ओलीको ‘फ्लो’मा ‘कन्ट्राफ्लो’, ‘मेक्लोमेन’मय मुलुक  

समाचारको संसारमा फ्लो र कन्ट्राफ्लो हुन्छ। धेरैजसो ठूला मान्छे, ठूला घटना र अनौठा कृयाकलापले नै समाचार बनाउँछन्, त्यो समाचारको फ्लो हो। कहिलेकाँही त्यस्तो फ्लोलाई रोक्न सामान्यत: समाचार नबन्ने दिशामा पनि प्रतिरोधी समाचार बन्छन्, त्यसलाई कन्ट्राफ्लो भनिन्छ। समाचारको फ्लोलाई रोक्ने यो एउटा उपाय पनि हो।

दिशाको कुरा गर्दा फ्लो उत्तरबाट दक्षिण र कन्ट्राफ्लो दक्षिणबाट उत्तरतिर हुन्छ भनिन्छ। आमसञ्चारमा उत्तरले पहुँच भएकाको र दक्षिणले पहुँच नभएकाको प्रतिनिधित्व गर्छन्। नेपालको सन्दर्भमा पनि यो लागू हुन्छ।

यसो सुन्दा फ्लो र कन्ट्राफ्लोमा गतिको तेस्रो नियम नै लागु हुन्छ कि जस्तो देखिन्छ। तर, यथार्थमा त्यस्तो हुदैन। यसको अर्थ उत्तरले जति दक्षिणले समाचार उत्पादन गर्न सक्दैन। किनकि, दक्षिणको पहुँचमा समाचार बनाउने स्रोत र त्यसलाई प्रवाह गराउने माध्यम उत्तर जतिकै हुदैनन्। समाचार ग्रहण गर्ने उपभोक्ताको चेतनास्तर पनि सहयोगी हुँदैन।

नेपालको कुरा गर्ने हो भने शक्तिमा बस्नेहरू समाचारको उत्तरमा हुन्छन् र उनीहरूले नै दक्षिणतिर मनलागी समाचार फ्लो गर्ने हैसियत राख्छन्। दक्षिणमा रहने आम मानिसले समाचारको कन्ट्राफ्लो गर्न सक्दैनन्। किनकि, उनीहरूसँग समाचार भए पनि समाचारको भेहिकल अर्थात् मिडिया हुदैन। नेपाली पत्रकारहरूले जति नै आफूलाई आवाजविहीनका आवाज भने पनि यथार्थमा उनीहरू आवाज हुनेकै आवाज भैरहेका छन्, उनीहरूकै मिडिया भैरहेका छन्। फ्लो गर्नेहरूको भनाइलाई नै समाचारको शीर्षक बनाएर सम्प्रेषित गर्नेहरूले कदापि आवाजविहीनको आवाज हुन सक्दैनन्। त्यसका लागि कन्ट्राफ्लो गर्नुपर्ने हुन्छ, त्यो उनीहरूको रोजाइ र कतिपय अर्थमा त सामर्थ्यको पनि कुरा हुँदैन।

यसमा अर्को पनि महत्वपूर्ण पक्ष छ त्यो के भने नेपाल अझै पनि मिडिया सेन्ट्रिक जोनबाट बाहिर निस्कन सकेको छैन। समाज अझै पनि मिडियाले जे दिन्छ, त्यही उपयोग गर्न बाध्य छ। यदाकदा आफू बच्नलाई मिडियाले समाजमा यस्तै चलेको छ, त्यही भएर हामीले यही दिएका हौं भनेर सोसाइटी सेन्ट्रिक मिडियाको कुरा गरे पनि त्यो यथार्थ हैन। नेपालमा मिडिया र मिडियामार्फत् उनीहरुको सम्पादकीय लाइनमा रहेका स्तम्भकार र टापटिपे अखबारी लेखकले मिडियाकै भाषा सम्प्रेषण गरिरहेका हुन्छन्। हुँदाहुँदा एंगलिङ गर्ने नाममा समाचारलाई पनि विचारको एड्भोटरियल बनाउन थालिएको छ। यही क्रममा नेपाली मिडिया पछिल्लोपटक ठूलो मात्रामा मिडिया ट्रायल, मिडिया बलुन र एजेण्डा सेटिङको शिकार भैरहेको छ। अहिले त चुनाव लागेको छ, हाकाहाकी नै पक्षपोषण भएको छ।

नेपालमा जो शक्तिको केन्द्रमा हन्छ, ऊ नै समाचारको केन्द्रमा हुन्छ, मिडियासेन्ट्रिक मिडिया अवस्थितिको मूल विशेषता नै यही हो। धेरै अघि जानै पर्दैन, जतिबेला मुलुकमा एमाओवादी अस्वभाविक संख्यामा जितेर संविधानसभामा आएको थियो, त्यसपछिका चार वर्ष मुलुकमा कम्तीमा पनि ६० प्रतिशत समाचार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नै उत्पादन गर्थे। उनले क्रिया गर्दा एक किसिमका समाचार बन्थे, अरूले त्यसमा प्रतिक्रिया गर्थे र अर्का खालका समाचार बन्थे। क्रियामा होस् या प्रतिक्रियामा उनी दोहोरिएर समाचार बन्थे। अब उनका लागि त्यो दिन रहेन। यद्धपि, लगभग सधैभरी सत्ताको साँचो बोक्ने प्रचण्ड समाचारको पिरामिडमा केही तलमाथि हुन्छन् तर ब्लाकआउट नै चाँहि हुँदैनन्।

