स्थानीय तह निर्वाचनको निम्ति उम्मेदवार बनेका दुई जनालाई दोहोरो नागरिकता लिएको कसुर लागेको छ।
तर एक जना उम्मेदवारलाई पक्राउ आदेश हुँदा अर्का उम्मेदवार फुक्कफाल तरिकाले चुनावी प्रचारमा व्यस्त देखिन्छन्।
दोहोरो नागरिकता लिएका एक जना ओखलढुंगाको लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार हुन् भने अर्का रोल्पाको गंगादेव गाउँपालिका अध्यक्ष हुन्।
यसबीचमा लिखु गाउँपालिकाका अध्यक्षका उम्मेदवार मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको हो।
विष्ट वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन्।
यसैगरी दुईवटा नागरिकता लिएका वीरबहादुर खत्री (भिउदे) लाई माओवादी केन्द्र रोल्पाले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ।
उनले २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५ गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएका हुन्।
खत्रीले फरक फरक नामबाट दुईवटा नागरिकता लिएको भन्दै २०७४ सालमा स्थानीय हरिबहादुर पुनले जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी हालेका थिए।
उनै खत्रीलाई पार्टीभित्र चर्को विरोधका बीच माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनले पार्टीको प्रदेश उपाध्यक्षसँगै पुनः गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको माओवादी कार्यकर्ताहरू नै बताउँछन्।
खत्री यसअघि पनि सोही गाउँपालिकाको अध्यक्ष थिए। अहिले उनी चुनाव प्रचारमा व्यस्त देखिन्छन्।
उम्मेदवार खत्रीविरूद्ध दाबी विरोध गर्न जाँदा पनि निर्वाचन अधिकृतले उजुरी नलिएको बताइन्छ।
दाबी विरोधको निम्ति कांग्रेस उम्मेदवार हरि पुन र एमाले उम्मेदवार रोशन वली पुगेका थिए। निर्वाचन अधिकृतले दुई वटै नागरिकताको फोटोकपी संलग्न गर्नुपर्ने जवाफ दिएको बताइन्छ।
आफ्नो दोहोरो नागरिकता प्रकरण सुल्झाउन वीरबहादुर खत्री दुई हप्ता अघिसम्म झण्डै एक महिना काठमाडौंमा बसेर उच्चस्तरीय भेटघाट गरेका थिए।
उनले उपराष्ट्रपतिदेखि वर्षमान पुनसम्मको सहयोग मागरे मात्रै रोल्पा पुगेर मनोनयन गरेका हुन्।
सबै प्रमाण हुँदाहुँदै पनि जिल्ला प्रशासन कार्यालय, रोल्पाले कुनै कारबाही गर्न सकिरहेको छैन। जो सिडियो जान्छन्, यो प्रकरणबाट उम्किन खोज्ने गरेको प्रवृत्ति देखिएको छ।
यता उनको विरोध गर्न सबैजसो जनप्रतिनिधि डराउने गर्छन्। उनीविरूद्ध बोल्न जो कोही हिच्किचाउँछन्। उनी आफू विरोधीप्रति अराजक शैलीमा उत्रिने गरेको स्थानीय बताउँछन् ।
पहिलो कार्यकालमा खत्रीले गाउँपालिकाका धेरै जना जनप्रतिनिधिलाई हात हालेका थिए।
आफ्नो अनुकूलका कर्मचारी नछानिँदा कार्यालय नै तोडफोड गरेका थिए। गाउँपालिकाका उपाध्यक्षदेखि वडाध्यक्षसम्म धेरै जनालाई खत्रीले मुक्का हानिसकेका छन्।
उनले हात हाल्न नसकेका ३ नम्बर वडाध्यक्ष जलेश केसी र ६ का तुलबहादुर जिएम मात्रै हुन्। अरू कोही बाँकी नरेहेको स्थानीय बताउँछन्।