाममा राजनीति गर्नेहरू अहिले सुकिलामुकिला भएको आरोप लगाइन्।

राणाको अभिव्यक्तिलाई ‘काउन्टर’ दिने भन्दै कांग्रेस बिपी र एमालेले समेत दुई दिनपछि २३ वैशाखमा एक कार्यक्रम आयोजना गर्यो। र, राणाका अभिव्यिक्तिको दुवै पार्टीका नेताले पालैपालो जवाफ फर्काए।

मल्लले आरजुको अभिव्यक्तिले डडेल्धुराको मतदाताको अपमान भएको बताए । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरामा हुने चुनावी आम सभामा बोल्न रहर व्यक्त समेत गरे। उनले आफूले सो चुनावी आम सभामा १० मिनेट मात्र बोल्ने र पार्टीमा गरेका हिसाब किताब राख्ने बताए।

उनी भन्छन्, ‘हिम्मत भए २७ वैशाखमा हुने देउवाको आम सभामा १० मिनेट बोल्न दिनु, कांग्रेस विद्रोही हरि भट्टतर्फबाट म आफ्ना कुरा राख्ने छु।’ उनले देउवा र आरजुलाई ३० वैशाखको निर्वाचनमा आफूहरू को हौँ भनेर देखाइ दिने जिकिर गरे।

अमरगढीमा समाजवादीको ‘इन्ट्री’ सहज बन्दै 

कांग्रेसपछि अमरगढीमा नेकपा एकीकृत समाजवादी पार्टीको बलियो अवस्था छ। 

नेकपा एसले अमरगढीमा नगरप्रमुखको उम्मेदवारमा संगीता भण्डारीलाई अगाडि सारेको छ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पार्वती झुकाललाई पराजित गर्दै भण्डारी उपप्रमुखमा विजयी भएकी थिइन्। 

गत निर्वाचनमा कांग्रेससँग एकल रुपमा प्रतिस्पर्धा भएको थियो। यसपटक भने कांग्रेस विभाजन भएर दुई पार्टी भएका छन् र अलग अलग उम्मेदवार चुनावी मैदानमा छन्।

कांग्रेसको घर झगडाका कारण यसपटक अमरगढीको प्रमुखमा भण्डारीले बाजी मार्ने सम्भावना छ। 

कांग्रेस बिपीले एमालेसँग तालमेल गरेर अमरगढीको प्रमुख पद पाएपछि एमालेका अधिकांश नेता कार्यकर्ता रुष्ट छन्। 

जसको प्रत्यक्ष फाइदा भण्डारीले लिन सक्छिन्। एक कार्यकाल नगर उपप्रमुख भएर अमरगढीको नेतृत्व गरेको अनुभवले भण्डारीलाई नगरप्रमुखमा ‘इन्ट्री’ सहज भएको छ। 

सात स्थानीय तह रहेको डडेल्धुरामा भण्डारी पालिका प्रमुखकी एक्ली महिला उम्मेदवार पनि हुन्।
 

प्रकाशित मिति: : 2022-05-07 14:27:00

प्रतिकृया दिनुहोस्