अहिले नेपालमा समाचार बनाउने पात्र के पी शर्मा ओली हुन्। उनी सरकारमा छैनन् तर सरकारमा हुँदा पनि उनले नै समाचार बनाए, अहिले बाहिर हुँदा पनि उनी नै समाचार बनाइरहेका छन्। उनको वाकपटुता र उखानटुक्का प्रयोग गरेर बोल्ने विशिष्टकलाले उनी समाचारको सुर्खीमा छाउने हुन्। विरोधीहरूमाथि कडाप्रहार गर्ने उनको चरित्रका कारण पनि मुलुकमा ओलीको बोली भन्ने चलन नै चलेको हो।

पछिल्लो अवस्थामा मुलुकका झण्डै ५० प्रतिशत समाचार त के पी ओली एक्लै उत्पादन गरिरहेका छन्। उनले फ्लो गर्ने समाचारमा कन्ट्राफ्लो हुँदा उनी दोहोरिएर समाचार बनेका छन्। यसको पनि हिसाब गर्ने हो भने उनले उत्पादन गर्ने समाचारको मात्रा अझ धेरै हुन्छ।

देशमा चुनाव लागेयता त ओली चर्चाको शिखरमै छन्। उनले कहाँ के बोल्छन्, सुरमा बोल्छन् कि बेसुरमा बोल्छन्, जो कोहीलाई भेउ पाउँनै गाह्रो हुन्छ। मनलागी बोल्ने उनको एक किसिमको बानी भन्दा पनि रोग नै भने हुन्छ। बोल्दै जाँदा के के बोल्छन्, आफैंलाई थाहा हुदैन। ओलीको यो जे पायो त्यही बोल्ने फ्लोलाई माधव नेपाल र प्रचण्डले कन्ट्राफ्लो दिइरहेका छन्। पछिल्लो समयमा गगन थापा र विश्वप्रकाश शर्माले पनि कन्ट्राफ्लोलाई मनग्गै सघाइरहेका छन्।

आखिर ओली किन बोलीमा लगाम नलगाई बोलिरहेका छन् त ? यसको उत्तर खोज्न डा. गोविन्द केसीले एकपटक भनेको कुरा सम्झनुपर्ने हुन्छ। उनले भनेका थिए ओली मेक्लोमेनको शिकार भएका छन्। चिकित्सकीय भाषामा मेक्लोमेनको बारेमा यस्तो लेखिएको पाइन्छ, ‘कुनै पनि अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई बाहिरी वस्तु ठान्दै त्यसविरुद्ध संघर्ष गर्न खोज्छ। यस क्रममा शरीरको प्रतिरोधात्मक शक्ति कम गरी प्रत्यारोपित नयाँ अंग शरीरमा अभ्यस्त गराउने औषधि प्रयोग गरिन्छ। मृगौला प्रत्यारोपण गरिएपछि ओलीले इमिनोसस्प्रेस्यान्ट नामक त्यस्तो औषधि सेवन गर्दैआएका छन्। यो औषधि एक किसिमको ड्रग्स नै हो जसले आफ्नो सामर्थ्य भन्दा बढी गर्न सक्छु भन्ने  भ्रम पैदा गरिदिन्छ। चिकित्सकीय भाषामा त्यसलाई मेक्लोमेन (Meclomen) भनिन्छ।

ओलीले नेपालीको ‘नौ दिनमा नौलो बीस दिनमा बिर्स्यो’ भन्ने समस्याबाट भरपूर फाइदा लुट्दै हुनै नसक्ने कुरा ‘फ्लो’ गराए र अरूलाई पनि त्यही गतिमा ‘कन्ट्राफ्लो’मा उतारे। प्रकारान्तरमा देश ओलीमेनिया र ओलीफोबियामा गरेर ठाडो चिरामा दुई फग्ल्याटा मात्र भएन, मेक्लोमेनको शिकार पनि हुन पुग्यो।

ओलीको अहिलेको व्यवहार हेर्दा उनी मेक्लोमेनकै शिकार भएजस्तो देखिन्छ। उनी एकजना सामान्य मानिसले गर्नै स्वभाविक कामभन्दा पनि अस्वभाविक मानिसले गर्ने खालका गतिविधि गरिरहेका छन्। अहिले ओलीसँगै मुलुक पनि मेक्लोमेनको शिकार भैरहेको छ। किनकि, गतिको सामान्य नियमअनुसार पनि ओलीको हरेक क्रियामा अरूले पनि त्यही तहको प्रतिक्रिया गर्नुपर्ने हुन्छ, त्यसो हुँदा मुलुक दोहोरो मेक्लोमेनको शिकार हुन पुगेको हो। समाचारको भाषामा भन्दा फ्लो र कन्ट्राफ्लोको स्थितिले यस्तो अवस्था सिर्जना भएको हो।

