देशभर एमालेको लहर छ, चन्दननाथका जनताले पनि हामीलाई नै रोजिरहेका छन् : धर्मेन्द्र रोकाया

Breaknlinks
Breaknlinks

चन्दननाथ नगरपालिकामा नेकपा एमालेले उठाएका उम्मेदवार धर्मेन्द्र रोकाया अन्य उम्मेदवारभन्दा उमेरले कान्छा छन्। जम्मा ३५ वर्षका उनी एमाले अखिलको राजनीति गर्दा उच्च पदमा पुग्ने जुम्लाका एकमात्र विद्यार्थी नेता हुन्।

जतिबेला नेपालमा विद्यार्थी राजनीति र आन्दोलनको ठुलो महत्व थियो, त्यतिबेला उनी अनेरास्ववियुको केन्द्रीय लेखा समितिको संयोजक भएका थिए।

संगठनको घनत्व र उमेरले पाका अन्य उम्मेदवारलाई ‘हेबिवेट’ का भनिरहँदा उनी आफ्नो विद्यार्थी राजनीतिक पृष्ठभूमि र कम्युनिष्ट आन्दोलनको बुझाइलाई कम आँक्न नहुने बताउँछन्।

उमेर सानो भएपनि ठुलो काम गरेर देखाउने सक्ने क्षमता भएको भन्दै उनले कम तर पूरा गर्न सकिने योजना सार्वजनिक गरेका छन्।

शिक्षा, स्वास्थ्य, उत्पादनलगायत विषयमा महत्वपूर्ण याेजना सार्वजनिक गरिसकेका उनी श्रमिक र कामदार वर्गको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखिने बताइरहेका छन्।

‘श्रमलाई सम्मान गर्ने हरेक नागरिकलाई स्वस्थ राख्न स्वास्थ्य विमा कार्यक्रमलाई सबैको पहुँचमा पुर्याइनेछ,’ उनले भने, ‘तर नगरबाट यस्तो खालको सुविधा पाउन जनताले उत्पादनलाई व्यवस्थित बनाएको हुनुपर्नेछ।’

उनका अनुसार नगरपालिकाको सेवा लिन स्याउ उत्पादनलाई आफ्नो मुख्य पेशा बनाएको किसानले आफ्नो बगैंचामा कम्तीमा सय बिरुवा लगाएको हुनुपर्नेछ भने ओखर उत्पादन गर्न चाहने किसानले कम्तीमा पचास बिरुवा लगाएको हुनुपर्नेछ। आफ्नो जग्गाको वरिपरि जैविक बारको रुपमा तेल निस्किने ढँटेलो लगाएको खण्डमा नागरिकले पचास प्रतिशत राजस्व छुट पाउनेछन्।

यसरी जुम्लालाई तेलहनमा आत्मनिर्भर गराउन सकिने उनको तर्क छ। उनले स्याउ र ओखर मात्रै नभई उत्पादनमूलक उद्यममा लागेको हरेक व्यक्तिको स्वास्थ्य उपचारको जिम्मा नगरले लिने बताए।

‘कम आम्दानी हुने तर काम गर्ने योजना प्रस्तुत गर्नेलाई सार्वजनिक जग्गा लिजमा उपलब्ध गराइ आयआर्जनमा लगाउन सकिनेछ,’ उनले भने, ‘युवाहरुलाई उद्यमशीलतासँग जोड्न सीपमूलक तालिमलाई प्रथामिकता दिइनेछ भने उनीहरुलाई लगानीको लागि बैंकसँग सहकारेय गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराइनेछ।’

उनले कृषि नै उत्पादनको मेरुदण्ड भएको हुनाले स्याउ, ओखरलगायत कृषिमा आधारित उत्पादनशील व्यवसाय गरिने क्षेत्रमा सिँचाइलाई पहिलो प्राथमिकता दिँदै कुलो निर्माण हुन नसक्ने क्षेत्रमा लिफ्ट एरिगेसनबाट सिँचाइ गरिने बताए। उनले भने, ‘उत्पादनलाई बढाउँदै नगरलाई सम्पन्न बनाउन सकिन्छ। नागरिक सम्पन्न हुनु नै नगर सम्पन्न हुनु हो।’

