स्थानीय सरकारको नेतृत्वमा पार्टीसँग सम्बन्धित पात्र भन्दा पनि योग्यता, क्षमता राख्ने स्वतन्त्र व्यक्ति जिताउने हो भने कम्तीमा ती परजीवीहरू पाल्नुपर्ने समस्या हुँदैन।
न्याय गरेर, दिएर हुँदैन त्यो देखिनुपर्छ। लामो समय कारागार बसेका कतिपय कैदी निर्दोष सावित भएको हामीसँग थुप्रै उदाहरण छन्। अदालतले अन्ततः न्याय त दियो, तर त्यस्ता कैदीबन्दीको ऊर्जाशील जीवन कालकोठरीमा बर्बाद भइसकेको हुन्छ। अझ कतिपयले जीवितै न्याय पाउन नसकेको उदाहरण पनि भेटिन्छन्।
विकास पनि त्यस्तै हो। विकास गरेको छु भनेर मात्र हुँदैन। जनता लाभान्वित नहुने विकासको कुनै अर्थ हुँदैन। जनतासँग नजोडिने विकास पृथ्वीको कुरूप विनाश मात्र हो। भारत विश्वको प्रमुख औषधि उत्पादक तथा निर्यातकर्ता देश हो तर, औषधि अभावमा सबैभन्दा धेरै त्यहींका नागरिक मृत्युवरण गर्छन्। त्यस्तो उत्पादन प्रणालीको के अर्थ जुन आफ्नै देशको नागरिकसँग जोडिंदैन।
केही समय अगाडि सामाजिक सञ्जालतिर प्रवेशद्वार र भ्यूटावर आतंकको तस्वीर चल्दै थियो। आम सामाजिक सञ्जाल प्रयोगकर्ता देशको कर अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने आवाज दिंदै थिए। कतिपय नेता त्यसमाथि आफ्नो नैतिक समर्थन जनाउँदै थिए। एउटा राजनीतिक दल भने यी संरचनालाई देशको गौरवसँग तुलना गर्दै थियो। एमाले अध्यक्ष ओलीले त भ्यूटावरलाई सभ्यता, विकास र आर्थिक क्रियाकलापको केन्द्रसँग दाँजेको सुनियो। चर्को आलोचना हुँदै गर्दा अझै पनि त्यस्ता संरचनाकै पक्षमा बोल्दै गरेको सुनियो।
उदेक त तब लाग्यो जब ओलीले भ्यूटावरले दूध दिनलाई गुजराती गाई नभएको तर्क गरे। यदि होइन भने किन पाल्ने भन्ने प्रश्न त स्वाभाविक हुन्छ नै। आजको कङ्क्रिट संरचना कहिले पो बन्ला र सभ्यताको सूचक ? हाम्रो कति पुस्ता पछिको पिंढीले यस्ता संरचनाको गौरव व्याख्या गर्ला ? हामी नेपाली मन्दिर र धाम धाउन रमाउँछौं। धेरै भएको छैन केही युवावर्ग प्राकृतिक झरनाहरूप्रति प्रभावित हुनथालेको। पैदलमार्ग, तालतलैयातिर आकर्षित भएको। यो संख्या नगण्य छ। यो संख्या सहरकेन्द्रित युवावर्गको छ। हाम्रा आन्तरिक पर्यटनको मुख्य केन्द्र अझै पनि मन्दिर, धामहरू नै हुन्।