अर्को कोणबाट हेर्दा चुनावको बेला जस्ले जे बोले पनि भएको छ। मानौ उम्मेद्वार भनेका सुपरम्यान हुन्, उनीहरूले जे चाह्यो त्यही पुर्याउन सक्छन्। नेताहरू आफ्ना उम्मेद्वारलाई सुपरम्यान बनाइरहेका छन्। अझ प्रष्ट भाषामा भन्ने हो भने उनीहरूको मात्र हैन, देशकै क्षमताले नभ्याउने कुरा पुग्छ भनेर अति विश्वासको शिकार भएका छन्, जनतालाई पनि त्यही किसिमको भ्रममा पार्न खोजेका छन्। यसरी हेर्दा कुनै न कुनै अर्थमा सबै मेक्लोमेन भएका छन्।

केही दिन अघि एकजना अमेरिकी प्राध्यापकसँग मेक्लोमेनको बारेमा कुरा गरिरहेका थिए। उनको भनाइको सार थियो, मेक्लोमेन व्यक्तिगत रूपमा मानिसको मेन्टल स्टाटससँग सम्बन्धित छ, त्यसैले यो रोग सर्दैन। ती प्राध्यापकको कुरा सुनेर यो स्तम्भकार पूरै सहमत हुन सकेन। र, उसले आफ्नो देशको पछिल्लो चुनावी तस्बिरलाई प्रस्तुत गर्दै भन्यो, नेपालमा पहिला के पी ओली भन्ने नेतालई यो रोग लागेको थियो। नेपालीको छिटै विस्मृतिमा जाने समस्या र उनको वाकपटुताले यस्तो स्थिति पैदा गरिदियो कि जनताले पनि त्यो पत्याउन थाले। त्यसपछि अरू पनि त्यस्तै असम्भव कुरा गर्न थाले। र, प्रकारान्तरमा पछिल्लो समय नेपाल मेक्लोमेनको शिकार हुन पुग्यो।

चिकित्सकसमेत रहेका ती प्राध्यापक एकछिन त यो स्तम्भकारको कुरा सुनेर अचम्भित भए। यो पंक्तिकारको समाजशास्त्रीय प्रस्तुतिलाई उनले नकार्न सकेनन् तर चिकित्साशास्त्रीय कोणबाट उनी आफ्नो निस्कर्षलाई बदल्ने अवस्थामा पनि थिएनन्। फिस्स हाँस्दै अन्तिममा भने, ‘नोटेड’। अर्थात् मैले यसलाई टिपोट गरेँ, जानकारीमा लिएँ।

महान दार्शनिक आरिस्टोटलले भनेका छन्, सत्य बीचमा हुन्छ। उनले गोल्डेन मिन अफ इथिक्स प्रतिपादन गर्दै यसो भनेका थिए। उनको विचारमा छेउ भनेको एक किसिमको अतिवाद हो। त्यसले समग्रता बोक्न सक्दैन। हजारौ वर्षअघि उनले भनेको त्यही सत्य नै आजसम्मको वाास्तविक सत्य पनि हो। तर, ओली यसमा विश्वास गर्दैनन्। उनी र उनको दल जेलाई पनि भित्तामै पुर्याउन दत्तचित्त छ। यसैमा फ्लो र कन्ट्राफ्लो भैरहदा मुलुक नै मेक्लोमेनमय हुन पुगेको हो।

जे होस् यतिबेला मुलुक ओलीमय अर्थात् मेक्लोमेनमय भएको छ। उनले नेपालीको नौ दिनमा नौलो बीस दिनमा बिर्स्यो भन्ने समस्याबाट भरपूर फाइदा लुट्दै हुनै नसक्ने कुरा फ्लो गराएर अरूलाई पनि त्यही गतिमा कन्ट्राफ्लोमा उतारेका छन्। प्रकारान्तरमा, देश ओलीमेनिया र ओलीफोबियामा गरेर ठाडो चिरामा दुई फग्ल्याटा भएको छ। जे वास्तविक चुनावी मुद्दा हुनुपर्थ्यो ती भएनन्, जे नहुनुपर्थ्यी ती भएका छन्। हुन त खासगरी फ्लो गर्नेहरूलाई गजब गरेँ भन्ने लागेको होला तर त्यसले सिर्जना गरेको कन्ट्राफ्लोले समेत सघाएर अन्तत: देश जुन स्थितिमा धकेलिएको छ, त्यसको मूल्य नेपालले तिर्नुपर्ने हुन्छ। त्यसको भाग हामी सबैलाई लाग्ने नै छ।

प्रकाशित मिति: : 2022-05-04 06:39:00

प्रतिकृया दिनुहोस्