चन्द्रागिरिका मेयर र उपमेयरका उम्मेदवार भन्छन्- युवाहरुका लागि स्थानीयस्तरमै रोजगारी सिर्जना गर्छाैँ

file photo
file photo

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीति दलका नेताहरु यतिबेला चुनाव प्रचारप्रसार व्यस्त छन्।

सबै दल तथा स्वतन्त्र उम्मेदवारहरुले आ-आफनो घोषणापत्र सार्वजनिक गरिसकेका छन्। निर्वाचन आयोगले दल दर्ता र चुनाव चिन्हसमेत प्रदान गरिसकेको छ।

देशभरका ७ सय ५३ वटा स्थानीय तहका लागि १ लाख ५० हजार ४ सय ९४ जनाले उम्मेदवारी दिएका छन्। विभिन्न दल उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न घरदैलो अभियानमा जुटेका छन्।

यही दाैरानमा छन्, चन्द्रागिरि नगरपालिकाका उम्मेदवारहरू। चन्द्रागिरिमा गठबन्धन र एमालेको प्रतिस्पर्धा रहनेछ। नगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेपाली कांग्रेसका घनश्याम गिरी र उपमेयरका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोसन दानी रहेका छन्।

गिरी निवर्तनमा नगर प्रमुख हुन् भने दानी ०७४ को स्थानीय निर्वाचनमा उपमेयरका पराजित भएका थिए। पाँच दलीय गठबन्धबाट उनीहरु घरदैलोदेखि सभा, सम्मेलन, भेटघाटलाई तीव्रता दिँदै आएका छन्।

के भन्छन् चन्द्रागिरिका मेयर उम्मेदवार गिरी र उपमेयर उम्मेदवार दानी

निर्वतमान नगर प्रमुख गिरी भन्छन्, ‘पहिलाे पटक म निर्वाचन भएर आएपछि नगरपालिकामा ठुला परिर्वतन भएका छन्। नेपालकै पहिलो सुरुङमार्ग निमार्णमा सहजीकरण गरेका छाैँ। कंलकी-नागढुङ्गा सडक निर्माणमा पहल र सहजीकरण गरेका छाैँ। चन्द्रागिरि केवलकार र पर्यटन प्रवर्द्धनमा सोचेभन्दा ठुलो सफलता प्रप्ता भएकाे छ।’

पाँच वर्षमै चन्द्रागिरिको आफ्नै सुविधासम्पन भवन निर्माण, थानकोटमा १ अर्ब बराबरको अस्पताल निर्माण कार्यलाई तीव्रता दिइएकाे स्वास्थ्य, शिक्षा, सडक, कृषि क्षेत्रमा ठुलो सफलतालगायत धेरै काम सम्पन गरिसकेको उनले बताए।

गिरीले फेरि भने, ‘अब नगरपालिकामा महिला, बालबालिका र युवाहरुका लागि ठुलो काम गर्नुछ। स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै युवाहरुलाई यहिँ बस्ने वातावरण तयार गर्नुछ र नगरपालिकालाई प्रविधिमैत्री नगरपालिका बनाउनु पर्छ। यहाँ नागरिकहरुकाे स्वास्थ्य, शिक्षा, उद्योगको विकास गर्न मेरो नेतृत्वको टिम विजयी हुनै पर्छ।’

यसैगरी गठबन्धन दलबाटै उप-प्रमुखको उम्मेदवार बनेका दानीले चन्द्रागिरिका युवाहरुलाई स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने बताएका छन्।

उनले महिलाहरुलाई तालिमका माध्यमबाट सबै कुरामा दक्ष बनाउने समेत बताए। नगरपालिकामा आधारभूत आवश्यकताहरुको पहिचान गरी नगरलाई समृद्धिको बाटोमा लैजाने दानीको जिकिर छ।

प्रकाशित मिति: : 2022-05-04 17:24:00

प्रतिकृया दिनुहोस्