‘हामीलाई नगरबासीले जिताएको खण्डमा हरेक वडाको कृषिका लागि चाहिने यन्त्र उपकरणहरु (ट्याक्टर, पावर टिलर, हलो, थ्रेसर) वडाले नै खरिद गरेर प्रभावकारी गरी किसानलाई बढी भन्दा बढी लाभ दिनेछौं,’ उनले भने, ‘ती साधनहरुमार्फत किसानले सेवा पाउनका लागि सजिलाे कृषि एप विकास गरिनेछ र त्यो पनि चलाउन नजान्ने किसानका लागि कृषि प्राविधिक उपलब्ध हुनेछन्।’

१२ महिना कृषि जन्य उत्पादनको सहज उपलब्धता र उत्पादनको उचित मूल्यका लागि हरेक वडामा ठूलो स्केलमा भण्डारण गर्न सकिने शीत भण्डार निर्माण गरिने उनले बताए।

नगरको फोहोर व्यवस्थापन चुनौतीको विषय बनिरहेको बेला फोहोरबाट पनि कमाउने तरिकाको विषयमा सोचिने उनको राय छ।

नगरको उत्पादन र आम्दानी वृद्धिका लागि ठूला स्केलका उद्योग खोल्नु जरुरी रहेको भन्दै निजी क्षेत्रले उद्योग खोल्न चाहेको खण्डमा अनुमतिको प्रक्रियालाई सरल बनाइने बताए।

उनले भने, ‘उद्योगका लागि चाहिने जग्गा उपलब्ध गराउनेदेखि पाँच वर्ष सम्पूर्ण कर छुट र त्यसपछिका दस वर्षसम्म आधा कर छुट दिइ लगानीकर्तालाई उत्साहित गरिनेछ।’

उनका अनुसार सहरको सौन्दर्यको रुपमा रहेका र निम्न आम्दानी हुने जनतालाई स्पेस दिने ठेला व्यापारको क्षेत्रहरु निर्धारण गरी साना लगानीबाट व्यवसायलाई चुस्त बनाउँदा जिवनस्तर सहज बन्नेछ।

उनको योजनामा जुगाड खोलालाई बजारको सौन्दर्य मानिएको छ। तर त्यहाँ मिसाइने गरेको फोहोरले सिंगो बजार क्षेत्र नै कुरुप बन्दै गएकाले त्यसलाई सफा र सुन्दर बनाउने गरी नगरबाट कानुन बनाई लागू गरिने उल्लेख छ।

नगरको शैक्षिक गुणस्तरलाई समय सापेक्ष बनाइने भन्दै स्थानीय स्रोत, साधन, श्रम र सीपमा आधारित पाठ्यक्रम निर्माण गरी मातृभूमिको सेवा गर्ने जनशक्ति निर्माण गर्नमा जोड दिइने बताए। ‘पठन संस्कृतिको विकास गर्न हरेक वडामा एउटा पुस्तकालय बनाउनुपर्नेमा म प्रतिबद्ध छु।’

उनका अनुसार नगरको छुट्टै भवन निर्माण संहिता हुनेछ भने हरेक गाउँहरुलाई नमुना गाउँमा परिणत गरिनेछ। भवन निर्माण संहिताअनुसारको नक्सा पास अनिवार्य बनाइनेछ।

उनले जुम्लाको बस्ती विकासका लागि ’पाखे’ चक्रपथको अवधारणा अघि सारेका छन्। पाखे चक्रपथका कारण जिउलाहरु बच्नेछन् भने पाखामा बस्ती विकास गरिनेछ। ती बस्तीहरुमा बिजुली, पानी, यातायातलगायत आधारभूत सुविधालाई चुस्त बनाउँदा सबैको आकर्षण पाखामा हुँदा खेतीयोग्य जमिन बचाइराख्न सकिनेछ।

यीबाहेक उनले सार्वजनिक गरेका योजनामध्ये अर्काे महत्वपूर्ण काम चुनावी प्रतिस्पर्धामा रहेका पार्टी र उम्मेदवारहरुले सार्वजनिक गरेको राम्रा योजनाको अनुसरण हो। जसबाट भविष्यमा उनीहरुको सीप र क्षमताको उपायोग गर्न नगरपालिकाले सल्लाहकारको रुपमा नियुक्त गरी सम्मान गर्ने बताए।

उनले आत्मविश्वास बढको बताउँदै भने, ‘नगरमा एमाले सांगठनिक रुपमा कमजोर उपस्थिति जस्तो देखिए पनि हामीले सार्वजनिक गरेका योजना, मेरो उमेर र राजनीतिक पृष्ठभूमिको आधारमा जनताले एमाले र सुर्य चिन्न चुन्नेमा आत्मविश्वास बढेको छ।’

प्रकाशित मिति: : 2022-05-04 12:40:00

प्रतिकृया दिनुहोस्