रामचन्द्रलाई जगन्नाथ समूहले भन्याे : प्रचण्डलाई सहयोग गरौंला तर रेणुलाई भोट दिन्नौं

चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलकाे समूहले आफूहरू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भरतपुरस्थित होटल सिराइचुलीमा करिब १० मिनेट लामो संवादका क्रममा कांग्रेस पूर्वसभापतिसमेत रहेका जगन्नाथका प्रस्तावक कृष्णलाल सापकोटाले अहिले रेणु दाहाललाई भाेट हाल्न नसकिने बरू भविष्यमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयाेग गर्न सकिने बताएका हुन्।

‘रामचन्द्रजी, तपाईंले बारम्बार फोन गरेकोले तपाईंकै सम्मानका लागि हामी यहासम्म आएका हौं। गठबन्धन गर्ने पार्टी निर्णयमा हाम्रो सहमति रहँदैन,’ उनले भने, ‘पछि प्रचण्डलाई सहयोग गरौंला तर मेयरमा दोहोर्‍याएर रेनुलाई भोट दिन्नौं। ०७४ मा पनि कांग्रेसले मेयर छाडेको हो, सधैँ माओवादीलाई मेयर छाड्न सकिन्न।’

उनले कांग्रेस बचाउन र भरतपुरमा संगठन बलियो पार्नकै लागि जगन्नाथले यसपालि मेयर पदमा उम्मेदवारी दिएकोले फिर्ता नहुने जिकीर गरेका थिए।

जगन्नाथले पनि रामचन्द्रलाई बरू सक्ने भए रेणुलाई मेयर उम्मेदवारबाट पछि हटाउन आग्रह गरेका थिए।

‘कांग्रेसलाई बचाउने यो अभियानमा म एक्लै छैन, साथीहरू र धेरैको समर्थन छ,’ उनले भने, ‘अब म धेरै अघि बढेँ, उम्मेदवारी निष्क्रिय गर्न सकिन्न।’

प्रकाशित मिति: : 2022-05-05 10:14:00

प्रतिकृया दिनुहोस्